बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मजदुरलाई राजनीतिमा आउन आह्वान

बिहीबार, ०८ पुस २०७८, १७ : ०४
बिहीबार, ०८ पुस २०७८

नेपाल ट्रेड युनियन  महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले मजदुरहरूलाई राजनीतिमा आउन आग्रह गरेका छन् । उनले मजदुरी गरेका मन्त्री बनेका व्यक्तिहरुले वास्तविक मजदुरको समस्या बुझ्न सक्ने र सोही अनुसार निर्णय गर्न सक्ने भएकाले मजदुरहरु पनि राजनीतिमा आउनुपर्ने बताए ।

नेकपा एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशनलाई बिहीबार बुटवलमा सम्बोधन गर्दै उनले मजदुरहरु राजनीतिमा आएपछि मात्र उनीहरुको भविष्य सुरक्षित हुने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै यातायात मजदुर सहभागी हुनुपर्नेमा जोडसमेत दिए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले एमालेले मात्र मजदुरका समस्या समाधान गर्ने दाबी गरे । योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई कार्यान्वयनमा ल्याउन नदिन अनेक प्रयास भइरहेको भन्दै उनले मजदुरहरुलाई चनाखो हुन आह्वान गरे ।

यस्तै जिफन्टका उपाध्यक्ष विदुर कार्कीले यातायात क्षेत्रमा सेटिङ हुँदा श्रमिक र मजदुरहरु अनाहकमा जेलमा जानुपर्ने अवस्था सिर्जना भएको बताए ।

तीन दिनसम्म चल्ने अधिवेशनमा देशभरबाट ३५० भन्दा बढी यातायात मजदुर नेता सहभागी छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप