शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भ्याक्सिनको चौथो डोज दिने पहिलो देश बन्नेछ इजरायल

बुधबार, ०७ पुस २०७८, १० : २८
बुधबार, ०७ पुस २०७८

इजरायल कोरोना भाइरसको चौथो डोज दिने पहिलो देश बन्ने योजनामा रहेको छ । इजरायलले ओमिक्रोन भेरियन्टका कारण नयाँ लहरका निम्तिने सम्भावना भएका कारण आफू यस्तो योजना बनाउने पहिलो देश बनेको जानकारी दिएको छ ।

इजरायलका महामारी विशेषज्ञले ६० वर्ष माथिका मानिस र स्वास्थ्यकर्मीका लागि चौथो बुस्टर डोज दिने सिफारिश गरेको छ ।

प्रधानमन्त्री नफ्टाली बेनेटले योजनाको स्वागत गर्दै अधिकारीलाई यसको तयारी गर्नका लागि भनेका छन् ।

इजरायलमा मंगलबार ओमिक्रोन भेरियन्टका कारण पहिलो संक्रमितको मृत्युबारे पत्ता लागेपछि यस्तो निर्णय लिइएको हो ।

स्वास्थ्य मन्त्रालयले इजरायलमा ओमिक्रोन भेरियन्टका कम्तीमा ३४० संक्रमित भएको जानकारी दिएको छ ।

चौथो बुस्टर डोज लगाउने निर्णय अहिले पनि वरिष्ठ स्वास्थ्यकर्मीसँग विचाराधीन अवस्थामा छ ।

यद्यपि, प्रधानमन्त्री बेनेटको कार्यालयले बीबीसीसँगको कुराकानीमा प्रशासनले तेस्रो डोज लगाएको कम्तीमा चार महिनापछि चौथो डोजको अनुमति दिने आशा राखेको बताएको छ ।

बेनेटले भने, ‘यो निकै राम्रो खबर हो । यसले हामीलाई संसारलाई आफ्नो चपेटमा पारिरहेको ओमिक्रोनको लहरबाट बाहिर निकाल्न मद्दत गर्नेछ ।’

कोभिड–१९ खोप अभियान कार्यक्रम सुरु गर्दा इजरायलका जनताले निकै तीब्र गतिमा खोप लगाएका थिए ।

यति हुँदाहुँदै पनि देशको कूल जनसंख्या ९३ लाखमध्ये कूल ६३ प्रतिशत मात्रै जनताले भ्याक्सिनको दोस्रो डोज लगाएका छन् ।

इजाराइल अपेक्षाकृत युवा देश भएका कारण यस्तो भएको हो किनभने देशको एक तिहाई जनसंख्या १४ वर्षभन्दा कमका छन् ।

कोरोना महामारीसँग जुध्नका लागि इजरायलले नोभेम्बरमा पाँच वर्षभन्दा माथिका बालबालिकालाई पनि खोप लगाइने घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप