शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो बन्यो देउवा नेतृत्वको नयाँ कार्यसमिति : कुन पक्षबाट को-को बने केन्द्रीय सदस्य ?

बिहीबार, ०८ पुस २०७८, २२ : ४४
बिहीबार, ०८ पुस २०७८

नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनबाट १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् । नवनिर्वाचित केन्द्रीय समितिमा ७७ जना खस आर्य, २३ जना आदिवासी जनजाति, १० जना दलित, ११ जना मधेशी, ७ जना थारु, ३ जना मुस्लिम, पिछडिएको क्षेत्रबाट २ जना र अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति १–१ जना सदस्य बनेका छन् ।

केन्द्रीय समितिमा पुरुष ९४ जना र महिला ४१ छन् । काँग्रेसमा महिला ३० प्रतिशत, दलित ७ प्रतिशत, आदिवासी जनजाति १७ प्रतिशत, मधेशी ८ प्रतिशत, थारु ५ प्रतिशत र मुस्लिमको २ प्रतिशत प्रतिनिधित्व भएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार  १३ पदाधिकारीमा मध्ये सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

यस्तै ८ सहमहामन्त्रीमा किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय (डिना), जीवन परिवार, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित भएका छन् । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट मनोनित गरिने छ ।

पदाधिकारीमा – १३ सिट

पदाधिकारीमा सभापति देउवासहित उपसभापति खड्का, सहमहामन्त्रीहरु राठौर, आङदेम्बे, उपाध्याय, यादव, मन्सुर र उमाकान्त चौधरी विजयी भएका छन् । कोइराला प्यानलबाट उपसभापति गुरुङ, महामन्त्री थापा, सहामहामन्त्री पाण्डे र परियार निर्वाचित भएका छन् । यस्तै प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा शर्मा निर्वाचित भएका छन् ।

१२१ केन्द्रीय सदस्य मध्ये ३५ खुल्लातर्फ, २१ भूगोलतर्फ, ९ महिला खुल्लातर्फ, ९ मधेसी खुल्लातर्फ, ४ थारु खुल्लातर्फ र ३ मुस्लिम खुल्लातर्फ, ७ खस–आर्य खुल्लातर्फ,  ६ खस–आर्य महिलातर्फ  ५ दलित खुल्लातर्फ, ४ दलित महिलातर्फ, ८ आदिवासी–जनजाति खुल्लातर्फ र ७ महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

यस्तै अपाङ्गता, अल्पसंख्यक र पिछडिएका क्षेत्रतर्फ एक एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । देउवा प्यानलबाट ११०, कोइराला प्यानलबाट १७ र सिंह प्यानलबाट १ जना केन्द्रीय सदस्य जितेका छन् । निवर्तमान महामन्त्री शशांक कोइरालाले भने आफू साझा उम्मेदवारको रुपमा विजयी भएको बताएका छन् ।

कोइराला प्यानलबाट खुल्लामा ९ जना, महिला, प्रदेश १, गण्डकी प्रदेश, दलित खुला, मधेशी खुला, जनजाति खुला, खस आर्य पुरुष र खस आर्य महिलातर्फ १–१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । देउवा पक्षले ८२ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यमा जितेको छ । दोस्रो कार्यकालमा देउवा थप शक्तिशाली बनेका छन् ।

खुल्लातर्फ– ३५ सिट

देउवा प्यानलका गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक,  शंकर भण्डारी, सुनिल थापा, उदय शमशेर राणा,  गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित भएका छन् ।

यस्तै देउवा पक्षका मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आचार्य, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् ।

यता कोइराला प्यानलका अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना खुला केन्द्रीय सदस्य बनेका छन् ।

महिला खुल्ला – ९ सिट

काँग्रेसको खुल्ला मिहलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षका ८ जना निर्वाचित भएका छन् । देउवा पक्षबाट डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही निर्वाचित भएका हुन् ।

९ जना मध्ये कोइराला प्यानलबाट खुल्ला महिलामा केन्द्रीय सदस्य जित्ने सरिता प्रसाईं एक्ली हुन् ।

मधेसीतर्फ–९ सिट

मधेसीतर्फ ४ महिलासहित ९ जना केन्द्रीय सदस्यमा ८ जना सभापति देउवा प्यानलबाट विजयी भएका छन् । देउवा समूहबाट खुल्लातर्फ अजय चौरसिया, विनोद चौधरी, महेन्द्रकुमार राय र दिनेशकुमार यादव निर्वाचित भएका हुन्। बाँकी एक जना चन्द्रमोहन यादव मात्र  कोइरालाको समूहबाट निर्वाचित भएका छन्।

यस्तै चार जना महिलातर्फ भने देउवा पक्षले क्लिन स्विप परेको छ । देउवा समूहकी मुक्ता कुमारी, मिनाक्षी झा, मन्जुकुमारी यादव र नागिना यादव विजयी भएकी छन् ।

थारुतर्फ – ४ सिट

थारुतर्फ २ खुला र २ महिला गरी ४ वटै केन्द्रीय सदस्यमा देउवा पक्षले जितेको छ । केन्द्रीय सदस्य थारु खुल्ला २ सिटमा देउवा पक्षका रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् ।

यस्तै महिलातर्फ पनि देउवा समूहकै  कल्पना चौधरी र जीवन राना विजयी भएकी छन् ।

मुस्लिमतर्फ– ३ सिट

काँग्रेसको मुस्लिमतर्फको केन्द्रीय सदस्यमा देउवा पक्षले ‘क्लिन स्विप’ पारेको छ । मुस्लिम खुल्लातर्फ अब्दुल रञ्जाक र अब्दुल सतार विजयी भएका छन् । यस्तै महिलातर्फ जावेदा खातुन जागा विजयी भएकी छन् ।

अपाङ्गता–अल्पसंख्यक र पिछडिएका क्षेत्रतर्फ

यस्तै पिछडिएका क्षेत्र, अपाङ्गतातर्फ र अल्पसंख्यकतर्फबाट १–१ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पिछडिएका क्षेत्रबाट अर्जुन ज‌गबहादुर सिंह, अपाङ्गताबाट मदनकृष्ण श्रेष्ठ र अल्पसंख्यकबाट प्रदीप कुमार सुनुवार निर्वाचित भएका छन् । उनी तीनै जना देउवा पक्षका हुन् ।​

आदिवासी जनजातितर्फ १५ सिट

आदिवासी जनजाति समुदायबाट १५ जना केन्द्रीय सदस्यमा १४ जना देउवा पक्षका निर्वाचित भएका छन् । आदिवासी जनजाति खुलातर्फ चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा र तारामान गुरुङ निर्वाचित भएका छन् ।

आदिवासी जनजातितर्फ विजयी भएका टेकप्रसाद गुरुङ कोइराला समूहबाट उम्मेदवार बनेका थिए । त्यस्तै, महिलातर्फ सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ निर्वाचित भएका छन् । उनीहरु सातै जना देउवा पक्षका हुन् ।

दलिततर्फ ९ सिट

दलिततर्फ केन्द्रीय सदस्यमा निर्वाचित ९ मध्ये आठ जना देउवा समूहबाट विजयी भएका हुन् । देउवा प्यानलका मानबहादुर नेपाली, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका छन्  भने प्रकाश रसाइली स्नेही कोइराला समूहबाट विजयी भएका हुन् ।

काँग्रेसको दलित महिलातर्फको केन्द्रीय सदस्य पदमा देउवा पक्षले क्लीन स्वीप गरेको छ । दलित महिलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षका लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएकी छन् ।

खस आर्यतर्फ १३ सिट

खस आर्यतर्फ १३ पदका लागि भएको निर्वाचनमा ११ जना देउवा पक्षका र २ जना कोइराला समूहबाट विजयी भएका छन् ।  देउवा समूहका केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह, भीम पराजुली, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित भएका छन् । कोइराला समूहबाट खसआर्य खुलातर्फ मधु आचार्य विजयी भएका छन् ।

यस्तै महिलातर्फ मञ्जु खाँण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना निर्वाचित भएका छन् । प्रतिमा गौतम कोइराला प्यानलबाट निर्वाचित भएकी हुन् ।

भूगोलतर्फ

सात वटा प्रदेशबाट ३–३ गरी काँग्रेसमा २१ जना केन्द्रीय सदस्य बनेका छन् । जसमा देउवा पक्षका १८, कोइराला पक्षका २ र सिंह पक्षका एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

प्रदेश १ बाट देउवा पक्षका अमृत अर्याल र महेन्द्र कुमारी लिम्बु निर्वाचित गरेका छन् । प्रदेश १ को खुल्लातर्फ कोइराला प्यानलका राजीव कोइराला विजयी भएका छन् ।

भूगोलतर्फ  प्रदेश २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव निर्वाचित भएका छन् । उनीहरु पनि देउवा प्यानलबाट विजयी भएका हुन् ।

बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा ध्यानगोविन्द रञ्जित, राजन केसी, उर्मिला नेपाल (केसी) विजयी भएका छन् । जसमा रञ्जित र नेपाल देउवा समूहका हुन् भने केसी नेता प्रकाशमान सिंह निकट हुन् ।

गण्डकी प्रदेशको खुल्ला केन्द्रीय सदस्यमा दुई जना देउवा र एक जना कोइराला समूहका विजयी भएका छन् । देउवा प्यानलका ध्रुव वाग्ले र  सरस्वती अर्याल तिवारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै गण्डकीबाट कोइराला समूहका कृष्णचन्द्र (नेपाली) पोखरेल केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

काँग्रेसको लुम्बिनी प्रदेशको खुला दुई सदस्यमा देउवा प्यानलका देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । महिलातर्फ पनि देउवा पक्षकै शिला खड्का विजयी भएकी छन् ।

भूगोलतर्फ कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा देउवा पक्षका राजीव विक्रम शाह र कर्णबहादुर बुढा निर्वाचित भएका हुन् । कर्णालीबाट महिलातर्फ देउवा समूहकै जानकी सिंह विजयी भएकी छन् ।

सुदूरपश्चिम प्रदेशबाट खुला दुई केन्द्रीय सदस्यमा देउवा पक्षका डा। रणबहादुर रावल र यज्ञराज जोशी विजयी भएका छन्। महिलातर्फ सुशील मिश्र भट्ट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी पनि देउवा प्यानलबाटै उम्मेदवार भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप