बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बैतडीका बालबालिकालाई विद्यालयमै खोप

सोमबार, ०५ पुस २०७८, १६ : ४०
सोमबार, ०५ पुस २०७८

मङ्गलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार  बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिप्रसाद भट्टले जानकारी दिए ।  

यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आगामी पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो । बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२ बालबालिका रहेका र उनीहरुलाई  विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने भएको हो । जिल्लाभरी २५९ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेसप्रसाद भट्टले जानकारी दिनुभयो । पुस ६ गते सुरु हुने उक्त अभियान पुस ११ गते सम्पन्न हुने जनाइएको छ ।  
जिल्लाको पुर्चौडी नगरपालिका, सिगास र डिलाशैनी गाउँपालिकाका विद्यालयमा पुस ६ देखि ८ सम्म, दशरथचन्द, पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर गाउँपालिकामा पुस ७ देखि ९, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० र सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । अहिलेसम्म बैतडीमा ७५ हजार बढीले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् । यस्तै  खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ जनाले लगाएका छन् । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप