बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

हुम्लामा अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता, डीआईजी भन्छन्– खोज्दैछौं

सोमबार, ०५ पुस २०७८, १२ : ५३
सोमबार, ०५ पुस २०७८

हुम्लाको सर्केगाड गाउँपालिका–१, जैरको नात्ता गाउँका चन्द्रे कामी बेपत्ता भएका छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रु घर भएकी सुन्तली मल्लसँग विवाह गरेका चन्द्रेलाई बेहुली पक्षका परिवारले अपहरण गरेर बेपत्ता बनाएको बेहुला पक्षका परिवारको आरोप छ ।

पीडित परिवारका अनुसार मंसिर २९ मा मध्यराति केही युवाले चन्द्रे कामी लगायतलाई कुटपिट गरेका थिए । कुटपिट गरेर सुन्तलीलाई उनीहरुले फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर लगेको बताइएको छ । ती युवक सुन्तलीकै माइती पक्षका भएको पीडित परिवारको दाबी छ ।

नेपाल दलित मुक्ति मोर्चाको कर्णाली प्रदेश संयोजक ललितकुमार सुनारले पनि माइती पक्षबाछै आएका युवाले चन्द्रेलाई कुटपिट गर्नुका साथै आफूसँगै लिएर गएको विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिमा चन्द्रे कामी बेपत्ता भएको घटनालाई गम्भीर रुपमा लिन र खोजी कार्य तीब्र बनाउन, उक्त घटनामा संलग्न दोषीहरुको पहिचान गरी हदैसम्मको कारबाही गर्न र गराउन पनि नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

चन्द्रेले सुन्तलीसँग केही महिनाअघि अन्तरजातीय विवाह गरेका थिए । अन्तरजातीय विवाहकै कारण चन्द्रेलाई बेपत्ता बनाइएको पीडित परिवारको दाबी छ ।

बेपत्ता चन्द्रेको खोजी गर्न हुम्लाका डिएसपी हेरम्ब शर्माको नेतृत्वमा ३० जना प्रहरी घटनास्थलमा पुगेका छन् । बेपत्ता युवकको खोजी भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआईजी गणेश बहादुर ऐरले रातोपाटीलाई बताए । उनले भने, ‘बेपत्ता युवकसँग विवाह गरेकी बेहुली र उनको बुबा पनि सर्केगाड पुगेका छन्, खोज्ने काम हुँदैछ ।’

हुम्ला सदरमुकामबाट घटनास्थलमा पुग्न दुई दिन लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप