बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने संकेत पाएका छौँ : श्रेष्ठ

राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने
बिहीबार, ०८ पुस २०७८, १५ : २२
बिहीबार, ०८ पुस २०७८

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लाग्नसक्ने सङ्केत गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण भएको सङ्केत पाएको बताएका हुन् । 

उनले प्रधानन्यायाधीशले चाहेजस्तै गरी संसद्मा प्रधानन्यायाधीशको बहिर्गमनको सम्बन्धमा छिट्टै छलफल हुने र निष्कर्ष निस्कने बताए । उनले भने – ‘न्यायपालिकाको गरिमा कायम राख्नको लागि, न्यायपालिका निष्पक्ष, स्वच्छ, स्वतन्त्र बनाउनको लागि सरकारदेखि लिएर प्रतिपक्ष सम्मले विशेष पहल, भूमिका निर्वाह गर्नुपर्दछ भन्ने हामीले आवाज उठाउँदै आएका छौँ । यसतर्फ अहिले दलका नेताज्यूहरुले ध्यान दिनुभएको हो की भन्ने सङ्केत हामीले पाएका छौँ । चोलेन्द्र शमशेरको आगमन अदालतमा जति दिन हुन्छ त्यतिदिन सम्म नै न्यायपालिकाको आस्था तल जाँदै गर्छ । न्यायपालिकाको आस्था कायम राख्नका लागि, सेवाग्राहीहरूलाई न्याय किनबेच गर्नु नपर्ने सर्वसुलभ, निष्पक्ष न्याय, स्वच्छ न्याय दिलाउनको लागि हामी बार एसोसिएसन वाचडगको रूपमा रहेका छौँ । उहाँले चाहे अनुसारको बहिर्गमन गराउने एउटा अर्को बाटो छ संसद् । थलो संसद् छ । त्यो संसद्को थलोमा अहिले हाउस चलिराखेको हुनाले त्यहाँ छलफल हुने नै छ, छिट्टै छलफल हुन्छ । त्यहाँबाट एउटा निष्कर्ष निस्कन्छ ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेलसम्म बार एसोसिएसनले गरेको विरोधको कार्यक्रम जारी रहने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप