बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै शुक्लाफाँटा नगरपालिका

मङ्गलबार, ०६ पुस २०७८, ११ : २९
मङ्गलबार, ०६ पुस २०७८

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । सो नगरपालिकामा सडक विस्तार, स्तरोन्नतीको काम धमाधम भइरहेको छ । सडक विस्तार तथा स्तरोन्नति अन्तर्गत नगरपालिकाको १२ वटै वडामा ट्रयाक, ग्राभेल, पानी पिचजस्ता काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले रातोपाटीलाई जानकारी दिए ।

वडा नम्बर १२ का केही स्थानमा ग्राभेल हुन बाँकी रहेको र त्यसका लागि चालु आर्थिक वर्षमै केही बजेट छुट्याइसकेको उनले बताए । नगरपालिकाको साढे ३७ लाख र संघीय सरकारको साढे ३७ लाख रुपैयाँ बजेटमा वडा नम्बर १० मा पर्ने प्रगति टोलमा ५ सय  मिटर रिटेडिङ्ग वालसहितको पिच सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको छ भने सोअनुसार प्राप्त आवेदनको मूल्याङ्कन हुन बाँकी रहेको नगरपालिकाका इन्जिनियर लोकेन्द्रराज भट्टले जानकारी दिए ।

वडा नम्बर ८ का सबै सडकमा पानीपिचका लागि बजेट विनियोजन भइसकेको र वडा नम्बर १२ मा २१ सय मिटर कालोपत्रे निर्माणका लागि २० प्रतिशत उपभोक्ताको लगानी र ४२ लाख रुपैयाँ नगरपालिका र संघीय सरकारको बजेटमा काम हुन थालेको उनले बताए ।

उक्त क्षेत्रमा सडक निर्माण र कालोपत्रेको काम सम्पन्न हुनासाथ पर्यटकीय स्थल बतासे झरना र मडिका धाम जान सहज हुनेछ । इन्जिनियर भट्टका अनुसार शुक्लाफाँटा नगरपालिकामा ७० प्रतिशत सडकको स्तरोन्नति र विस्तारको काम भएको छ । वडा नम्बर १० मा ग्राभेल, ढल निर्माण, होमपाईप जडानका लागि ३४ लाख बराबरको ठेक्का आह्वान भइसकेको छ भने वडा नम्बर ९ मा १९ लाख रुपैयाँ ढल निकास, तार जाली र ग्राभेलका लागि बजेट छुट्याईएको छ ।

एशियाली विकाश बैंकको सहयोगमा शहरी विकास आयोजना अन्तर्गत करिब १२ मिटर चौडाइ सहितको २७ किलोमिटर सडक र नगरपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेको भट्टले बताए ।

फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईटको पनि ठेक्का आह्वान भईसकेको उनले बताए ।  गत आर्थिक वर्षमा मात्र नयाँ ट्रयाक सडक २ हजार १२९ मिटर, ग्राभेल सडक ३३ हजार २८४.१ मिटर निर्माण सम्पन्न भएको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख एवं इन्जिनियर दिपक धामीले जानकारी दिए ।

उनका अनुसार पानीपिच सडक १ हजार ७४३ मिटर, कालोपत्रे सडक ६४० मिटर, तटबन्ध १५७ मिटर निर्माण सम्पन्न भएको उनले बताए ।

त्यस्तै गत वर्ष खानेपानी आयोजना अन्तर्गत १० वटा आटीजन नल र १३ वटा डिपबोरिङ निर्माण भएका छन् । वडा नम्बर ४ मा १० शय्याको नगरअस्पताल वडा नम्बर २ र ९ को वडा कार्यालय भवन निर्माणका लागिसमेत सम्झौता भइसकेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप