शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६ वर्ष काम गरेर यसरी बिदा भयो राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

बिहीबार, ०८ पुस २०७८, १९ : ०९
बिहीबार, ०८ पुस २०७८

भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणको काम गर्न गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी बिदा भएको छ । बिहीबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालय परिसरमा हस्तान्तरण तथा बहिर्गमन कार्यक्रम गर्दै प्राधिकरणले आफ्नो दायित्व र जिम्मेवारी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, शहरी विकास मन्त्रालय लगायतलाई हस्तान्तरण गरेको छ । २०७२ साल पुस १० गते स्थापना भएर ५ वर्षे कार्यकालको जिम्मा पाएको प्राधिकरणले कोरोना संक्रमण लगायतका कारण थप एक वर्ष समय थप पाएको थियो । अस्थिर राजनीतिका कारण ६ वर्षको अवधिमा ५ पटक प्राधिकरणको नेतृत्वमा हेरफेर गरिएको थियो ।

निर्माणाधीन धरहरा, सिंहदरबार, शान्तिबाटिका, रणोद्वीप दरबारका बाँकी रहेका काम पूरा गर्न शहरी विकास मन्त्रालय अन्र्तगत रहेको भवन विभागलाई जिम्मेवारी दिइएको छ । यस्तै प्राधिकरणका अन्य बाँकी कामहरुको जिम्मेवारी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिइएको छ ।

आरोहीलाई सगरमाथा चढ्नुजस्तै चुनौति थियो : गृहमन्त्री खाँण

हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले प्राधिकरण अहिले सफल रुपमा सगरमाथा चढ्न सफल आरोहीका रुपमा रहेको बताए । भूकम्पपछि प्राधिकरणलाई पुनर्निर्माण सुरु गर्नु आरोहीलाई सगरमाथा आरोहण सुरु गर्नु जत्तिकै चुनौती रहेको बताउँदै प्राधिकरणलाई सफलतामा पु-याउने सबै कर्मचारीलाई धन्यवाद व्यक्त गरे ।

उनले नेपालमा भूकम्पपछि भएको पुनर्निर्माणको काम अन्तर्राष्ट्रिय क्षेत्रका अध्येता, प्राज्ञका लागि अध्ययन अनुसन्धानको विषय भएको बताए । गृहमन्त्री खाँणले भने, ‘६ बर्षको छोटो कार्यकालमा ज्यादै महत्त्वपूर्ण काम सम्पन्न भएको छ । छोटो अवधिमा चुनौतिपूर्ण काम मन लगाएर गर्नुभएकामा कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु ।

गृहमन्त्री खाँणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बर्हिगमनपछि बाँकी रहेका काम सम्पन्न गर्न र अन्य विपद जोखिम न्यूनिकरणका काम गर्न विपद जोखिम प्राधिकरणलाई चुनौती थपिएको बताए । उनले मौसम परिवर्तनका कारण विश्वव्यापी रुपमा प्राकृतिक प्रकोपको जोखिम बढेकोले त्यसतर्फ सचेत रहन आग्रह गरे ।

६ वर्षको अनुभव काम लाग्छ : सुशील ज्ञवाली

प्राधिकरणबाट बिदा हुँदै गरेका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले ६ वर्षको समयमा हाँसिल गरेको अनुभव विपद उत्थानशील नेपाल निर्माणका लागि प्रयोग गर्न सकिने बताए । ६ वर्षअघि २ जना कर्मचारीको साथमा आफैले कुर्सी र टेबल राखेर कार्यलय सुरु गरेको बताउँदै ज्ञवालीले नेपालले सफलतापूर्वक पुनर्निर्माणको काम सम्पन्न गरेको बताए ।

उनले विभिन्न चुनौती र जटिलता पार गर्दै पुनर्निर्माणको काम अघि बढाएको बताए । ज्ञवालीले भने, ‘भौगोलिक जटिलता, राजनीतिक संक्रमण, देश संघीय प्रणालीमा गएको अवस्था, तालिम दिएर जनशक्ति गाउँमा पठाउनुपर्ने जटिल अवस्था पार गर्दै हामीले उपलब्धी हासिल गरेको अवस्था हो । राजनीतिक दलका कारण प्राधिकरणको नेतृत्व परिवर्तन भएकोपनि प्राधिकरणको नीतिलाई एकरुपता दिएकोमा राजनीतिक दलहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।

उनले पुनर्निर्माणको क्रममा सहयोग गर्ने २ सय ४१ भन्दा बढी गैरसरकारी संस्थाहरु, नेपाललाई घोषणा गरे अनुसार पुनर्निर्माणका लागि सहयोग पु-याउने दातृ निकायहरूलाई धन्यवाद ज्ञापन गरे ।  साथै प्राधिकरणको बाँकी काम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गर्दै आगामी दिनको सफलताको कामना गरेका छन् ।

यस्तो छ प्राधिकरणले ६ वर्षमा गरेको कामको विवरण

भूकम्पबाट झन्डै ८ लाख हाराहारी घर पूर्ण तथा आंशिक रुपमा क्षति भएको थियो । प्राधिकरणले ८ लाख २९ हजार ६ सय ६७ परिवारसँग अनुदान सम्झौता गरेको थियो । सो मध्ये ८ लाख २८ हजार ७ सय ६३ परिवारले अनुदान सम्झौता गरेका थिए ।

दोस्रो किस्ता लिने लाभग्राही ७ लाख ५० हजार ४ सय ५९ जना थिए । यस्तै ७ लाख ३ हजार ३ सय ७ लाभग्राहीले तेस्रो किस्ता लिएका थिए । निजी आवास पुनर्निर्माण तर्फ प्राधिकरणको आंकडा अनुसार तेश्रो किस्ता रकम वितरणका आधारमा ७ लाख ३ हजार ३ सय ७ घर पुनर्निर्माण सम्पन्न भएका छन् ।

विद्यालय भवन तर्फ ७ हजार ५ सय ५३ विद्यालय पुनर्निर्माण गर्ने लक्ष्य राखिएकामा ६ हजार ६ सय ४७ विद्यालय पुनर्निर्माण सम्पन्न भएको छ भने ९ सय ३६ विद्यालय भवन पुनर्निर्माण जारी रहेको छ ।

यस्तै स्वास्थ्य संस्थाका भवन तर्फ ११ सय ९७ रहेकोमा ७ सय ५१ भवन पुनर्निर्माण सम्पन्न भएको छ भने ३ सय ५४ भवन पुनर्निर्माणको क्रममा रहेको छ ।

साँस्कृतिक सम्पदा तर्फ ९ सय २० पुनर्निर्माण लक्ष्य रहेकोमा ६ सय ६ पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ३२ सम्पदा पुनर्निर्माण जारी रहेको छ ।

सरकारी भवनतर्फ ४ सय १५ भवन पुनर्निर्माण गर्ने लक्ष्य रहेकोमा ३ सय ८८ कार्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने २० भवनको पुनर्निर्माण जारी रहेको छ ।

सुरक्षा निकायका भवनतर्फ २ सय १६ भवन पुनर्निर्माण गर्ने लक्ष्य लिइएकोमा सम्पूर्ण भवनको निर्माणको काम सम्पन्न भएको छ ।

यस्तै ४ हजार ७ सय २० परिवार जोखिमयुक्त बस्तीमा रहेको मध्ये ३ हजार ४ सय ६२ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

६ सय २९ परिवारले सुरक्षित बस्तीका लागि सरकारी जग्गा पाएका छन् भने ६ सय २९ परिवारले आफ्नो ढंगबाट जग्गा व्यवस्थापन गरेका छन् ।

१२ हजार ७ सय ५७ भूकम्प प्रभावित भूमिहीन लाभग्राही मध्ये ११ हजार ५ सय ८० परिवारले  साविककै स्थानमा घर बनाउन अनुमति पाए भने  १ हजार १ सय ७७ परिवारलाई जग्गा खरिद अनुदान उपलब्ध गराउने निर्णय भएको र सो मध्ये ७ सय ५७ परिवारलाई जग्गा खरिदका लागि अनुदान दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आफ्नो कार्यकालमा करिब १ लाख जनालाई निर्माणकर्मी तालिम दिएको र करिब  ६ हजार इञ्जिनियर परिचालन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप