शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सल्लाघारीबाट पर्यटकीय गन्तव्यमा रूपान्तरण भएको गुम्बाडाँडा

मङ्गलबार, ०६ पुस २०७८, १० : ०४
मङ्गलबार, ०६ पुस २०७८

मकवानपुर । मकवानपुरको आन्तरिक पर्यटकको रोजाइको क्षेत्र हो गुम्बाडाँडा । हेटौँडा बजारबाट पूर्वतर्फ करिब १५ किलोमिटरको दुरीमा रहेको गुम्बाडाँडाले छुट्टै इतिहास बोकेको स्थानीयहरू बताउँछन् ।

हेटौँडा बजारबाट करिब आधा घण्टा यात्रा गरेपछि पुगिने सो स्थानमा बस्ती थियो भने हाल पर्यटकीय स्थलको रूपमा विकास भइरहेको छ । हेटौँडा उपमहानगरपालिका—१८ मा रहेको हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडा मकवानपुरको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो ।

जङ्गल नजिक रहेको उक्त गुम्बाडाँडा अनेकौँ कला आकृतिका मूर्ति र विभिन्न प्रजातिका बिरुवा र फूलले सजिएको छ । पछिल्लो समय पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएका विभिन्न भौतिक पूर्वाधारले यसको झनै शोभा बढाएको छ ।

मौलिकता झल्काउने सामग्रीहरूको आकृति निर्माण गरी पर्यटकको रोजाइको क्षेत्रको रूपमा गुम्बाडाँडा विकास भइरहेको छ । ५.६७ हेक्टर क्षेत्रफलमा फैलिएको गुम्बाडाँडामा २०३४ सालसम्म अव्यवस्थित बस्ती थियो । नेपाल सरकारको निर्णय अनुसार सो क्षेत्रको बस्ती चितवनको केरुङमा स्थानान्तरण गरे पश्चात् भने यहाँ जङ्गल बन्न पुग्यो ।

बस्ती स्थानान्तरणपछि वनमा घाँस–दाउरा अनि गाईवस्तु चराउने स्थान बनिरहेको गुम्बाडाँडा २०४० सालमा हर्नामाडीका बासिन्दा र वन कार्यालयका प्रमुखको नेतृत्वमा संरक्षण तथा सम्वर्द्धनको पहल सुरु भयो ।

स्थानीयवासी र वन कार्यालयको पहलकदमीमा सो क्षेत्रको संरक्षणका लागि वृक्षरोपण कार्य सुरु गरियो । सो क्षेत्रमा तत्कालीन समयमा सल्ला र सिसौका बिरुवा रोप्ने र सरसफाइ गर्ने काम सुरुवात गरियो । त्यस पश्चात् सो डाँडाको नाम सल्लाघारीमा परिणत भयो ।

२०५२ सालमा सो क्षेत्रमा रिह्रो गुम्बा स्थापना भयो । बुद्ध धर्मावलम्वीहरुले सो क्षेत्रमा निर्माण भएको आश्रममा बसेर ज्ञान आर्जन गर्ने कार्यको सुरुवात भयो । हाल बौद्ध दर्शनसम्बन्धी शिक्षा लिएका १५ जना अनाथ बालक यहाँ बस्दै आएका छन् । उनीहरू बौद्ध दर्शनसम्बन्धी शिक्षा लिइरहेका छन् ।

२०६३ सालपछि तत्कालीन वन उपभोक्ता समितिको पहलमा पर्यटकीय स्थलको लागि संरक्षण समिति बनाएर काम भएको स्थानीयवासी बताउँछन् । उक्त समितिले सो क्षेत्रमा सल्लाघारी—पर्या पर्यटकीय पार्क स्थापनाको काम सुरु गरेको थियो ।

स्थानीयको साथ सहयोगमा सो क्षेत्रको विकास द्रुत रूपमा हुँदै गर्दा २०७३ सालमा भने हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडा नामकरण गरियो ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला

मूर्तिकलाको विकास र विस्तारकै लागि २०६९ सालमा हेटौँडा—१८, हर्नामाडीमा प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको थियो ।

यस कार्यशालाको आयोजना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, ‘आरम्भ’ समसामयिक मूर्तिकार समूह, पर्यापर्यटकीय पार्क हर्नामाडी र तत्कालीन जिल्ला विकास समिति मकवानपुरले मङ्सिर ११ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको थियो ।

कार्यशालामा जापानका सुगिमोतो जुनीचिरो, इटलीका बेटिनो फ्रान्सेली, कोरियाका सिम जुङ सु फ्रान्सकी लेतिचिया दी बजालरे ल्यू योङ चीनलगायत नेपालका १८ जना मूर्तिकारहरू सहभागी थिए ।

मूर्तिकला कार्यशाला स्थापना भईसकेपछि अहिले हर्नामाडीमा छुट्टै रौनक कायम छ । सो क्षेत्र अवलोकन गर्न आउने पर्यटकहरु प्रायः यहाँ कुदिएका मूर्ति हेर्नमै व्यस्त देखिन्छन् । हाल स्थानीय बासिन्दा तथा समाजसेवीहरु हर्नामाडीलाई नै आर्ट भिलेज बनाउनुपर्नेतर्फ केन्द्रित भएका छन् ।

गुम्बाडाँडामा बाघको आकर्षक पेन्टिङ देख्न सकिन्छ । १४ फिट लम्बाई र २ फिट चौडाईमा बनेको बाघको पेन्टिङ प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलको पहलमा भएको हो ।

आर्ट ग्यालरी हेटौँडा–६ का सुजन राईले आर्कषक पेन्टिङ गरेका हुन् । प्रयोगविहीन भईरहेको भित्तालाई सदुपयोग गरेर कलाले सजाएको उनले बताए ।

करोड लगानीमा २५ फिट अग्लो बुद्धको मूर्ति

गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मूर्ति स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौँडा पर्यटकीय गन्तव्यको रूपमा चिनिएको गुम्बाडाँडालाई थप परिचित बनाउनका लागि बुद्धको मूर्ति स्थापना भइसकेको छ ।

मूर्तिका लागि काठमाडौं महानगरपालिका–६ का सामाजिक व्यक्तित्वहरुले सहयोग गरेका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन तथा धर्म संस्कृतिको संरक्षण गर्न बुद्धको मूर्ति निर्माण गर्न लागिएको बुद्ध मूर्ति निर्माण समन्वय समितिका संयोजक कमल चन्द्र सुमनले जानकारी गराए ।

बुद्ध जन्मेको भूमि नेपालमा स्थापित मूर्तिहरुमध्ये धातुको सबैभन्दा अग्लो मूर्ति यहाँ स्थापित हुने कमलचन्द्र सुमनले जानकारी गराए ।

हर्नामाडी गुम्बाडाँडा अन्तर्राष्ट्रिय मूर्तिकलाले चर्चित रहेको कारण अझ यसलाई थप पर्यटकीय नगर बनाउन यसको स्थापना गर्न लागिएको र विश्व शान्ति र पर्यटकीय दृष्टिकोणले देशलाई चिनाउने उद्देश्य रहेको समितिले जानकारी दिएको छ ।

पहिचानको नाममा ठेकी

ठेकी भन्ने बित्तिकै अहिलेका नयाँ पुस्ता अनौठो मान्छन् । विस्तारै लोप हुने अवस्थामा पुगेको ठेकी संरक्षणका लागि हर्नामाडी कला प्रतिष्ठान गुम्बाडाँडाले पहल गरेको छ ।

मकवानपुर जिल्ला काठबाट बनेको परम्परागत नेपाली भाँडो ठेकीका लागि प्रख्यात जिल्ला हो । मकवानपुरको चिनारी भनेर चिनिने ठेकी दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ ।

पर्यटकलाई लोभ्याउने शैलीले ठेकी निर्माण गरिएको छ । संघीय तथा प्रदेश सरकारको बजेट अन्तर्गत करिब साँढे पाँच फिट उचाई र चार फिट चौडाईको ठेकी निर्माण भएको गुम्बाडाँडा पार्किङ निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठले जानकारी गराए ।

अहिले काठको ठेकीको लागि प्रख्यात मकवानपुरमै ठेकी पाउन छाडेपछि उपभोक्ता समितिले परम्परागत भाँडोको संरक्षणका लागि ठेकी निर्माण गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप