सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा कर्णालीले कस्ता एजेन्डा राख्ला ?

विमला केसी भन्छिन्– कर्णाली समृद्धिको योजना अब माओवादीले अघि सार्नुपर्छ
मङ्गलबार, ०६ पुस २०७८, ११ : ४५
मङ्गलबार, ०६ पुस २०७८

नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेशको प्रथम अधिवेशनले रुकुम (पश्चिम)की विमला केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । प्रदेशमा महिलाले नेतृत्व पाएको भन्दै प्रशंसासमेत भइरहेको छ ।

रुकुम (पश्चिम)बाट कर्णाली प्रदेशसभा सदस्यसमेत रहेकी केसीले कर्णाली प्रदेश सरकारमा झण्डै तीन वर्ष भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि ११ वर्षको उमेरदेखि नै सक्रिय राजनीतिमा होमिएकी केसी कर्णालीमा ‘अब्बल महिला लिडर’को रुपमा चिनिन्छिन् । स्नातक तह (राजनीतिक शास्त्र, कानुन) सम्मको अध्ययन गरेकी केसी १० वर्षे जनयुद्धमा पूरै समय सामेल भएकी थिइन् । उनी ०६४–०६८ संविधानसभा सदस्य पनि हुन् ।

माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत भइसकेकी उनी गरिब, किसानको नेतृको रुपमा आफूलाई स्थापित गर्न चाहन्छिन् ।

प्रदेशको अधिवेशन सकिएसँगै सबैको ध्यान माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनतर्फ केन्द्रित छ । विगतदेखिनै केन्द्रीय राजनीतिकको छत्रछायाँमा परेको कर्णालीलाई माओवादीको राष्ट्रिय सम्मेलनले समेट्ला त ? के माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनले यहाँको विकास, गरिबी निवारण, बेरोजगारी समस्या, पार्टी नेतृत्व विकासलाई ध्यान देला ? कर्णालीले सम्मेलनमा कस्ता खालका एजेन्डा राख्दैछ ? यिनै विषयमा केन्द्रित रहेर माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीसँग रातोपाटीले बुझ्ने प्रयास गरेको छ । प्रस्तुत छ, उनको धारणाको सम्पादित अंश :

पहिलो कुरा त, पार्टीले आजको आवश्यकताको विचार संश्लेषण गर्नुपर्‍यो । हामीले पहिला ‘प्रचण्डपथ’ भनेर संश्लेषण गर्‍यौं । एकता केन्द्रसँग एकता गर्दा ‘प्रचण्डपथ’ छोड्यौं । हाम्रो क्रान्तिको विशेषतामा संश्लेषण गरेको विचार नै त्यही थियो । त्यो कुराबाट हामी बिनाकारण पछि हटेका थियौं । अब त्यो विषयको चर्चा गर्न जरुरी छ । नेपालमा रुस, चाइनाजस्तो क्रान्ति त हुँदैन तर आजको र हाम्रो आवश्यकताको क्रान्ति कसरी सम्पन्न गर्न सकिन्छ ? त्यही विचारलाई आत्मसात् अथवा संश्लेषण हामीले गर्न जरुरी छ । राजनीतिक कार्यदिशाको कुरा गर्दा पनि वैज्ञानिक समाजवाद हो र त्यसका आधारहरू कसरी बनाउने ? कसरी वैज्ञानिक समाजवाद प्राप्त हुन्छ ? त्यसका आधार र कार्यदिशा के हुन् ? त्यसलाई प्रस्ट बुझिनेखालको कार्यनीति कार्यकर्ताहरूलाई पार्टीले दिनुपर्छ भन्ने हाम्रो भनाइ छ ।

विचार संश्लेषण, राजनीतिक कार्यदिशा र संगठनात्मक हिसाबले पनि त्यही किसिमको ‘टिमवर्क’ हुनुपर्छ । त्यो किसिमको वातावरण भएन भने कार्यान्वयन गर्ने सिस्टमचाहिँ बलियो हुँदैन । त्यसैले अब पार्टी एउटा सिस्टममा चल्ने, विधिको पालना गर्ने हुनुपर्छ । हामीले जनजाति प्रणालीको कुरा गरिरहेका थियौं, अहिले त्यो हरायो । पछिल्लो चरणमा पार्टीमा जुन व्यक्तिले जे चाह्यो त्यही भएको हामी पाउँछौं । यसलाई सच्याउने प्रयास हामीले सम्मेलनहरूमा पनि गरेका छौं । एउटा रुपान्तरणको बाटोमा त हामी लागिसकेका छौं नै, तै पनि स्पष्ट के हो त ? नेपाली काँग्रेस र एमालेले लागु गरेकोजस्तै मतदान गर्ने प्रक्रियाले पार्टी बन्ने हो कि अब टीके प्रथाबाट नियुक्ति गर्ने ? यी दुईवटा कुुराको बीचबाट हामी जान खोजेकै छौं ।

तल्लो तहको जनमतको भावलाई हेरेर सर्वसम्मत गराएर अघि बढ्ने अहिलेको विधि हो । तर त्यो पनि चित्त बुझेको छैन । बहस गर्नुपर्ने देखिन्छ नै । त्यो विधि नै आजको आवश्यकता पूरा गर्ने विधि हो कि होइन ? अझै हाम्रा कमिटीहरू पूर्ण हुन सकिरहेका छैनन् । अध्यक्ष हुन्छ तर अन्य पदाधिकारी हुँदैनन् । यस्तो खालको समस्या आइरहेको छ । हामीले जे गर्न खोजिरहेका छौं, त्यो अनुसार अघि बढ्न सकिरहेको अवस्था पनि छैन । यो कुराको पनि समीक्षा गर्न जरुरी छ ।

राष्ट्रिय सम्मेलनमा कर्णालीका एजेण्डा ?

हिजो जनयुद्धमा पनि कर्णालीको भूमिका निर्णायक रह्यो । शान्ति प्रक्रियापछि पनि कर्णालीबाट पार्टीलाई जुन किसिमको भूमिका हामीले गरेका छौं, त्यो अन्तको तुलनामा कर्णालीको धेरै हो ।

अर्को कुरा, माओवादीको आधार इलाका भनेको कर्णाली हो । त्यस कारण अब हामीले कर्णालीबाट ‘लिडिङ’ गर्न सक्नुपर्छ । पार्टी केन्द्रलाई बढी सपोर्ट गर्दै आधारकेन्द्रको रुपमा हामीले कर्णालीलाई बनाउनुपर्छ भन्ने हाम्रो संश्लेषण पनि हो । त्यो खालको जिम्मेवारीबोध पनि हामीले गरिरहेका छौं ।

समाजवाद निर्माणको पार्टी कसरी बनाउने भन्ने कुरा त आर्थिक समृद्धिसँग जोडिन्छ । सामाजिक, सांस्कृतिक रुपान्तरणसँग जोडिन्छ । आर्थिक समृद्धिको नारा अघि सारेर बढ्यो भने त गरिबी निवारण हुन्छ नै । त्यसो हुँदा कर्णालीको गरिबी हटाउने र निवारण गर्ने योजना अब पार्टीले बनाउनुपर्छ ।

पार्टीले आफ्ना कार्यकर्ताहरूलाई, समग्र जनतालाई आर्थिक समृद्धिको अभियानमा हिँडाउनुपर्ने छ । सामाजिक, सांस्कृतिक र समाजमा भएका विकृति, विसंगतिका विरुद्धमा हिँडाउनुपर्छ । विकासको बाधकका रुपमा हामीसँग कुप्रथा छन् । युवाहरूमा विकृति बढेको छ । यी सबै खालका विषयलाई एउटा अभियान नै बनाएर हामीले रुपान्तरणको थालनी गर्नुपर्ने छ ।

खास भन्ने हो भने सरकारले चलाउने पार्टी होइन कि पार्टीले चलाउने सरकार बनाउनुपर्छ । भिजन पार्टीले दिएपछि सरकारले लागु गर्नसक्ने हुनुपर्छ । सरकारमा त सदस्यहरू जो गएपनि हुन्छ नि ! तर, पार्टीमा सरकारमार्फत लागु गर्न सक्ने भिजन हुनुपर्छ । त्यो खालको बनाउन सकियो भने कर्णालीमा माओवादी पार्टीले आफ्नो आधार खडा गर्न सक्छ ।

अर्को कुरा, माओवादी पार्टीले कर्णालीमा गर्न सकेन भने अरु पार्टीले सक्दैनन् । त्यस कारण माओवादीले यहाँको गरिबी अन्त्य गर्ने योजना बनाउनुपर्छ र आर्थिक समृद्धिको अभियानमा भिजन बनाएर जनयुद्धमा होमिएका युवाहरूलाई ‘ब्रिगेड’ अथवा डिभिजन बनाएर उत्पादनको विशेष अभियानमा लगाउनुपर्छ । अहिले उत्पादन त भइरहेकै छ तर त्यो पर्याप्त होइन । अहिले सरकारले जे कृषि क्षेत्रमा गरिरहेको छ, त्यसले किसानलाई पुग्दैन । म मन्त्री हुँदा पनि त्यसको केही अवधारणा सिर्जना गर्ने काम भएको छ । अब त्यो खालको विशेष योजना बनाएर आर्थिक समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरणलाई कर्णालीमा अभियान बनाएर जान्छौं ।

माओवादीसँग कर्णालीवासीको अपेक्षा

हाम्रा सहिद परिवार, घाइते, अपाङ्ग साथीहरू हुनुहुन्छ । पार्टी एकताबद्ध हुनुपर्‍यो । हिजोका सहयात्री बाबुराम, किरण, विप्लव, बादलहरू एक ठाउँमा आउन् भन्ने चाहना जनतामा छ । हिजोका सबै माओवादीहरू एकठाउँमा आउनुपर्छ भन्ने खालको चाहना सहिद परिवारहरूको छ । र, नयाँ तरिकाले माओवादीको स्वच्छ संरक्षण हुने खालको पार्टी निर्माण हुनुपर्‍यो । माओवादी पार्टी नेपालमा एकमात्र विकल्पको पार्टी हो है भन्ने जुन ढङ्गले हिजो स्थापित भएको थियो, आज त्यो कुरामा समस्या आएको छ । त्यो समस्या समाधान गर्नुपर्छ । पार्टीभित्रका विकृति र समस्याहरूलाई हटाई पार्टी एकबद्ध भई जनताको नेतृत्व गर्न सक्ने पार्टी बन्नुपर्छ भन्ने अपेक्षा कर्णालीका जनताले गरेका छन् । यिनै कुराहरू हामीले राष्ट्रिय सम्मेलनमा राख्छौँ । त्यो कुरा राष्ट्रिय सम्मेलनले समेट्दै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन संश्लेषण गर्नेछ । सोही अनुसार पार्टीको कार्यदिशा लागु गर्नेछ भन्ने अपेक्षा हामीले गरेका छौं ।

अझ, भन्नुपर्दा आधारभूत वर्ग भन्छु, जो माओवादीकै कारण आज यो ठाउँमा आइपुगेको छ । माओवादीकै कारण आज मानव हौं भन्न पाएको छ । यदि माओवादीले दलितमुक्ति, महिला मुक्ति र गरिबहरूको एजेण्डा उठाउँदैनथ्यो भने आज महिलाहरूले मानव भएर बाँच्नसक्ने अवस्था हुँदैनथ्यो । त्यो त माओवादीको कारणले भएको भन्ने कुरा त आज कर्णालीका जनताले बुझेकै छन् नि !

तर, माओवादी एजेन्डा ल्याउने र नेतृत्व अरुले लिने के तरिका हो ? तिम्रो नीति, अरुले लागु गर्ने ? बच्चा तिम्रो तर अरुलाई हुर्काउन दिने ? अरुले हुर्काएको बच्चा हुर्किन्छ कसरी ? भन्ने खालका प्रश्न हामीमाथि उठेका छन् । त्यसैले हामीले जन्माएको बच्चा हामी आफैले हुर्काउनुपर्छ । हामीले ल्याएको नीति, विचार हाम्रै नेताले लागु गर्नुपर्छ, त्यो ढङ्गले पार्टी बनाउनुस् भन्ने हाम्रो सुझाव हुन्छ ।

कर्णालीमा माओवादीको भूमिका

म अध्यक्ष भएपछि मैले एउटा संकल्प गरेकी छु– गुटको अन्त्य गर्ने । गुटले गर्दा नै पार्टी फुट्न गएको हो । कर्णालीमा गुटलाई प्रोत्साहित गराउने खालको बनाइँदैन । पार्टी बनाउने हो भने गुटलाई भत्काउनुपर्छ । पार्टी केन्द्रमा नेताहरूले गुटबन्दी गर्छन् भने पनि कर्णालीबाट गर्न दिँदैनौं भन्ने हाम्रो प्रतिवद्धता हुन्छ र, अहिले नेताहरू पनि एकताबद्ध भएर जानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।

दोस्रो कुरा, यहाँका घाइते, अपाङ्ग, सहिद परिवारहरूका लागि विशेष कार्यक्रम बनाउने योजना छ । घाइते साथीहरूको संरक्षण गर्नुपर्छ भन्ने कुरामा मेरो जोड छ । त्यसमा पार्टीको केन्द्रलाई पनि हामी सुझाव दिन्छौं । प्रदेशमा सरकार पनि छ, हामीले केही गर्न सक्छौं भन्ने छ ।

यस्तै, जनयुद्धमा योगदान पुर्‍याएकाहरूलाई संरक्षण गरिनुपर्छ । उनीहरूलाई सम्मान गर्ने खालको संस्कार बसाल्नुपर्छ । अहिले के छ भने पछाडिबाट आएकाहरूलाई सबै हामीले मात्र गर्‍यौं भन्ने खालको भ्रम छ । पृथ्वीनारायण शाहको ‘साना दुःखले आज्र्याको होइन’ भन्ने भनाइ छ नि ! जनयुद्धमा त्यत्रो त्याग, संघर्ष नगरेको भए माओवादी पार्टी भन्ने थिएन नि ? त्यसैले यो कुरातर्फ विशेष जोड दिने र नयाँ पुस्तालाई पनि समेट्दै लैजाने प्रयास हाम्रो छ । समावेशीताका आधारमा हामी जान्छौं, जुन एजेन्डा माओवादी पार्टीको हो । हाम्रा कारणले संविधान बन्यो, संविधान कार्यान्वयन गर्ने कुरामा हामी नै अग्रणी भएर लाग्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप