शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको संकट : उपेन्द्र र बाबुरामबीच खटपट, अशोक मौन

शुक्रबार, ०९ पुस २०७८, ०८ : १४
शुक्रबार, ०९ पुस २०७८

नेपाली काँग्रेस नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्री पठाउन जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन सदस्यीय समिति बनाएको थियो । समितिमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई थिए । पार्टीबाट मन्त्री पठाउन तीनजनाको बीचमा पटक–पटक छलफल भयो । तर, अध्यक्ष यादवले चार मन्त्रीका नाममा एकलौटी निर्णय गरेको भन्दै उपेन्द्र यादवविरुद्ध सार्वजनिकरुपमै विरोधका स्वरहरु सुनिए ।  

मन्त्री छनोटसम्बन्धी विवादपछि अहिले यादव र डा. भट्टराईबीच दुरी बढेको जसपाका नेताहरु बताउँछन् । जसपाका एक नेता भन्छन्, ‘कार्यालयमा जम्काभेट हुँदा ‘हाईहेल्लो’ बाहेक खासै सम्वाद भएको देखिँदैन । प्रायः एउटै मञ्चमा देखिने दुवै नेताहरुको मञ्च ‘सेयरिङ’ पनि कमै हुन थालेको छ ।

अध्यक्ष यादव र डा. भट्टराईको अन्तरविरोधको ‘रिफ्लेक्सन’ अहिले एमसीसीको विवादमा पनि प्रकट भएको छ । डा. भट्टराई एमसीसी पास हुनुपर्ने पक्षमा खुलेर प्रस्तुत भएका छन् भने यादव ‘रिजर्भ’मा बसेका छन् । एमसीसीबारे सबै दलले आ–आफ्नो धारणा बनाइसके पनि जसपाले हालसम्म कुनै धारणा बनाएको छैन । यसको कारण हो, डा. भट्टराई र यादवबीचको फरक धार ।

संसदमा मंगलबार भेटिएका जसपाका एक सांसदलाई यस विषयमा सोध्दा उनले दुई नेताको फरक धारको मारमा पार्टी परेको प्रतिक्रिया दिए । उनले भने, ‘एमसीसी जस्तो ‘हट इस्यु’मा पार्टीले एउटा  ठोस निर्णय गरेर सांसदहरुलाई निर्देशन दिनुपर्ने हो । तर, दुईजना (यादव र डा. भट्टराई) को बीचको द्वन्द्वले बैठकसमेत बस्न सकेको छैन ।’

खटपटको सिलसिला

मन्त्रिपरिषद् विस्तारमा उपेन्द्र यादवले एकलौटी गरेको आरोप लाग्नुभन्दा पहिले पनि दुई नेताबीच खटपट देखिएको थियो । १ भदौमा डिल्लीबजारको कृष्णभोग पार्टी प्यालेसमा आयोजित केन्द्रीय समितिको बैठकमा अध्यक्ष आसन ग्रहणको विषयलाई लिएर डा.बाबुराम भट्टराई पक्षधर नेताहरुले बैठकमै असन्तुष्टि व्यक्त गरेका थिए ।

यादव र भट्टराईबीच टकराव त्यसअघि पनि नदेखिएको होइन । डा. भट्टराई आफ्नो पूर्वसमूहबाट पार्टीमा एक्ला सांसद छन् । प्रधानमन्त्री भैसकेका उनी मन्त्री बन्न जाने कुरा पनि भएन । तर, उपेन्द्र यादवलाई सरकारमा जाने ईच्छा थियो । उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय सम्हाल्ने गरी सरकारमा जाने मनसुवा यादवले बनाइसकेका थिए । तर, डा. भट्टराई त्यसको विपक्षमा उभिए ।

भट्टराईले यादव सरकारमा जान नहुने कारणहरु पनि कार्यकारिणी बैठकमा प्रष्ट्याएका थिए । छोटो समयका लागि सरकार गठन हुँदैछ, निर्वाचन पनि नजिक आइसक्यो, पार्टी अध्यक्षले पार्टी सम्हाल्नुपर्छ र चुनावको तयारीका लागि नेता, कार्यकर्ता परिचालन गर्नुपर्छ । नेतृ हिसिला यमीले पनि फेसबुकमा स्टाटस लेखेर उपेन्द्र यादव सरकारमा सहभागी हुन नहुने धारणा राखेकी थिइन् ।

तथापि यादवले भने आफू कसैले रोकेर सरकार नगएको भन्ने कुरा अस्वीकार गर्दै आएका छन् । उनी आफैंले सरकारमा जान नचाहेको बताउने गरेका छन् । अन्ततः यादव सरकारमा गएनन् । तर, लगभग त्यहीबेलादेखि यी दुईको बीचमा चिसोपन छाएको सो पार्टीका नेताहरु बताउँछन् ।

अध्यक्ष यादवले डा.भट्टराईमाथि त्यतिबेला पनि शंका गरे, जतिबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न डा.भट्टराई बालुवाटार पुगेका थिए । एकातिर प्रधानमन्त्री ओलीविरुद्ध पार्टीले आन्दोलन गरिरहेको थियो र ओलीको राजीनामा मागिरहेको थियो, अर्कोतिर डा. भट्टराई ओलीलाई भेट्न सुटुक्क बालुवाटार गएका थिए ।

‘डा.भट्टराई ओलीलाई भेट्न बालुवाटार पुगेको’ एमाले नेता महेश बस्नेतले खुलासा गरेका थिए । तर, डा. भट्टराईले देश संकटमा पर्न लागेको देखेको हुँदा एकजना सचेत नागरिकको हैसियतले त्यस विषयमा गम्भीर छलफल गर्न प्रधानमन्त्रीलाई भेट्न गएको यसअघि रातोपाटीको अन्तरवार्तामा स्पष्ट पारिसकेका छन् । तथापि यस्तै कुरामा शंका र उपशंकाबीच यादव–भट्टराई बीचको खटपट अहिले गहिरिँदै गएको नेताहरु बताउँछन् ।

यसबारे सोधिएको प्रश्नमा बाबुराम भट्टराई निकट एक नेताले रातोपाटीसँग भने, ‘मिडियामा यस्ता चर्चाहरु आए पनि हामीले उहाँहरुवीच कुनै खटपट परेको देखेका छैनौं । एमसीसी उपाध्यक्ष फातिमालाई भेट्दा पनि उहाँहरु सँगै हुनुहुन्थ्यो । मन्त्री छनोटलाई लिएर कतिपय साथीहरुमा पार्टीभित्र सामान्य असन्तुष्टि देखिए पनि अध्यक्ष यादव र डा. भट्टराईको व्यक्तिगत सम्बन्ध सुमधुर नै रहेको छ ।’

दुई अध्यक्षबारे विवाद

डा. भट्टराईले पार्टीमा आफ्नो पक्षका केही नेताहरुलाई आफूतिर तान्ने कोशिस गरेको उपेन्द्र यादव पक्षको आशंका छ । यसको असर पछिल्लो समय महेन्द्रराय यादव र उपेन्द्र यादव बीचको मनमुटावले देखाएको यादव निकट नेताहरुको बुझाइ छ । खास गरी डा. भट्टराईले राजकिशोर यादव, मोहम्मद इस्तियाक राई, प्रदीप यादव, प्रमोद साह, अमृता अग्रहरिलगायतका नेताहरुलाई आफूतिर नजिक बनाएको स्रोत बताउँछ ।

अहिले आएर डा. भट्टराई पक्षधर नेताहरुले पार्टीमा दुईजना अध्यक्ष हुनुपर्ने बताउन थालेको स्रोतको भनाइ छ । जसपाको विधानमा दुई अध्यक्षको व्यवस्था कायमै छ । एकजना अध्यक्ष मनोनयन गर्नुपर्ने कुरा पार्टीमा तीब्र रुपमा उठिरहेको छ । तर, यादव पक्षका नेताहरु दुई अध्यक्ष बनाउने पक्षमा देखिएका छैनन् । बरु पार्टीको विधान नै संशोधन गर्ने, तर दुई अध्यक्ष नराख्ने सोचमा यादव पक्षका नेताहरु छन् ।

​यसबारे सोधिएको प्रश्नमा डा. भट्टराई निकट एक नेताले भने,‘निश्चय नै दुई अध्यक्षात्मक प्रणालीमा जाने कि नजाने भन्नेबारे पार्टीभित्र बहस छ । तर, यो मनमुटाबकै तहमा नभएर के गर्दा ठीक हुन्छ भनेर चलेको बहस हो ।’

उता, पार्टी अध्यक्ष यादव र डा. भट्टराईको चिसोपनसँगै पार्टीका वरिष्ठ नेता अशोक राई भने मौन देखिएका छन् । उनी अहिले कसैको पक्षमा खुलेका छैनन् ।

काँग्रेस, एमाले, राप्रपालगायत प्रमुख पार्टीहरुले महाधिवेशन गरिरहेका बेला जसपाको महाधिवेशनचाहिँ कहिले होला त ? यो प्रश्नमा जसपाका एक नेताले रातोपाटीसँग भने, ‘हामीले यही पुसमा विधान अधिवेशन गर्ने भनेका थियौं, तर पुसमा सम्भव होला जस्तो देखिँदैन, चाँडै नै विधान अधिवेशन गर्छौं ।’

एमसीसीका सन्दर्भमा पार्टीको साझा धारणा बनाउन चाँडै केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने ती नेताले बताए । उनले भने, ‘माओवादीले आफ्नो राष्ट्रिय सम्मेलनसम्म पर्खिदिन प्रधानमन्त्रीलाई भनेको बुझियो, हामीले यहीबीचमा बैठक बसेर एमसीसीबारे पार्टीको धारणा बनाउँछौं ।’

जसपाको विधानमा ८०१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । पार्टी विभाजनपछि जसपातिर ५११ केन्द्रीय सदस्य छन् । राजपा र संघीय समाजवादीबीच दुई वर्षअघि पार्टी एकीकरण भएर हाल पार्टी फुटेको हुनाले संविधानतः अझै तीन वर्ष महाधिवेशन नगर्ने छुट रहे पनि राजनीतिक र नैतिक हिसाबले त्यसअघि नै महाधिवेशन गरिने जसपाका नेताहरु बताउँछन् ।

पार्टीको केन्द्रीय कमिटीमा उपेन्द्र यादव बहुमतमा रहेको बताइने गरे पनि बाबुराम पक्षका नेता भन्छन्, ‘हाम्रो पार्टीमा उपेन्द्रजी, बाबुरामजी र अशोकजीका तीनवटा क्लष्टरको समावेशी प्रतिनिधित्व रहेको सत्य हो । तर, केन्द्रीय समितिमा कसको बहुमत छ र को अल्पमतमा छ भन्ने ढंगको विभाजनको रेखा कोरिएको छैन । बाहिर चर्चा चलेजस्तो विभाजनको हल्ला गलत हो ।’

पार्टीभित्रका केही नेताहरु उपेन्द्र यादवले एकलौटी ढंगबाट पार्टी चलाएको भन्दै सामुहिक नेतृत्व प्रणालीको पक्षमा उभिएको अर्का एक दोस्रो तहका नेताले रातोपाटीलाई बताए । उनले भने, ‘पार्टीका शीर्ष नेताले आफ्नो कार्यशैली सुधार्नैपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप