बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वैदेशिक व्यापार : ९१ रुपैयाँको आयात गर्दा नौ रुपैयाँको मात्र निर्यात !

मङ्गलबार, ०६ पुस २०७८, ०७ : ०८
मङ्गलबार, ०६ पुस २०७८

पछिल्लो पाँच आर्थिक वर्षमा नेपालले विदेशबाट ६० खर्ब ४८ रुपैयाँको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ को चार महिनासम्म उक्त मूल्य बराबरको वस्तु आयात भएको हो ।

तर, यस अवधिमा नेपालबाट निर्यात हुने वस्तुको सूची र मूल्य भने न्यून देखिएको छ । नेपालबाट यो अवधिमा जम्मा पाँच खर्ब रुपैयाँको मात्रै निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक हेर्दा नेपालले विदेशबाट सामान किन्ने दर उच्च छ । तर, नेपालबाट हुने निर्यात निकै न्यून छ ।

विदेशमा निर्यात हुने वस्तुको मूल्य र विदेशबाट आयात हुने वस्तुको मूल्यबीच आकाश–पातालको फरक रहेको पाइएको छ । यसको अर्थ ः नेपालले विदेशबाट ९१ रुपैयाँ बराबरको सामान किन्दा करिब ९ रुपैयाँ बराबरको सामानमात्र बेच्ने गरेको छ । पछिल्लो पाँच आर्थिक वर्षमा नेपालले गरेको आयात र निर्यात अनुपातले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार, आर्थिक वर्ष २०७४/७५ मा नेपालले १२ खर्ब ४५ अर्ब रुपैयाँको आयात गर्दा जम्मा ८१ अर्ब ३५ करोडको निर्यात गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्बको आयात गर्दा ९७ अर्ब १० करोडको निर्यात, आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्बको आयात गर्दा ९७ अर्ब ७० करोडको निर्यात भएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब बराबरको सामान आयात हुँदा एक खर्ब ४१ करोड रुपैयाँ बराबरको सामानमात्रै निर्यात भएको छ । चालू आर्थिक वर्षको चार महिनामा ६ खर्ब ५० अर्बको आयात हुँदा ८१ अर्ब रुपैयाँको सामान निर्यात भएको विभागले जानकारी दिएको छ ।

खरायो गतिमा आयात

यस अवधिको आयात–निर्यात तथ्यांक केलाउँदा एकपटक मात्रै नेपालको आयात ऋणात्मक बनेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आयात १५ प्रतिशतले खुम्चिनुबाहेक अन्य वर्षहरूमा उल्लेख्य बढेको छ । उक्त वर्षमा आयात १५ प्रतिशतले खुम्चेर ११ खर्ब ९६ अर्ब रुपैयाँमा झरेको थियो । अघिल्लो आवमा नेपालले विदेशबाट १४ खर्ब १८ अर्ब रुपैयाँको आयात गरेको थियो । चार आर्थिक वर्षभर १० खर्ब रुपैयाँभन्दा कमको आयात भएको देखिँदैन । जसमा हरेक वर्ष २८ प्रतिशतसम्म वृद्धि देखिन्छ ।

कछुवा चालमा निर्यात

नेपालमा आयात र निर्यातको तथ्यांक केलाउँदा पछिल्लो आवहरूमा निर्यात उल्लेख्य बढेको देखिन्छ । तर, नेपालको निर्यात परिणाम थोरै हुँदा निर्यात वृद्धिले वैदेशिक व्यापारमा ठूलो प्रभाव पारेको छैन । 

चार आवमा नेपालले गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै पहिलो पटक एक खर्ब रुपैयाँभन्दा बढीको निर्यात गर्न सकेको हो । यसअघिका वर्षहरूमा नेपालले ९७ अर्ब रुपैयाँसम्मको मात्रै निर्यात गरेको थियो । यद्यपी, चालू आवको ४ महिनामा नेपालको निर्यात वृद्धि १०४ प्रतिशत पुगेको छ । 

यही अनुपातमा वर्षैभरी निर्यात भइरहे दुई खर्ब रुपैयाँ आसपासमा निर्यात हुने देखिन्छ । तर, तीव्र गतिमा बढीरहेको आयात रोकेर अहिलेकै गतिमा हुने निर्यातले वैदेशिक व्यापारघाटाको खाडल पुर्ने स्थिति छैन ।

सरकारी नीति नै आयात र व्यापारमूखी

नेपालको आयात बढ्नु र सोही तुलनामा निर्यात नबढ्नुमा सरकारले लिएको आयात र व्यापारमूखी नीति नै मूख्य कारण देखिएको छ । नेपालले विदेशबाट आयात हुने वस्तुमा उच्च भन्सार शूल्क उठाउँदै त्यसैबाट सरकार चलाउँदै आएको छ ।

सरकारले गत आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा आयातबाट एक खर्ब १२ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ भन्सार महशुल उठाएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । जुन कूल संघीय राजस्वको अनुपातमा २२ प्रतिशत हो । अर्थात्, नेपाल सरकारले वार्षिक रूपमा उठाउने कूल राजस्वको २२ प्रतिशत राजस्व आयातबाटै असुल्दै आएको छ । 
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब एक अर्ब ३७ करोड ३१ लाख रुपैयाँ भन्सार महशुल उठेको थियो । यो, कूल संघीय राजस्वको २१ प्रतिशत हिस्सा हो ।

यसले नेपाल सरकारको मूख्य लक्ष्य नै भन्सार महसुल उठाउने र त्यसैबाट खर्च चलाउनेतर्फ केन्द्रित भएको देखिन्छ । वर्तमान अर्थमन्त्री जर्नादन शर्माले मन्त्रालय मातहतका निकायहरूलाई भन्सार महशुल र राजस्व बढाउन पटक–पटक निर्देशन नै दिँदै आएका छन् । 

व्यापार विज्ञ रविशंकर सैजु नेपालको नीति नै व्यापारमूखी भएकाले आयात बढेको बताउँछन् । उनले मेचीमा उत्पादित वस्तुलाई महाकाली पुर्याउनु र हिमालमा उत्पादित वस्तु तराई र तराईमा उत्पादित वस्तु हिमाल पुर्याउनुभन्दा विदेशबाट आयात गर्नु नै सस्तो परिरहेको रातोपाटीलाई बताए । जसकारण नेपालको अर्थतन्त्र नै आयात र व्यापारमूखी बनेको उनको भनाइ छ ।

उत्पादन उद्देश्यसहित स्थापना भएको धेरै व्यवसायीक घराना व्यापारतर्फ मोडिएका छन् । यसले पनि नेपाल उत्पादनलाई भन्दा व्यापारका लागि उर्वर भूमि बनिरहेको देखिन्छ । उत्पादनभन्दा व्यापारमैत्री नीतिनियम हुँदा उत्पादन खुम्चिँदै जाने र आयात तथा व्यापार बढ्दै जाँदा हरेक वर्ष मोटो रकम आयातमा बाहिरिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप