शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रक्तदानमै समर्पित कृष्ण चौहान : आत्मसन्तुष्टिसँगै सम्मान

प्रतिबन्धित हुँदा विप्लव समूहले पनि यसरी गरेको थियो रक्तदान
शुक्रबार, ०९ पुस २०७८, ०८ : २७
शुक्रबार, ०९ पुस २०७८

 हाम्रो समाजमा विभिन्न एनजिओ आइएनजिओ मार्फत् तलब भत्ता र सेवा सुविधा लिएर आफूलाई सामाजिक अभियन्ताको परिचय दिनेहरुको कमी छैन । तर केही व्यक्तिचाहिँ विशुद्ध आत्मसन्तुष्टिका लागि नै समाजसेवामा लागिरहेका हुन्छन् । बुटवलका कृष्ण चौहान क्षेत्री यस्तैमध्येका एक हुन् ।

१८ वर्षदेखि रक्तदान अभियानमा लागेका चौहानले सरदर ९० दिनमा एक पटक रक्तदान गर्दै आएका छन् । उनले रक्तदानलाई अभियानकै रुपमा अघि बढाउन संचालन गरेको स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमार्फत् हजारौँ व्यक्ति लाभान्वित भएका छन् । 

२०६१ सालमा बुटवलको ट्राफिक चोकनिर हिँड्दै गर्दा एक व्यक्तिले छोरीका लागि रगत खोज्दै भौँतारिएको देखेपछि उनी रक्तदानका लागि तम्सिएका थिए । त्यतिबेला उनी २३ वर्षका थिए । उनी पहिलोपटक रगत दिनका लागि रक्तसञ्चार केन्द्रमा पुगे । तर दुर्भाग्य, उनको ब्लड प्रेसर ‘लो’ देखियो । उनले रगत दिन पाएनन् । निराश भएर घर फर्किएका उनी त्यसदिन राम्रोसँग निदाउन सकेनन् ।

त्यसपछि कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने अभियान आफूले सुरुवात गरेको उनले सुनाए । उनी आफैले हरेक ९० दिनभित्रै रगत दिन थाले । जसको फलस्वरुप उनले पछिल्लो १८ वर्षमा ७१ पटक रक्तदान गरेका छन् ।

उनले १८ वर्ष पुगेका स्वस्थ व्यक्तिलाई रक्तदान गर्न उत्प्रेरित गर्दै सयौंलाई यो अभियानमा सामेल गरिसकेका छन् । उनकै अभियानका कारण अहिले आसपासका क्षेत्रमा समेत ‘रगत नपाए बुटवल जानु’ भन्ने भाव पैदा भएको छ । उनले २०६९ मा २५ सदस्यीय स्वयंसेवी रक्तदाता समाज रुपन्देही गठन गरेर रक्तदानलाई व्यवस्थित र संस्थागत तुल्याएका हुन् ।

परिवारका सबै रक्तदाता

चौहानका परिवारका सबै सदस्य रक्तदानमा सक्रिय छन् । उनका श्रीमती, दाजु, भाउजुले पनि प्रत्येक तीन महिनामा रक्तदान गर्ने गर्दछन् । उनका दाइले पनि ५१ पटक रक्तदान गरिसकेका छन् ।

स्वास्थ्य ठिक रहेसम्म रक्तदान गर्ने योजना रहेको उनले सुनाए । परिवारका अन्य सदस्यहरुले भने उमेर नपुगेका कारण रक्तदान गरेका छैनन् ।

एक शिक्षक जसले विद्यार्थीहरुलाई रक्तदान गर्न हौस्याए

चौहान शिक्षण पेशामा लागेको १५ वर्ष भयो । २०६३ सालमा जब डिग्री सके अनि बुटवलका निजी तथा सामुदायिक विद्यालयमा अध्यापन गर्न थाले । हाल बुटवल एभरेष्ट माविमा कक्षा ११–१२ को संयोजकको हैसियतमा कार्यरत रहेका चौहानले विद्यार्थीहरुलाई पनि लक्षित गरेर कक्षा ११ र १२ पढ्ने उमेर अर्थात् १७ वर्षदेखि २५ वर्षभित्रका विद्यार्थीलाई लक्षित एक समूह गठन गराए । उनीहरुलाई जन्मदिनका अवसरमा रक्तदान गर्ने प्रचलन ल्याए ।

सुरुको चरणमा उनी बुटवल र आसपासका बस्ती, क्लब, कलेज, बजारहरुमा पुगेर रक्तदानको महत्व बुझाउँदै हिँडे । एक एक गरेर संस्थामा युवा, युवती, अधवैंशे उमेर समूहका महिला तथा पुरुषलाई जोड्दै गए । उनीहरुलाई रक्तदानका लागि प्रेरित गरिरहे । अहिले संस्थामा ७ सय स्वयंसेवी रक्तदाता जोडिएका छन् । तिनले हरेक तीन÷तीन महिनामा नियमित रक्तदान गर्छन् । चौहान नेतृत्वको समाजले हरेक महिनाको अन्तिम शनिबार नियमित रक्तदान कार्यक्रम गर्छ । समाजले अहिलेसम्म १०५ औं पटक नियमित रक्तदान कार्यक्रम गरेको छ ।

बिरामीलाई रगत खोज्न सहज होस् भनेर मोबाइल एप्स पनि सञ्चालन गरिएको छ । स्वयंसेवी रक्तदान समाजका सबै पदाधिकारीको नाम र मोबाइल नम्बरसहितको ब्यानर प्रत्येक अस्पतालमा पु¥याइएको छ । अस्पतालका भित्तामा टाँगिएको त्यही ब्यानर हेरेर अस्पतालका कर्मचारी र बिरामीका लागि आफन्तले रगत आवश्यक परे उनीहरुलाई फोन गर्छन् । फोन आउने बित्तिकै स्वयंसेवी रक्तदाताहरु रगत व्यवस्थापनमा जुट्छन् ।

उनी जति बेला पनि रगतको व्यवस्थापन गरेर बिरामीको ज्यान बचाउनु आफ्नो पहिलो दायित्व भएको ठानेर कर्ममा खटिन्छन् ।

निःशुल्क उपलब्ध गराइएको रगतको किन शुल्क लाग्छ ?

चौहानका अनुसार रक्तदाताले निःशुल्क रुपमा रगत उपलब्ध गराएका हुन्छन् । सो रगत रक्त संचार केन्द्रमा परीक्षण हुन्छ । त्यसमा ल्याब बापत रकम बुटवलको हकमा झन्डै ६ सय रुपैयाँ लाग्छ ।

‘हामीले त्यो ल्याब शुल्क राज्यले फ्रि गराउनु पर्छ भनेर पटक पटक आवाज उठाएका छौँ,’ उनले भने, ‘अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकाले चाहिँ निःशुल्क गराएका छन् । यस्तै प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि रक्तदान बापत ल्याब रकम प्रदेश सरकारले व्यहोरेर बिरामीले निःशुल्क रगत पाउने भन्ने थियो तर अझै कार्यान्वयन भएको छैन ।’

उनले आफ्नो स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले रगतको सेवा शुल्क तिर्न नसक्ने बिरामीहरुका लागि ६ लाखको अक्षयकोष स्थापना गरेको जानकारीसमेत दिए ।

रक्तदान गरे कमजोर भइन्छ भन्ने मानसिकता अझै समाजमा रहेकाले त्यसलाई चिर्न चौहानले रक्तदानसम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएका छन् । युवा पुस्तालाई यो पवित्र कार्यमा सहभागी गराउन ‘स्टार्ट १८ स्टार्स टीम’ गठन अभियान पनि चलाइएको छ । यो टीममा १६ देखि २५ वर्ष उमेर समूहका युवायुवतीलाई समावेश गरिएको छ ।

१८ वर्ष पुगेको दिन रक्तदान गरेर जीवनमा शुभ कार्यको थालनी गरौं भन्ने सन्देश यो समूहले दिने गर्छ । यो अभियानले पछिल्लो समय रक्तदानमा युवायुवतीको सहभागिता बढाएको छ ।

आत्मसन्तुष्टिसँगै सम्मान पनि 

युवावस्थामै चौहानको दाह्री फुल्न थालेको छ । तर दिनरात रगत चाहियो भन्नासाथ दौडिहाल्ने उनको बानी बुटवलका धेरैलाई थाहा छ । उनी भन्छन्, ‘यो अभियानमा लागेर आत्मसन्तुष्टि पाएको छु । जीवनमा सबैभन्दा ठुलो आत्मसन्तुष्टि हो ।’

रक्तदानको अभियानमा लाग्दा सामाजिक संघसंस्थाहरुबाट सम्मानित हुने मौका पाएको पनि उनले सुनाए । उनले रेडक्रस रुपन्देहीबाट प्रशंसापत्र, रजत र स्वर्ण पदक पाएका छन् । एसियन थाइफुडबाट १ लाखको नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै बुटवल जेसिसले उनलाई उकृष्ट युवा पुस्कार प्रदान गरेको थियो । उनले यसरी पाएको पुस्कार रकम भने त्यही रक्तदाता समाजलाई दिने गरेका छन् ।

भारतीयसमेत आउँछन् रगतका लागि बुटवल

रगत चाहियो भन्दै नेपालका विभिन्न जिल्लाबाट बुटवल आउने र रगत लैजाने क्रम चलिरहेको छ नै, पछिल्ला वर्षमा भारतबाट पनि बिरामीहरु रगत सहज रुपमा पाइने भएकोले बुटवलमा आउने गरेका छन् । खासगरी मिर्गौला रोगीहरु डाइलासिस गर्नका लागि भारतको गोरखपुरलगायत ठाउँबाट यहाँ आउने गरेका छन् । नेपालबाट रगत भारत लैजान पाइँदैन, यता रगत पाएपछि बिरामी नै लिएर डाइलाइसिस गर्न भारतीयहरु बुटवल आउन थालेका छन् ।

विप्लव समूहबाट पनि रक्तदान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा प्रतिबन्धित रहेको बेला चौहानलाई भूमिगत रुपमै रक्तदानमा सघाएका थिए । विप्लव समूहका कार्यकताहरुले कृष्ण चौहानसहित बुटवलबाट रक्त संचार केन्द्रका दुई जना प्राविधिकलाई  रक्तदानका लागि लगेका थिए ।

बुटवलबाट विप्लवका कार्यकर्ताले उनीहरुलाई कपिलवस्तुको हल्लानगर भन्ने ठाउँमा लगे । अनि त्यहाँ रक्तदानको व्यवस्थापन गर्न जिम्मा दिइएको थियो । त्यसको केही महिनापछि विप्लव समूहमाथिको प्रतिबन्ध खुला गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप