शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिनेन्द्र रिजालको जोडी : वैभवदेखि वैराग्यसम्म (भिडियोसहित)

मिनेन्द्र– अब मसक्कै निस्केर केही गर्नुछ, दुर्गा– कतिञ्जेल अर्काकै लागि गर्ने ?
बुधबार, ०७ पुस २०७८, १५ : ४२
बुधबार, ०७ पुस २०७८

डा. मिनेन्द्र रिजाल सन् १९९६ अघिसम्म सपरिवार अमेरिकामा बस्थे । उनले न्यूयोर्क युनिभर्सिटीबाट स्टाटिस्टिक एण्ड अपरेसन्स रिसर्चमा मास्टर्स अफ फिलोसोफी गरे । न्यूयोर्क युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट मास्टर्स अफ बिजिनेस एड्मिन्स्ट्रेसनमा रिजालले युनिभर्सिटी टपे । त्रिविबाट सर्वोत्तम अङ्कसहित एमबीए, कानुनमा स्नातक र विज्ञानमा स्नातक गरेका रिजालले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा तीन वर्ष पढाए । श्रीमती प्रा. दुर्गा रिजालले पनि अमेरिकाबाटै डिग्री हासिल गरिन् ।

धेरै नेपाली विद्वानहरू अध्ययनका लागि युरोप–अमेरिका पुगेर उतै अलमलिएका छन् । डा. रिजाल दम्पतीको हकमा गंगा उल्टो धारमा बगिन् । सन् १९९६ मा डा. मिनेन्द्र र दुर्गा ‘देशमै केही गर्ने’ सोचेर सपरिवार नेपाल फर्किए । दुर्गाले कलेजमा युवायुवतीलाई शिक्षा दिन थालिन् । मिनेन्द्रचाहिँ सिङ्गै देशको मुहार फेर्छु भन्दै राजनीतिमा होमिए । राष्ट्रिय योजना आयोगको सदस्य बने । प्रधानमन्त्रीको सल्लाहकार भए । प्रभावशाली सांसद बने । पटक–पटक मन्त्री बने । नेपाली काँग्रेसका चर्चित नेता बने ।   

रिजाल परिवार नेपालमा छँदै पैतृक रूपमा सम्पन्न र वैभवशाली मानिन्थ्यो । अमेरिकामा पनि अपुग केही थिएन, आफ्नै दुःखले आर्जेको वैभव थियो । तथापि रिजाल दम्पतीले अमेरिकाको साटो नेपाल रोजे । विदेशको साटो स्वदेशको माटो रोजे । भलै, विदेश भासिएका नेपालीलाई ‘नैतिक पाठ’ पढाउनका लागि उनीहरू स्वदेश फर्किएका होइनन्, आफ्नै जीवनको लयमा फर्किएका हुन् ।

‘कलेजमा पढाउन थालेको २२ वर्ष लाग्यो, अब सेवानिवृत्त हुने चाहाना छ, देश देशावर घुम्ने इच्छा छ ।’ दुर्गाको यो चाहनालाई अस्वीकार गर्दै डा. मिनेन्द्र सल्लाह दिन्छन्, ‘निष्क्रिय जीवन बिताउनुहुन्न, सेवानिवृत्त भयो भने त रोग लाग्छ, जीवन सकिहाल्छ नि !’

श्रीमतीलाई सक्रिय रहन सल्लाह दिइरहँदा डा. रिजाल स्वयं एउटा आत्मपरक प्रश्नको घेराबन्दीमा परेका छन् । काँग्रेस महामन्त्रीमा पराजय भोगेसँगै उनले रक्षामन्त्रीबाट राजीनामा दिए । अब उनको राजनीतिक गन्तव्य के हो ? रिजाललाई सबैतिरबाट सोधिने प्रश्न हो यो । आफ्नै छोरीले पनि उनलाई यही प्रश्न सोधेकी छन् ।

‘मैले सार्वजनिकरुपमै भनेको कुरा हो कि एकपटक पार्टीको चुनाव र एकपटक प्रतिनिधिसभाको चुनाव लड्छु । अब मैले पार्टीको चुनाव लडिसकेँ । महामन्त्रीमा हारेँ, सक्कियो,’ मोरङ क्षेत्र नम्बर २ का सांसद डा. रिजाल रातोपाटीसँग मनको कन्तुर खोल्छन्, ‘अब प्रतिनिधिसभामा एकपटक लड्छु ।’

डा. रिजालले रक्षामन्त्रीबाट राजीनामा दिँदै गर्दा श्रीमतीसँगको सल्लाहपछि यस्तो निर्णयमा पुगेको बताएका थिए । के साँच्चै उनले आफ्नो राजनीतिक यात्रा तय गर्दा श्रीमतीलाई सोधेर निर्णय लिने गरेका छन् ? मानिसहरूमा चासो छ ।

दुर्गा विसं. २०६१ तिरको प्रसङ्ग कोट्याउँछिन्, ‘जतिबेला उहाँलाई राज्यमन्त्रीको अफर आएको थियो, मसँग सल्लाह लिनुभयो, मैले नगर्नुस् भनेपछि उहाँ नगर्ने निष्कर्षमा पुग्नुभयो ।’

रिजाल दम्पतीको घरसल्लाह र एक अर्काको निर्णयमा साथ दिने बानीमात्र राम्रो होइन, उनीहरूसँग जीवनयात्राका हरेक अनुभूति उत्तिकै रोचक छन् ।

०३६ साल अर्थात् ४२ वर्षअघि मिनेन्द्र २२ वर्षका थिए, दुर्गा १८ वर्षकी । रिजाल नेविसंघका सदस्य थिए । पद्म कन्या बहुमुखी क्याम्पसमा नेविसंघकै सक्रिय कार्यकर्ता थिइन् दुर्गा । त्यही संयोगले भेटिएको जोडी हो रिजाल दम्पती । करिब चार वर्ष लामो गाढा प्रेमलाई विवाहमा परिणत गर्दै जोडिएको सम्बन्ध हो उनीहरूको । त्यो चार वर्षभित्र बनेका अनेकन प्रेमिल किस्साहरू खुलेर सुनाउँछन् रिजाल दम्पती ।

काठमाडौँको चारढुंगेमा नेविसंघको कार्यालय थियो । त्यहीँ पहिलोचोटि देखभेट भयो । पहिलो भेटमै आँखा जुधे । पहिलो भेटमै अंकुराएको प्रेमिल यात्रा आजसम्म सँगसँगै चलिरहेको छ, रोमान्टिक पारामा ।

प्रा. दुर्गाले सेवाबाट अवकास लिने योजना बनाइरहँदा डा. रिजाल चाहिँ आफ्नो सार्वजनिक जीवनलाई झनै फुलाउने चाहनामा छन् । राजनीतिबाट टाढा हुनु परिहाल्यो भने पनि उनलाई ‘बालै’ छैन । अहिले नै राजनीतिबाट विश्राम नलिने सोचाइमा रहेका डा. रिजाल कथंकाल त्यो स्थिति आयो भने केही सिर्जनात्मक दुनियाँमा हराउने सोचमा छन् ।

नेपाली काँग्रेसका बौद्धिक नेता डा. रिजाल भन्छन् ‘मलाई यो व्यस्त जीवनबाट करिब १० वर्षको समय चोरेर निकाल्नु छ, जुन समय लेखेर, केही गरेर, राजनीति नै गरेर होस् वा अरू केही कालान्तरसम्म सम्झनायोग्य बनाउन चाहन्छु ।’

रिजाल दम्पती वैभवमा बाँचेको परिवार हो । जीवनको उत्तरार्धमा उनीहरू आफ्नो सम्पत्ति समाज कल्याणमा खर्च गर्न चाहन्छन् । उनीहरू दुवैले अंगदानको घोषणा पनि गरेका छन् । हालै स्वास्थ्योपचारको क्षेत्रमा ५० लाख रुपैयाँको कोष छुट्याउने घोषणा गरेका छन् । उमेर बढ्दै जाँदा सत्ता र सम्पत्तिप्रति वैराग्यभाव देखिन थालेको छ उनीहरूमा । तैपनि अझै १० वर्ष सक्रिय रहेर देशमा केही गर्न चाहन्छन् ।   

‘जीवनको आजसम्मको च्याप्टरमा मसँग कुनै निराशा छैन, कुण्ठा छैन’ काँग्रेस महामन्त्रीमा पराजित भएको परिघटना सम्झँदै डा. रिजाल भन्छन्, मेरा लागि अवसर आएको छ कि मैले जुरुक्कै उठेर नयाँ काम अथवा पुरानै कामको अर्को अध्यायमा सुरु गर्नुछ । यो हरेक दिनको काँग्रेसको तानातानको राजनीतिबाट अथवा, भ्यागुता राजनीतिबाट मसक्कै निस्केर केही गर्नु छ । म आज महामन्त्रीमा हारेर उम्कन पाएको छु, यो मेरा लागि अवसर हो । किनकि, साथीहरूले मलाई भनिसक्नुभयो कि तँलाई जे गर्न मन लाग्छ अब गर् ।’

दुर्गा आफ्नो पतिलाई राजनीति नगर्नोस् भन्न सक्दिनन् । तर, उनलाई दुईवटा कुरा चाहिएको छ ः एउटा स्वास्थ्य र अर्को इज्जत । यी दुईवटा कुरा नगुमाउने गरी काम गर्नुपर्ने उनको माग छ । अब जे मन लाग्छ त्यही गर्छु भन्दैमा ‘अरूले गरेको फोहोर सफा गर्दै’ समय र क्षमता खेर नफाल्न श्रीमती दुर्गाको सुझाव छ ।

दुर्गा अलिकति आक्रोश मिसाएर भन्छिन्, ‘अरूले गरेको फोहोर सफा गर्ने र अरूका लागि बाटो सम्याउने काम उहाँले धेरै गर्नुभयो । अरूका लागि गरेर, अरूको बाटो सम्याएर पार्टीका लागि यो भएन भन्दाभन्दै अनेकपटक उहाँ पछाडि परेको हामीले देख्यौँ ।’

उनी थप्छिन्, ‘पहिले प्रतिनिधिसभाको निर्वाचनमा पनि त्यस्तै भयो, अहिलेको महामन्त्रीको निर्वाचनमा पनि त्यही दोहोरियो । तीन दिनसम्म नसुती अरूका लागि मिलाएर बस्नुभयो तर आफ्ना लागि एकजना मतदातासँग भेटेर भोट माग्ने फुर्सद भएन । नतिजादेखि हाल्नुभयो । भनेपछि, अब कतिञ्जेल अर्काका लागि मात्र गर्ने ?’

प्रस्तुत छ– डा. रिजाल दम्पतीसँग उनीहरूको जीवन र भोगाइबारे रातोपाटीले गरेको रोचक एवं अन्तरंग भिडियो कुराकानी– 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप