बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नोबेल कलेजमा अध्ययनरत विद्यार्थी आन्दोलित

सोमबार, ०५ पुस २०७८, २१ : २४
सोमबार, ०५ पुस २०७८

विराटनगर । चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी रकम लिएको भन्दै विराटनगरस्थित नोबेल कलेजमा अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन् ।

कलेजले अतिरिक्त शुल्कको नाममा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा झन्डै पाँच लाख बढी रकम मागेपछि विद्यार्थी आन्दोलित बनेका हुन् । चिकित्सा शिक्षा आयोगका अनुसार होस्टल शुल्कबाहेक कलेजले अन्य रकम लिन मिल्दैन ।

आयोगले काठमाडौं उपत्यकाबाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार रुपैयाँ तोकेको छ । आन्दोलनरत विद्यार्थीका अनुसार कलेजले आयोगले तोकेको भन्दा थप ४ लाख ८२ हजार रुपैयाँ शुल्क बुझाउन दबाब दिएको छ ।

कलेजले एमबीबीएसमा भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीप बापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार, होस्टल शुल्क १ लाख ४४ हजार बुझाउन दबाब दिएको विद्यार्थीहरुको भनाइ छ । अतिरिक्त शुल्क लिएको कागज भने आफूहरुलाई कलेजले नदिएको उनीहरु बताउँछन् ।

प्रवेश परीक्षामा उत्तिर्ण भएका विद्यार्थीले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको रकम जम्मा गरिसकेका छन् । त्यसपछि पनि कलेजले अतिरिक्त शुल्क माग गरेपछि  विद्यार्थी र अभिभावकले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई सोमबार ज्ञापनपत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी दाहालले अतिरिक्त शुल्कका विषयमा छलफल गरेर टुङ्ग्याउने बताए । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेकोभन्दा बढी शुल्क लिएको पाइएमा कारवाही गर्नेसमेत उनले बताए ।

केही दिन अघि विद्यार्थीहरुले प्रदेश १ को सामाजिक विकास मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा समेत यस सम्बन्धमा ज्ञापनपत्र बुझाएका थिए । तर ती मन्त्रालयले कुनै चासो नदेखाएपछि विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

विद्यार्थीका अनुसार नोबेलले साढे ५ वर्षको होस्टल शुल्क पनि भर्ना अगावै माग गरेको छ । मञ्जुरीनामामा होस्टलका लागि ७ लाख ३९ हजार ६ सय ५३ रुपैयाँ अग्रिम दिनुपर्ने उल्लेख छ । एमबीबीएस अध्ययन गर्दा होस्टल अनिवार्य बस्नु पर्दैन । नोबेलले होस्टल अनिवार्य गरेर ५ वर्षसम्मको शुल्क अग्रिम लिन लागेको हो । मेडिकल कलेज प्रशासनले भने विद्यार्थीको आन्दोलन र बढी शुल्कका बारेमा कुनै प्रतिक्रिया दिन चाहेन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप