शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिसमसमा सिंगारिएको लन्डन

शुक्रबार, ०९ पुस २०७८, ०८ : २६
शुक्रबार, ०९ पुस २०७८

इसाई धर्मालम्वीहरुको सबै भन्दा महत्वपूर्ण वार्षिक पर्व हो क्रिसमस । जसलाई डिसेम्बर महिनाको २५ तारिख येशू ख्रीष्टको जन्मदिनको स्मरण गर्दै विश्वभरी नै  मनाइन्छ । यहि अवसर पारेर महिनौंदेखि दुलही झैं सिंगारिएको लन्डन शहर क्रिसमसको प्रतिक्षामा रंगीविरंगी प्रकाश छर्दै चम्किरहेको छ । 

कोरोना महामारीका कारण गतवर्षको क्रिसमसमा विभिन्न प्रतिबन्धहरु लागू गरिएपछि क्रिसमस घरघरमै सिमित रहेको थियो ।  

यसवर्ष भने क्रिसमस मनाउने सपना बोकेर एक महिना अघिदेखि नै  लन्डन शहर सिंगारिएको छ। संक्रमणदर बढ्दै गएपछि जमघटमा प्रतिवन्ध लगाएका कारण क्रिसमसको रौनक निकै कम भएको छ । तर, सामान्य रुपमा साथीभाई घरपरिवारबीच रमाइलो गर्ने अवसर पाएकोमा भने बेलायतवासी योपटक निकै हर्षित बनेका छन् ।

बेलायतको लन्डन शहरका चोकचोक र सडकमा बत्तिहरु टांगिएका छन्, क्रिसमस ट्री सजाइएको छ । क्रिसमसको मुख्य आकर्षण सान्ता क्लज (क्रिसमसका पिता), क्रिसमस ट्री र रंगीबिरंगी झिलिमिली बत्तीहरुको सजावट नै हो । बेलायतमा डिसेम्बरको सुरुदेखि नै घर, पसल तथा सडकहरुमा झिलिमिली पारेर सजाइन्छ, जसलाई जनवरी महिनामा पर्ने अंग्रेजी नयाँ वर्षसम्म राख्ने परम्परा छ । क्रिसमसलाई इसाईहरुले मात्र नभई गैर इसाईहरुले पनि धर्मनिरपेक्ष सांस्कृतिक उत्सवको रुपमा मनाउने गरेको पाइन्छ । एक आपसमा उपहार आदानप्रदान, खानपिन र आफन्तजनहरुसँग रमाउनु नै क्रिसमसको विशेषता हो ।  

लन्डनको हाइड पार्क कर्नरमा यतिखेर ‘विन्टर वण्डरल्याण्ड’ भनिने एक विशाल क्रिसमस मेला लागिरहेको छ जुन मध्य नोभेम्बरदेखि जनवरी पहिलो हप्तासम्म रहन्छ । युरोपकै आकर्षक मानिने यस मेलामा सर्कस, आइस शो, लाइभ म्यूजिक, विभिन्न किसिमका स्टल, लगायत थुप्रै बार तथा रेष्टुरेन्टहरु खुलेका छन् । तर, गत वर्ष भने  कोरोना महामारीका कारण ‘विन्टर वण्डरल्याण्ड’ स्थगित गरिएको थियो । मानिसको छाप बढी हुने भएकाले यसपटक भने सशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

डिसेम्बर २४ तारिख शुक्रबारबाट छुट्टी सुरु भैसकेको छ । विशेषगरि ब्रिटिशहरु यो समयमा लामो होलिडेमा जाने गर्दछन्  । आर्थिक अवस्था कमजोर हुनेहरु पनि  वर्षभरी कमाएर होलिडेको लागि पैसा साँचेर राख्ने पूरानो परम्परा छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप