बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : गण्डकीमा देउवा प्यानलको बर्चस्व

बुधबार, ०७ पुस २०७८, १० : ५३
बुधबार, ०७ पुस २०७८

गण्डकी प्रदेशबाट नेपाली काँग्रेसमा संस्थापन पक्षको बहुमत देखिएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा गण्डकी प्रदेशमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका धेरै उमेदवारहरू विजयी भएका हुन् । पदाधिकारीमा भने शेखर कोइराला पक्षबाट उमेदवार बनेका धनराज गुरुङ केन्द्रीय उपसभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी सहमहामन्त्रीमा पनि कोइराला निकट जीवन परियार निर्वाचित भएका छन् । 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशबाट खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । मुख्यमन्त्री नेपालीले २ हजार ३ सय ६ मत ल्याएर विजयी भएका हुन् । मुख्यमन्त्री पोखरेल १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै नवलपरासी पूर्वका मतदाता रहेका शशांक कोइराला पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कोइराला र पोखरेल दुबै शेखर निकटका रुपमा चिनिन्छन् । त्यसैगरी गण्डकी प्रदेशका तर्फबाट खुलातर्फ केन्द्रीय सदस्यमा तनहुँका ध्रुव वाग्ले निर्वाचित भएका छन् । वाग्लेले २ हजार ७ सय २० मत पाएर बिजय भएका छन् । त्यसैगरी स्याङजाकी सरस्वती अर्याल तिवारी गण्डकी प्रदेशबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । स्याङजाबाट काँग्रेसका पूर्व उपसभापति भइसकेका गोपालमान श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । तिवारी र श्रेष्ठ दुवै देउवा निकटकारुपमा चिनिन्छन् । 

त्यसैगरी देउवा पक्षबाट तनहुँका गोविन्द भट्टराई, ध्रुव वाग्ले र शंकर भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
 
त्यस्तै कास्कीका गुरु बराल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बराल देउवा प्यानलबाट उमेदवार बनेका थिए । कास्कीबाट शेखर प्यानलमा केन्द्रीय सदस्यमा उमेदवार बनेका दबराज चालिसे, यज्ञबहादुर थापा ऋषी काफ्ले भने पराजित भएका छन् । 
देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उमेदजवार बनेका कांग्रेसका पुराना नेता शोभियत बहादुर अधिकारी पनि पराजित भएका छन् । 

अहिलेसम्मको मत गणनामा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा, लमजुङ र बागलुङबाट कोही पनि केन्द्रय समितिमा निर्वाचित भएका छैनन् । प्रदेशका ११ जिल्ला मध्ये कास्की, तनहुँ, नवलपरासी र स्याङजाका उमेदवारहरु भने विजयी भएका छन । अन्य पदमा मतगणना जारी रहेकाले प्रदेशबाट थप उमेदवार निर्वाचित हुनसक्ने सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप