सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकको नयाँ व्यवस्थाले खर्बौंको अनियन्त्रित आयात रोकिँदै

मङ्गलबार, ०६ पुस २०७८, १८ : ०६
मङ्गलबार, ०६ पुस २०७८

कोभिड–१९ महामारीको प्रभाव कम भएसँगै नेपालमा आयात बढेको–बढ्यै छ । चालू आर्थिक वर्ष २०७८/७९ को चार महिना (साउन–कात्तिक) भित्रै ६ खर्ब ५० अर्ब रूपैयाँभन्दा बढीको आयात भइसकेको छ । यही गतिमा वर्षैभरी आयात भए यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी १८ खर्ब रुपैयाँ हाराहारीको वस्तु भित्रिने आँकलन छ । 

चालू आर्थिक वर्षको चार महिनाको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक (नेपाल राष्ट्र बैंक) अनुसार गत वर्ष समीक्षा अवधि तुलनामा यो पटक आयात ६१ प्रतिशत बढेको छ । अनियन्त्रित रूपमा आयात बढेपछि विदेशी मुद्रा सञ्चिति समेत खुम्चिने क्रममा छ । कात्तिक मसान्तसम्म नेपालमा १२ खर्ब ४४ अर्ब रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो । जुन, यही वर्षको असार मसान्तको तुलनामा ११ प्रतिशत कम हो । यही गतिमा आयात भइरहने हाल कायम सञ्चितिले ७.२ महिनाको वस्तु तथा सेवा आयातमात्र धान्न सक्छ ।

यसबाहेक, चालू आर्थिक वर्षको चार महिनामा सरकारको चालू खातासमेत दुई खर्ब २३ अर्ब १९ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको यही अवधिमा चालू खाता १९ अर्ब एक करोड रुपैयाँ बचतमा थियो । कोभिड महामारीको प्रभाव न्यून बनेसँगै बढेको आयातले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गर्ने नीति लिएको छ । 

केन्द्रीय बैंकले २० वटा एचएस कोडमार्फत नेपाल भित्रिने सयौं वस्तुको आयातमा कडाइ गर्ने नीति लिएको हो । राष्ट्र बैंकले सोमबार अबेर सूचना जारी गर्दै १८ वटा एचएस कोडमार्फत आयात हुने वस्तु आयात गर्दा बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्यो । यसबाहेक, डिजेल/पेट्रोल र ग्याँसबाट चल्ने दुई/चारपाङ्ग्रे सवारीको आयात गर्दा ५० प्रतिशत मार्जिन राख्नैपर्ने व्यवस्था गर्यो । 

यसअघि ग्राहकका रूपमा नियमित वस्तु कारोबार गर्ने कर्पोरेट हाउसहरूले शून्य मार्जिनमै प्रतीतपत्र (एलसी) खोलेर आयात गर्थे । अब भने सबै आयातकर्ताले १८ वटा एचएस कोडभित्र पर्ने वस्तुको आयात (औद्योगिक बाहेक) गर्न एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने भएको छ । राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले आयात निरूत्साहित गर्न यो व्यवस्था लागू गरिएको बताए । आयात अनियन्त्रित ढंगले बढ्दै गएको अवस्थामा शोधानान्तर घाटा बढ्दै नदिन र विदेशी मुद्राको सञ्चिति घट्न नदिन केन्द्रीय बैंकले यो व्यवस्था गरेको पोखरेलको भनाइ छ ।

केन्द्रीय बैंकले नयाँ व्यवस्थामा आवश्यक नै नपर्ने वस्तुको सूची हेरिहेरि आयातमा कडाइ गरेको छ । आयातमा कडाइ गर्नुअघि १८ वटा एचएस कोडअन्तर्गतका मालवस्तु अर्बौं रूपैयामा भित्रिने गरेका थिए । चालू आर्थिक वर्षको चार महिना अवधिमै चुइगममात्रै २१ करोड रूपैयाँभन्दा बढीको भित्रिएको छ । यो बाहेक, अर्बौं रुपैयाँ बराबरको मदिराजन्य/सुर्तिजन्य वस्तु भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।

राष्ट्र बैंकले एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेका १८ वटा एचएस कोड (सवारीसाधन बाहेक) अन्तर्गत पर्ने वस्तु आयातमा चालू आर्थिक वर्षको चार महिनामै ६७ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको छ । चार महिनामै यी वस्तुको आयातमा अबौं रूपैयाँ बाहिरिएकोमा वर्षैभर आयात गर्न दिँदा खर्बौ रूपैयाँ बाहिरिने गरेको विभागको तथ्यांक छ ।
कुन एचएस कोडमार्फत कति वस्तु भित्रियो ? 
राष्ट्र बैंकले आयातमा कडाइ गरेका वस्तुहरूको सूचीमा चकलेट, चुइगम, इनर्जी ड्रिंक, पेयपदार्थ, चुरोट, अत्तर, श्रृङ्गार सामग्री, स्याम्पु, कपालको तेल/हेयर ड्रायर, जुत्ता, छाता, कृत्रिम फुल, मानव/जनावरका कपाल, आइब्रो लगायतका वस्तु आयात हुँदै आएको छ । यस बाहेक, मार्बल, टायल, इँटा, फर्निचर लगायतका वस्तुको आयातमा समेत कडाइ गरिएको छ । 

राष्ट्र बैंकले ‘०९०७’ एचएस कोडमार्फत आउने ल्वाङ आयातमा कडाइ गरेको छ । चार महिनाको २० करोड ७० लाख रुपैयाँको ल्वाङ आयात भइसकेको छ । यस्तै, एचएस कोड ‘१७’ अन्र्तगत आउने २५ प्रकारका वस्तुको आयातमा समेत कडाइ गरिएको छ । यो कोडभित्र रहेर ३१ अर्ब ६ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो कोडअन्र्तगत चिनी, सख्खर, गुलकोज, चुइँगम र मह लगायत अन्य प्रकारका गुलियो पदार्थ पर्छन् ।

यस्तै, एचएस कोड ‘२२’ अन्र्तगत पर्ने ४२ प्रकारका पेय पदार्थको आयातमा समेत कडाइ गरिएको छ । यो कोडअन्तर्गत विदेशबाट ल्याइने सबै प्रकारका अल्कोहलिक पदार्थ, पानी र इनर्जी ड्रिंक पर्छन् । यस कोडअन्र्तगत रहेर चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब १२ करोड रुपैयाँको आयात भएको छ । यसैगरी, एचएस कोड ‘२४’ मार्फत चुरोट र सुर्तीजन्य वस्तु आयात हुँदै आएको छ । चार महिनामा ८१ करोड रुपैयाँको चुरोट तथा सुर्तीजन्य वस्तु भित्रिएको छ ।

‘३३०३’ एचएस कोडबाट ट्वाइलेट परफ्युम र ट्वाइलेट वाटर आयात हुँदै आएको छ । यो कोडमार्फत चार महिनाको अवधिमा १२ करोड ५६ लाख रुपैयाँको आयात भएको छ । यस्तै, ‘३३०४’ कोडमार्फत सृङ्गारका सामग्री आयात हुन्छ । यो कोडबाट नङपालिस, सिन्दुर, फेसक्रिम, बडी लोसन र अन्य मेकअपका सामान आयात हुन्छ । चार महिनामा यस्ता वस्तुको आयात मूल्य एक अर्ब ८४ करोड रुपैयाँभन्दा बढी छ ।

यस्तै, ‘३३०५’ कोडमा हेयर ओयल, हेयर क्रिम, हेयर कन्डिसनर लगायतका वस्तु आउँछ । यो कोड अन्तर्गत एक अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांक छ । यसैगरी, ‘४४’ बाट शुरू हुने एचएस कोडमार्फत ६८ प्रकारका वस्तु काठबाट बनेका फर्निचरजन्य वस्तु आयात हुन्छ । यसअन्र्तगत दुई अर्ब ६२ करोडको वस्तु आयात हुँदै आएको छ । ‘६४’ बाट शुरू हने एचएस कोडमार्फत नेपालमा तयारी जुत्ता र जुत्ताका लागि चाहिने कच्चा पदार्थ आयात हुँदै आएको छ । चार महिना अवधिमा नेपालमा दुई अर्ब ६० करोड रुपैयाँ बराबरको जुत्ता तथा जुत्ताजन्य वस्तु आयात भएको छ । 

‘६५’ बाट शुरू हुने एचएस कोडमार्फत १२ प्रकारका प्लाष्टिकजन्य वस्तु भित्रिन्छ । यो शीर्षकमा नेपालमा ६० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । ‘६६’ बाट शुरू हुने एचएस कोडमार्फत छाता र दृष्टिविहीन तथा अशक्तले प्रयोग गर्ने डण्डी समेत आयात हुन्छ । यो शीर्षकमा चार महिनामा तीन करोड ४७ लाखको वस्तु आयात भएको छ । ‘६७’ एचएस कोडमा प्लाष्टिकका फूल, मानव/जनावरको कपाल, आइब्रोजस्ता वस्तु भित्रिन्छन् र यो अवधिमा ९ करोडको वस्तु भित्रिएको छ ।

‘६८’ बाट सुरू हुने एचएस कोडबाट ४४ प्रकारका मार्बल तथा टायल र यस्तै निर्माण सामग्री नेपाल आउँछन् । यी वस्तु आयातमा यो अवधिमा दुई अर्ब ७१ करोड बाहिरिएको छ । ‘६९’ एचएस कोडमार्फत इँटा र सिमेन्टबाट बनेका इँटाका सामान पनि नेपाल आउँछन् । यो कोड अन्तर्गतका पाँच अर्ब ६७ करोड बराबरको वस्तु भित्रिएको विभागले जानकारी दिएको छ ।

‘७०१०’ कोडबाट आयात हुने काँच (सीसा), प्लाष्टिक र धातुका बोतल (पानी पिउने बोतल समेत)को आयात समेत कडाइ गरिएको छ । पछिल्लो चार महिनाभित्रै एक अर्ब २२ करोड रुपैयाँका यस्ता बोतल भित्रिएका छन् । ‘७१०६’ कोडबाट आयात हुने चाँदीको धुलो, चाँदी र कच्चा चाँदीको आयातमा समेत कडाइ भएको छ । चार महिनामा १४ अर्ब २७ करोडको चाँदी र चाँदीजन्य वस्तु आयात भएको छ ।

यस्तै, ‘९४०३’ कोडबाट आयात हुने वस्तुको आयातमा समेत कडाइ गरिएको छ । यो कोडमार्फत काठ र प्लाष्टिकका चियर, काठका फर्निचर, काठका पिँजडा लगायतका वस्तु आयातमा कडाइ गरिएको छ । यो शीर्षकमा ८९ करोडको वस्तु आयात भएको छ ।

यसबाहेक, डिजेल/पेट्रोलबाट चल्ने सवारी, अटो रिक्सा तथा एम्बुलेन्स र सव बहानको आयातमा समेत कडाइ गरिएको छ । यी वस्तुको आयात गर्दा ५० प्रतिशत क्यास मार्जिन राख्नुपर्छ । यसबाहेक दुई पाङ्ग्रेको आयातमा समेत ५० प्रतिशत क्यास मार्जिन अनिवार्य राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ ।

के हो एचएस कोड ?
हर्मोनाइज्ड सिस्टम (एचएस कोड) ६ अंकको मानक हो । अन्तर्राष्ट्रिय व्यापारलाई मर्यादित र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय भन्सार संगठनले यसको व्यवस्था गरेको हो । देशअनुसार फरक–फरक नामले चिनिने वस्तुलाई एचएस कोडमार्फत संसारभर एकै रूपमा चिनिन्छ । 
अन्तर्राष्ट्रिय भन्सार संगठनले हरेक वस्तुलाई एचएस कोड उपलब्ध गराउँदै आएको छ । एचएस कोडबिना अन्तर्राष्ट्रिय बजारमा आयात/निर्यात गर्न सम्भव छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप