शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीले गर्छिन् आत्महत्या, कारण के ?

सोमबार, ०५ पुस २०७८, १२ : ५४
सोमबार, ०५ पुस २०७८

भारतमा अघिल्लो वर्ष २२,३७२ गृहिणीले आत्महत्या गरेको राष्ट्रिय अपराध रिकर्ड विभाग (एनसीआरबी) ले हालै एक  तथ्यांक सार्वजनिक गर्दै जानकारी दिएको छ ।  यस अनुसार प्रत्येक दिन ६१ र प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गरेका छन् ।

भारतमा सन् २०२० मा भएको कुल १ लाख ५३ हजार ५२ आत्महत्यामा गृहिणीको संख्या १४.६ प्रतिशत रहेको छ । यसमा आत्महत्या गर्ने महिलाको संख्या ५० प्रतिशत भन्दा पनि बढी छ ।

यो स्थिती गत वर्षको मात्रै होइन । सन् १९९७ मा जब एनसीआरबीले पेशाको आधारमा आत्महत्याको आँकडा एकत्रित गर्न सुरु गर्यो त्यसयता प्रत्येक वर्ष गृहिणीको आत्महत्याको आँकडा सार्वजनिक भइरहेका छन् । सन्  २००९ मा यो आँकडा २५ हजार ९२ सम्म पुगेको थियो ।

आत्महत्याको लागि पारिवारिक समस्या वा विवाहसँग जोडिएको विषय जिम्मेवार भएको रिपोर्टमा उल्लेख छ । तर गृहिणीले आत्महत्या रोज्नुको कारण के होला ?

घरेलु हिंसा झेल्ने महिलाः

मानसिक स्वास्थ्य विशेषज्ञका अनुसार यसको एउटा प्रमुख कारण घरेलु हिंसा पनि हो । हालै भएको एक सरकारी सर्वेक्षणमा ३० प्रतिशत महिलाले आफूमाथि घरेलु हिंसा हुने गरेको बताएका थिए । दैनिकका यी समस्याले विवाहलाई दमनकारी बनाउँछ र घरमा महिलाको सास रोकिन्छ ।

वाराणसीमा क्लिनिकल साइकोलोजिस्ट डाक्टर उषा वर्मा श्रीवास्तव भन्छिन्, ‘महिला असाध्यै सहनशील हुन्छन् तर सहनुको पनि एउटा सीमा हुन्छ ।’

‘१८ वर्ष लाग्ने बित्तिकै धेरैजसो युवतीको विवाह हुनेगर्छ । उनीहरु श्रीमती र बुहारी बन्ने गर्छन् र दिनभरी घरमा खाना बनाउने, सर–सफाई गर्ने र अन्य काम गरेर आफ्नो दिन बिताउने गर्छन् । उनीहरुमाथि विभिन्न प्रकारको प्रतिबन्ध लागेको हुन्छ, उनीहरुलाई निकै कम स्वतन्त्रता दिइएको हुन्छ र आफ्ना लागि उनीहरुले कहिलेकाँही मात्रै पैसा पाउँछन् ।’

उनी भन्छिन्, ‘उनीहरुको शिक्षा र सपनाको कुनै महत्व हुँदैन र उनीहरुको महत्वाकांक्षा क्रमशः कम हुन थाल्छन् र उनीहरुमा निराशा छाउने गर्छ । उनीहरुको अस्तित्व नै प्रताडना बन्ने गर्छ ।’

डाक्टर उषा वर्मा भन्छिन्, ‘वृद्ध महिलामा आत्महत्याको कारण भिन्न हुन्छ ।’

उनले भनिन्, ‘थुप्रै महिलाले एक्लोपनको सामना गर्छन् । उनीहरुका बालबच्चा ठूला हुन्छन् र घरबाट बाहिर जान्छन् । कतिले रजनोवृत्ति अघिको लक्षणको सामना गर्छन् जसका कारण अवसाद र उदासी छाउने गर्छ ।’

डाक्टरका अनुसार आत्महत्यालाई निकै सजिलै रोक्न सकिन्छ र यदि तपाईंले कसैलाई एक सेकेन्डका लागि मात्रै पनि रोक्नुहुन्छ भने आत्महत्या रोकिन सक्छ ।

मनोचिकित्सक सौमित्र पठारे यसलाई सम्झाउँदै भन्छन्, ‘धेरैजसो आत्महत्या आवेशमा हुन्छ । श्रीमान् घर आउँछन्, श्रीमतीलाई कुट्छन् र त्यसपछि उनले आफ्नो ज्यान लिन्छिन् ।’

डाक्टर सौमित्र भन्छन्, ‘स्वतन्त्र अनुसन्धानका अनुसार आत्महत्या गर्ने एक तिहाई भारतीय महिलाले घरेलु हिंसा झेलिसकेका हुन्छन् तर एनसीआरबीको आँकडामा घरेलु हिंसाको कुरा गरेकै छैन ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप