शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उखु किसान र उद्योगीबीच कुरा नमिल्दा भएन मूल्य निर्धारण

मङ्गलबार, ०६ पुस २०७८, १२ : ३९
मङ्गलबार, ०६ पुस २०७८

उखुको मूल्य निर्धारणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सोमबार भएको छलफलमा सहमति हुन सकेन । कृषि मन्त्री महिन्द्रराय यादवको उपस्थितिमा उखु किसान र चिनी उद्योगीहरूको बीचमा आज छलफल भयो तर सहमति नभएपछि बुधवार पुनः बस्ने गरी बैठक स्थगित भएको हो । उद्योगीहरूले सरकारी अनुदानसहित प्रति क्विन्टल ५८५ रुपियाँ प्रस्ताव गर्दा उखु किसानहरूले त्यसमा असहमति जनाएका छन् । 

उखु किसानहरूले उखुको मूल्य प्रति क्विन्टल ६८५ रुपियाँ हुनुपर्ने माग गरेका छन् तर चिनी उद्योगीहरूले त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन् । ‘उखु यति महँगोमा खरिद गरेपछि चिनी कति रुपैयाँले बेच्ने ?’ भन्दै उद्योगीहरूले बच्ने मूल्य पनि निर्धारण हुनुपर्ने माग राखेका थिए । 

यता उखु किसानहरूले ६२ रुपियाँ केजीमा चिनी बेच्दादेखि नै उखुको प्रति क्विन्टल ५३०÷५४० रुपैयाँमा बेच्दै आएको बताएका छन् । ‘अहिले तपाईंहरुले चिनीको मूल्य कहाँ पुर्‍याउनु भयो ? अनि उखुको मूल्य जस्ताको त्यस्तै रहने ?,’ उनीहरूको प्रश्न थियो । 

अहिले चिनीको मूल्य ९० रुपियाँभन्दा माथि पुगिसकेको तर उखुको मूल्य पुरानै रहेको किसानहरूको गुनासो छ । ‘पाँच वर्षदेखि उखुको मूल्य वृद्धि भएको छैन,’ उखु किसान कपिलमुनि मैनाले भने, ‘उद्योगीहरूले चिनीको मूल्य वृद्धि गरिराख्ने तर उखुको मूल्य वृद्धि गर्न नचाहने ? यो हुँदैन, चिनीको मूल्य जसरी वृद्धि भएको छ, त्यही अनुपातमा उखुको पनि मूल्य वृद्धि हुनुपर्छ ।’ 

दुवै पक्षले आफ्नो अडान नछाडेपछि सहमति हुन सकेन । सरकारले किसान, उद्योगी र आफूले तयार गरेको मूल्य राखेर एउटा मूल्य निर्धारण गर्ने सोच बनाएको कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाश सञ्जेलले बताए । सरकारले प्रति क्विन्टल ५६५ रुपियाँ बनाउने भनी हिसाब तयार पारेको छ । बुधवारसम्म उखुको समर्थन मूल्य निर्धारण हुने कृषि मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप