सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

इराकमा के गर्दैछ चीन, जसले बढाउँदैछ अमेरिकी चिन्ता

बिहीबार, ०८ पुस २०७८, १० : ५९
बिहीबार, ०८ पुस २०७८

अमेरिकाले इराकमा रहेका आफ्नो सेना फिर्ता घोषणा गरेपछि लामो समयदेखि युद्धग्रस्त यो देशमा चीनले स्कुल बनाउने सम्झौतामा हस्ताक्षर गरेको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले स्थानीय सूत्रलाई उद्धृत गर्दै यसको पुष्टि समेत गरेको छ ।

चिनियाँ व्यवसायीका अनुसार स्कुल परियोजना फेरि सुरु भएको देख्दा चिनियाँ कम्पनीले बेल्ट एन्ड राड इनिसियटिभसँग यो मुलुकमा चासो बढाउन लागेको छ । ती व्यवसायी भन्छन्  –इराकमा हजारौँ काम अझै पनि गर्न सकिन्छ, यसको प्रतीक्षा हामीलाई छ । चीनको यो लगानी अमेरिकाको लगानी अगाडि एक चुनौतीको रूपमा देखा परेको छ । अर्कातिर चीन पनि इराकको राजनीतिक स्थिरता, सुरक्षा र आपसी भरोसाका केही मुद्दामा थोरै भएपनि सशङ्कित देखिन्छ ।

विषय के हो ?

हालै मात्र इराक सरकारले एक ट्वीट गर्दै इराकी प्रधानमन्त्री मुस्तफा अल कदिमीको नेतृत्वमा गत साता स्कुल निर्माणबारे सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएको थियो । चिनियाँ पक्षकातर्फबाट पावर चाइनाका उपाध्यक्ष र सिनो टेकका क्षेत्रीय निर्देशक समावेश थिए । पावर चाइनाका एक प्रवक्ताले उसले इराकमा झन्डै ७ सयको हाराहारीमा स्कुलको निर्माण गर्ने बताएका छन् । बाँकी ३२१ स्कुल सिनो टेकले तयार गर्नेछ । शिक्षाको अवसरको कमीका कारण देशको विकास र उसको पुननिर्माणको कोशिशमा पटक–पटक अबरुद्ध हुँदै आएको छ ।

संयुक्त राष्ट्र संघ मातहतको संस्था युनिसेफका अनुसार स्कुल जान सक्ने ३२ लाख इराकी बच्चा शिक्षाको पहुँचबाट अझै पनि वञ्चित रहँदै आएका छन् ।

चिनियाँ व्यवसायी चेन शिएनजाङले २० वर्षभन्दा बढी अवधिदेखि इराकमा लगानी गरिरहेका छन् । उनले ग्लोबल टाइम्ससँग भने, ‘चीनको लगानी मानवतावादको सहयोगभन्दा पनि धेरै परको कुरा हो । इराकमा फैलिएको स्कुलको अर्थ सुरक्षामा गरिएको खर्च अत्यन्त धेरै हुन्छ । यसबाट चिनियाँ सरकारी कम्पनीलाई हुने लाभ पनि अत्यन्त थोरै मात्र हुन्छ ।’ कयौ वर्षदेखि सुरक्षाको विषयका कारण स्कुल परियोजना निलम्बित हुँदै गरेको उनले अखबारलाई बताएका छन् ।

केही इराकी व्यवसायीले आफूसँग सम्पर्क गरेको र स्कुल निर्माण परियोजनामा उप सम्झौताको आशा लगाइएको चेनले बताए । इराकी मिडियाका अनुसार गत वर्ष नोभेम्बरमा चीन र इराकबीच भएको ७०० स्कुल निर्माणको विषय ठुलो सम्झौताको हिस्सा हो ।

चीन इराकमा आफ्नो प्रभाव जमाउँदै

चीनको रेनमिन विश्वविद्यालयमा चोङयाङ इन्सटिच्यूट फर फाइनान्शीयल स्टडीजका वरिष्ठ शोधकर्ता चोउ रोङले ग्लोबल टाइम्सलाई भने,‘चीनको इराकमा स्कुल परियोजना बनाउनु गैर सरकारी पिपुल टु पिपुल तथा सांस्कृतिक आदान–प्रदानको बीउ जस्तो हो ।’ चीन र इराकबीचको यो सम्बन्ध यस्तो समयमा आएको छ, जब अमेरिका बिस्तारै बिस्तारै मध्यपूर्वमा आफ्नो प्रभाव कम गरिरहेको छ ।

चीनको वाणिज्य मन्त्रालयका अनुसार चीन इराकी तेलको सबैभन्दा ठुलो खरिदकर्ता मुलुक हो । चीनका व्यवसायीका अनुसार ऊर्जाको मामिलामा पनि चिनियाँ कम्पनी निर्माण र बन्दरगाहमा लगानी गर्न सक्छ ।

चेन भन्छन्, ‘इराकमा अझै पनि ठुला परियोजना अमेरिकी युरोपियन कम्पनीहरूको एकाधिकार छ । यसैले हामी स्थानीय मानिससँग विश्वास बनाउन समय चाहिन्छ । धार्मिक कारणबाट इराकमा एक परिपक्व शासन प्रणालीको विकास सुस्तरी चलिरहेको छ । जसले कारोबारीको अवस्थामा अनिश्चितता पैदा गर्छ ।’ विश्लेषकलाई उद्धृत गर्दै ग्लोबल टाइम्स लेख्छ, ‘मध्यपूर्वमा अमेरिकी प्रभाव केही समयका लागि अवश्य रहन्छ । यस प्रभाव कमी बिस्तारै हुन्छ, जुन परिवर्तन गर्न सकिन्न ।’

इराकबाट अमेरिकी सैनिकको फिर्ती

अमेरिकाले अफगानिस्तानमा आफ्नो सेना फिर्ता बोलाउने घोषणा पछि यसै वर्षको जुलाईमा इराकबाट पनि आफ्नो सबै अमेरिकी सैन्यबल फिर्ता गर्ने घोषणा गरेको थियो । यो घोषणाबाट इराकको जमिनी अवस्थामा के असर पर्छ र के यसबाट इराकमा पुनः इस्लामिक स्टेटको फिर्तीको बाटो खुल्ने छ ? भन्ने प्रश्न गरिएको थियो । केही वर्ष अगाडि इस्लामिक स्टेटले पुरै मध्यपूर्वमा डरको अवस्था पैदा गरेको थियो । यो चरमपन्थी संगठनले लन्डनदेखि अस्ट्रेलिया सम्म आएर हिंसात्मक गतिविधि सञ्चालन गरेको थियो ।

इराकमा कति अमेरिकी सैनिक छन् ?

इराकमा अमेरिकी आक्रमणको १८ वर्षपछि साढे २ हजार अमेरिकी सैनिक मात्र बाँकी छन् । यसको अलावा इस्लामिक स्टेटसँग लडिरहेको विशेष सैन्य दस्ताको एक सानो गोप्य टुकडी पनि छ, जसको बारेमा जानकारी सार्वजनिक छैन ।

इराक आक्रमणपछि अमेरिकाको १ लाख ६० हजार सैनिकको मजबुत सेनाले देश कब्जा गरेका थिए । अब बाँकी रहेका साढे २ हजार सैनिक ३ अड्डामा मात्रै सीमित देखिएका छन् । उनीहरूमाथि पनि इरान समर्थित मिलिसियाले रकेट र ड्रोन आक्रमण गर्ने गरेका छन् ।

इराकमा अमेरिकी सैनिकको उपस्थितिमा विवादित

इरान समर्थित नेता र मिलिसियाले अमेरिकी सेना बाहिरिएको हेर्न चाहन्छ । विशेष गरी इरानको रिभोलुसनरी गार्डको कुर्द फोर्सका प्रमुख मेजर जनरल कासिम सुलेमानी र एक शीर्ष शिया मिलिसिया कमान्डरको अमेरिकाले बगदाद एयरपोर्टमा हत्या गरेपछि उनीहरूले अमेरिकी सेना बाहिरिएको हेर्न चाहेका हुन् ।

इरानको रिभोलुसनरी गार्ड

इराकका ती मानिस जो कसैको पक्षमा छैनन्, उनीहरू पनि विदेशी सैनिक देशबाट बाहिरिएको हेर्न चाहन्छन् । अमेरिकामा पनि धेरै मानिस इराकबाट सैनिक फिर्ताको विषयलाई लिएर सकारात्मक छन् । तर उनीहरू इराक इरानको हातमा नजाओस् भन्ने पनि चाहन्छन् ।

अमेरिका लामो समयदेखि स्वयं पनि मध्यपूर्वबाट बाहिर निक्लने प्रयास गरिरहेका छन् । बहालवाला राष्ट्रपति जो बाइडेन पनि यी संघर्षलाई सधैँ चलिरहेको युद्ध भन्छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप