आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

कसैलाई खोप नपाएर चिन्ता, नेपाललाई धेरै आएर

भण्डारणमा समस्या भएपछि आउने खोपलाई पछि धकेल्न बाध्य
सोमबार, ०५ पुस २०७८, ०६ : ४७
सोमबार, ०५ पुस २०७८

नेपालमा कोरोनाभाइरस (कोभिड–१९)विरुद्धको खोप धमाधम आउन थालेपछि भण्डारमा समस्या भएको छ । व्यवस्थापन शाखाले खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखेपछि २० डिसेम्बर अर्थात् पुस ५ गते नेपाल आइपुग्ने १८ लाख ७० हजार ५०० मात्रा खोपलाई पोस्पोण्ड अर्थात् खोप आइपुग्ने समयलाई धकेलेको छ । 

पुस ५ गते नै भेरोसेल खोप १२ लाख १ हजार ८ सय ८७ भाइल आउने पहिला नै निश्चित भएकाले र त्यही दिनै कोभिशिल्ड खोप पनि आइपुग्ने भएकाले दुवै खोपलाई एकै दिनमा भण्डारण गर्न समस्या भएपछि कोभिशिल्ड खोप ल्याउने समयलाई धकेलिएको व्यवस्थापन महाशाखाले स्रोतले जनाएको हो ।  

यता स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोभिशिल्डभन्दा अघि भेरोसेल खोप आयातको मिति टुङ्गो लागेकाले कोभिशिल्डको खोप आउने मितिलाई केही समय पछि सारिएको बताए । ‘हामीले पहिला कन्फर्म गरेको भेरोसेल खोपलाई पहिला ल्याउँछौँ भनेर पत्राचार गरेका छौँ,’  उनले भने । हालसम्म खोप भण्डारणमा कुनै समस्या नभएको उनले बताए । 

व्यवस्थापन महाशाखाले खोप भण्डारणमा खासै समस्या छैन भनिरहँदा पुस ७ गते पनि ११ लाख ८४ हजार ९ सय १३ भेरोसेल खोप नेपाल आइपुग्ने कन्फर्म  भएको थियो । तर, नेपालले पुस ५ गते १८ लाख ७० हजार ५०० मात्रा आउने भएकाले र पुस ७ गते आउने निश्चित भएको खोपको मिति पछि सार्नका लागि प्रस्ताव गरेको व्यवस्थापन महाशाखाका एक अधिकारीले बताए । यस्तै पुस ७ गते नेपाल आइपुग्ने भनिएको भेरोसेल ११ लाख ८४ हजार ९ सय १३ मात्रा जनावरीको दोस्रो हप्तामा पठाउन प्रस्ताव गरिएको छ । 

यस्तै, नेपालले कोभिशिल्ड खोपलाई ७ गते पठाउनका लागि पत्राचार गरिएकोमा पछि २८ गतेलाई सार्न प्रस्ताव गरिएको छ । फाइजर खोप २३ र २४ तारिकमा नेपाल आइपुग्ने भनिएको थियो । तर, कार्गोले २३ र २४ तरिकमा बिदा पर्ने भएकाले अप्ठेरो हुने जनाएपछि २३ तारिखको बिहानको पहिलो फाइटमा पठाउन नेपालले आग्रह गरेको थियो । तर, उताबाट पुनः २७ तारिखमा फाइजर खोप पठाउने प्रस्ताव आयो । तर, नेपालले यसअघि नै २७ तारिखमा अन्य ठाउँबाट खोप ल्याउने तालिका बनाएकाले  अब २९ तारिकमा मात्रै ६ लाख ६४ हजार फाइजर खोप पठाइदिन प्रस्ताव गरेको छ । 

प्रदेश र केन्द्रमा खोप भण्डारण क्षमता कति ?

सरकारले गत्त वर्ष कोरोना विरुद्धको कोभिशिल्ड खोप भण्डारणका लागि १२ हजार लिटर क्षमताको दुई वटा कोल्ड रुम तयार पारेको थियो । नेपालले भारत सरकारसँग खरिद सम्झौता गरेको कोभिशिल्ड खोप समेत आएनन् । गत्त माघमा सबैभन्दा पहिला भारतबाट कोभिशिल्ड खोप अनुदानमा १० मात्रा आएकाले भारतबाटै खरिद गरेर अन्य खोप ल्याउने आशामा एक करोड मात्रा कोभिशिल्ड खोप भण्डारण केन्द्र बनाए पनि सम्झौता अनुसारको खोप आएनन् । केही समयपछि धमाधम चीनबाट भेरोसेल खोप अनुदान र खरिदमा आउन थाल्यो । 

कोभिशिल्ड खोपले २.१ क्युवीसिएम पर डोज अकुपाइ गर्छ अर्थात् ठाउँ ओगट्छ । भेरोसेल खोपले भने ३९ क्युबीसिएम पर डोज अर्थात् ठाउँ ओगट्छ । कोभिशिल्ड खोपभन्दा भेरोसेल खोपले पर डोज १७/१८ गुणाले ठाउँ ओगट्ने गर्छ । चीनबाट धमाधम खोप आउन थालेपछि त्रिभुवन विमानस्थलको विमानस्थलमा रहेको कोल्ड रुमलाई सरकारले प्रयोग गरेको थियो ।

यस्तै, जोन्सन एण्ड जोन्सन, मोडर्ना खोपको पर जोड ४.३ क्युबीसिएम अर्थात् ठाउँ ओगट्छ । यस्तै केन्द्रमा नियमित खोपका लागि ३३ हजार लिटरको कोल्ड रुम समेत रहेको उनले बताए ।

कोरोनाविरुद्धको खोपको लागि विराटनगरमा साढे २ हजार लिटरको कोल्ड रुम छुट्याइएको छ । विराटनगरमा भएको खोप भण्डार केन्द्रले अपुग भएपछि पथलैयामा रहेको ४ हजार लिटरको कोल्ड रूप प्रयोग गरिएको व्यवस्थापन महाशाखाका प्रमुख थापाले बताए । 

विराटनगरमा तीन दिनअघि स्थापना भएको भण्डारण केन्द्रमा १० हजार लिटर नियमित खोप, १० हजार लिटर कोरोना खोपको लागि छुट्याइएको उनले बताए । 

यस्तै, पथलैयामा खोप भण्डारणका लागि तीनवटा कोल्ड रुम छन् । जसको क्षमता १२ हजार लिटरको छ ।  दुई नम्बर प्रदेशका लागि चाहिने खोप पथलैयामा राखिएको छ  । यस्तै पथलैयामै रहेको ४ हजार लिटरको कोल्ड रुममा हेटैँडाले कोरोना विरुद्धको खोप भण्डारण गरेको छ । 

पोखरामा ४ हजार लिटरको कोल्ड रुममा कोरोनाविरुद्धको खोप भण्डारण गरिएको छ । यस्तै,  बुटवलमा पनि ४ हजार लिटरकै कोल्ड रुम रहेको छ । नेपालगञ्जमा ४ हजार लिटर क्षमताको कोल्ड रूम छ भने धनगढीमा ३ हजारको लिटरको कोभिड खोपकै लागि कोल्ड रूम छुटयाइएको व्यवस्थापन शाखा प्रमुख थापाले बताए । काठमाडौँमा अबको ४/५ दिनमा २२ देखि २४ हजार लिटर क्षमताको खोप भण्डारण केन्द्र निर्माणकार्य सम्पन्न हुने उनले बताए ।

ट्रान्सपोर्ट गर्ने कन्टेनरमा खोप भण्डारण ?

टेकु खोप भण्डारण केन्द्र नजिकै खोप ट्रान्सपोर्ट अर्थात् ओसारपसार गर्ने कन्टेनरमा कोरोनाविरुद्धको खोप राखिएको छ । खोप ओसारपसार गर्ने उद्देश्यले सो २० हजार लिटर क्षमताको कन्टेनरमा पनि खोप भण्डारण गरिएको छ । सो खोप भण्डारण गरिएको कन्टेनरलाई सबै बाटोमा गुडाउन असहज भएकाले खोप भण्डारण गरिएको व्यवस्थापन शाखाले जनाएको छ । हाल त्यसमा विद्युत् जडान गरेर  कोरोनाविरुद्धको खोप राखिएको छ । 

 सरकारसँग कति खोप स्टक छ ?

कोरोनाविरुद्धको खोप केन्द्रको खोप भण्डारणमा करिब ६५ लाख स्टक छ । यस्तै प्रदेश र केन्द्रमा गरी एक करोड एक लाख ५० हजार मात्रा स्टक रहेको व्यवस्थापन शाखाले जनाएको छ । नेपालमा हालसम्म भेरोसेल, कोभिशिल्ड, फाइजर, मोडर्ना, जोन्सोन एण्ड जोन्सोन एस्ट्राजेनेका खोप गरी ३ करोड ५४ लाख ६६ हजार ९ सय ३८ मात्रा खोप आइपुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप