देउवा र निधि–कोइराला आमने-सामने, बालकृष्ण र गगन जनकपुरमा
नेपाली काँग्रेस प्रदेश २ को नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि–शेखर कोइराला समूह प्रतिस्पर्धामा उत्रिएको छ । मंगलबार देउवा समूहबाट रौतहटका सभापति कृष्ण यादव र निधि–कोइराला समूहबाट प्रदेश २ संसदीय दल नेता तथा मन्त्री रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
सर्वसम्मितमा प्रदेश कार्यसमिति चयन गर्ने पूर्वउपसभापति निधिको प्रयास असफल भएपछि कृष्ण र रामसरोज चुनावी मैदानमा उत्रिएका छन् । देउवा र निधि–कोइराला समूहबीच प्रदेश समितिको ७२ पदमा प्यानलगत प्रतिस्पर्धा हुने भएको छ । प्रदेश २ मा आफ्नो बलियो उपस्थिति रहेको भन्दै देउवा समूह निधि पक्षलाई नेतृत्व दिन तयार नभएपछि चुनाव हुन लागेको हो ।
महाधिवेशनको दोस्रो चरणमा देउवालाई समर्थन गरेका निधिले प्रदेश दुईमा साथ पाउन अपेक्षा राखेका थिए । सोही अनुसार निधिले सभापति देउवासँग संवाद पनि गरेका थिए । तर देउवा पक्षले नेतृत्व नछाड्ने अडान दिएपछि निधि र कोइराला एक ठाउँमा उभिएका छन् ।
निधि निकट रामसरोजलाई अध्यक्षका रुपमा अगाडि सारेर एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री कोइराला समूहले लिएको छ । बाँकी एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री निधि समूहले राखेको छ । केन्द्रीय महाधिवेशन पछि हुन लागेको प्रदेश अधिवेशनलाई दुबै पक्षले महत्वका साथ लिएको छ ।
देउवा पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाण दलबलसहित जनकपुरमा छन् । नवनिर्वाचित सहमहामन्त्रीद्वय महेन्द्र यादव, फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदय शमशेर राणा, आनन्द ढुंगाना रमेश रिजाल आफ्नो पक्षमा परिणाम निकाल्न कस्सिएर लागेका छन् । यता निधि– कोइराला पक्षका प्रभावशाली नेता जनकपुरमा छन् ।
निधि आफै मैदानमा खटिएका छन् । निधिलाई साथ दिन उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा र उपसभापतिका प्रत्यासी चन्द्रभण्डारी पनि जनकपुरमा छन् ।कोइराला पक्षबाट प्रदेश एकका सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका पत्यासी भूपेन्द्रजंग शाही, सहमहामन्त्रीका प्रत्यासीद्वय रामकृष्ण यादव र तेजुलाल चौधरी चुनावी रणनीति बनाउन व्यस्त छन् ।