शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मेडिकल कलेजको मनपरी : शुल्क नघटाए सिट संख्या घटाउने आयोगको चेतावनी

बिहीबार, ०८ पुस २०७८, ०६ : ३५
बिहीबार, ०८ पुस २०७८

चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी दिएको हो ।

आयोगका सदस्य–सचिव डा. भोजराज काफ्लेले अटेर गर्ने र विद्यार्थीसँग मनपरी शुल्क लिने कलेजमाथि अनुसन्धान शुरु गरिसकिएको र ती मेडिकल कलेजलाई अनुमति दिइएको सिट रोक्का गर्न पत्र पठाउने तयारी भइरहेको बताए । कारबाही गर्ने अधिकार आयोगसँग नभएको गुनासो गर्दै उहाँले भन्नुभयो– ‘के गर्ने, कारबाही गर्ने अधिकार हामीलाई रहेनछ, बढी शुल्क लिने कलेज भएका जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी कारबाही गर्न आग्रह गरेका छौं ।’

उनका अनुसार मनपरी शुल्क लिने कलेजमाथि कारबाही अघि बढाउन कास्की, मोरङ, काठमाडौं, पर्सा, लुम्बिनी र चितवन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको छ । आयोगले मेडिकल कलेजको सम्बन्धन दिएका सबै विश्वविद्यालयलाई समेत बढी शुल्क लिएका कलेजमाथि कारबाही गर्न पत्र पठाएको छ ।

शैक्षिक सत्र २०७७र०७८ का लागि लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भई अध्ययनका लागि गएका विद्यार्थीलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को दफा २ (थ) मा उल्लेख भएको शुल्क पुनः लिन नपाउने स्पष्ट हुँदाहुँदै सरकारी निर्देशनको अवज्ञा गर्ने कलेजमाथि कारबाही गर्नुपर्ने माग बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप