आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तरलता संकुचन प्रभाव – बैंकले एलसी खोल्नै छाडे

सोमबार, ०५ पुस २०७८, १६ : ४४
सोमबार, ०५ पुस २०७८

तरलता अभाव चर्किँदै गएपछि उद्योगी÷व्यवसायीले प्रतीतपत्र (एलसी) खोल्ने पैसा पाउनै छाडेका छन् । बजारमा लगानीयोग्य पूँजी अभाव बढ्दै गएपछि बैंकहरूले आयातकर्तालाई एलसी प्रत्याभूत गराउनै छाडेका हुन् । बैंकहरूले एलसी ग्यारेन्टी नगरी आयातकर्ताले विदेशबाट आयात गर्नै पाउँदैनन् ।

बैंकहरूले वस्तु आयात गर्दा खोलिने एलसीका लागि रकम छुट्याउन छाडेपछि पूर्वका उद्योगीहरूले विरोध नै गरेका छन् । नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पछिल्लो समय एलसी खोल्न पूर्ण रूपमा बन्द रहेको बताए । आयातका लागि एलसी खोल्न नपाएपछि मुलुकको व्यापार नै ठप्प हुने स्थिती आउँछ । यसका साथै, उपभोग्य वस्तुको अभाव, आपूर्तिमा समस्या आउनुका साथै उत्पादनमूलक उद्योगमा कच्चा पदार्थको अभाव भइ कारखाना नै बन्द हुने स्थिति आउँछ ।

यस्तै, सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले पनि बैंकहरूले एलसी खोल्न रकम नदिने गरेको बताए । उनले रातोपाटीलाई भने, ‘पैसा नभएको निहुँमा एलसी नखोलिदिँदा उत्पादनमूलक उद्योगको कच्चा पदार्थ आयातमा समस्या परिरहेको छ ।’ एलसी खोल्न नपाउँदा निर्माण सामग्री उत्पादनमा समेत असर पर्ने उनको भनाइ छ । एलसी खोल्न नपाएपछि डण्डी, सिमेन्ट, इँटा लगायत वस्तु उत्पादन लागत बढ्ने भएकाले मूल्य पनि बढ्नसक्ने न्यौपानेले बताए ।

अर्कातर्फ, मौद्रिक नीतिको पहिलो त्रैमास समीक्षामार्फत नेपाल राष्ट्र बैंकले आयात घटाउन कोटा तोकेकाले पनि बैंकहरुले मागबमोजिम एलसी जारी गर्न नमानेका हुन् ।
के हो एलसी ?
प्रतीतपत्र (एलसी) भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता)को अनुरोधमा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यो प्रक्रिया अन्तर्राष्ट्रिय कारोबारमा अपनाइन्छ । जसबाट, आयातकर्ता÷निर्यातकर्ताले कारोबारको भुक्तानी पाउने विश्वसनीयता प्रत्याभूत हुन्छ । यसमा आयातकर्ताले विदेशबाट सामान खरिद गर्न विदेशी निर्यातकर्तालाई अनुरोध गर्छ ।

सामान खरिद गर्न आयातकर्ता देशको बैंक जमानत चाहिन्छ । आयातकर्ता देशको बैंकले निर्यातकर्ता देशको बैंकलाई रकम भुक्तानी हुने ग्यारेन्टी गर्ने प्रक्रियालाई नै लेटर अफ केडिट (एलसी) भनिन्छ । यता, सामान आइसकेपछि पैसा भुक्तानी गर्न आयातकर्ताको बैंक बाध्य हुन्छ भने नमूनामा देखाइएको गुणस्तरअनुसार सामान पाउने ग्यारेन्टी निर्यातकर्ताको बैंकले प्रत्याभूत गरेको हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप