बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपहरणमा परेका भनिएका चन्द्रे कामी आठ दिनपछि भेटिए

बुधबार, ०७ पुस २०७८, ११ : ०४
बुधबार, ०७ पुस २०७८

अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन् । 

अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन दिएको थियो ।

प्रहरीले खोजी तीव्र पारेपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले बेपत्ता पारिएका भनिएका चन्द्रेलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

बाटोमा हिँड्दै गरेका क्रममा उनलाई खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको निरीक्षक भण्डारीले बताए । सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षिय चन्द्रे र मुगु सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा अन्तर जातीय विवाह गरेका हुन् । 

तर, उनीहरू दुवैलाई २९ मंसिरमा माइती पक्षले बोलाएर लगेको र त्यसपछि चन्द्रेलाई कुटपिट गरेर बेपत्ता पारेको आरोप कामी परिवारले लगाउँदै प्रहरीमा उजुरी दिएका थिए । 

यसपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायव उपरीक्षक हेरम्ब शर्मा आफैं घटनास्थलमा पुगेर चन्द्रेको खोजीकार्यमा जुटेका हुन् ।  प्रहरीले माइत पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने युवक सम्पर्कमा आएकाले थप अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप