शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुलीमा सवारी दुर्घटना बढ्दै, पाँच महिनामा १३ जनाको मृत्यु

आइतबार, ०४ पुस २०७८, १८ : ००
आइतबार, ०४ पुस २०७८

गत २८ मंसिरमा सिन्धुलीमा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भयो । विपी राजमार्गस्थित सुनकोशी गाउँपालिका–१ दुम्जामा रामेछापबाट काठमाडौँ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका १३ फुलासीका ३५ वर्षीय रोशन बर्देवाको मृत्यु भयो । सोही दिन जिल्लामा ट्याक्टरले पैदल यात्री एक महिलालाई ठक्कर दिँदा महिलाको मृत्यु भयो ।

तिनपाटन गाउँपालिका–५ तल्लो पचरंगस्थित ग्रामीण कच्ची सडकखण्डमा चकमकेबाट शाखामाडी तर्फ जाँदै गरेको लु.अ.अ.भ.१७४८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदल यात्री तिनपाटन–११ परासे की ३३ वर्षीया सरिता मगराती उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

गत ७ मंसिरमा विपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भयो । कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा चालक बागलुङको साविक दलिन गाविस–९ निवासी दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सिन्धुलीमा हाल सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष ०७८–७९ को साउनदेखि मंसिर अन्तिमसम्म १३ जनाको मृत्यु भएको छ ।

साउनदेखि यता ११५ वटा दुर्घटना हुदा १३ जनाको ज्यान गएको छ भने ५६ जना गम्भीर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए । उनका अनुसार साउन, भदौ, असोज, कात्तिक र मंसिरमा १० जना पुरुष र तीन जना महिलाको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

सबैभन्दा बढी मंसिर महिनामा दुर्घटनामा परि धेरैको मृत्यु भएको छ । मंसिर महिनामा मात्र चारजना पुरुष र एक जना महिलाको सवारी दुर्घटनामा मृत्यु भएको हो । पाँच महिनाको अवधिमै ३६ जना पुरुष, १६ जना महिला, तीन बालक र एक बालिका गम्भीर घाइते भएका छन् ।  

यस्तै सोही अवधिमा सवारी दुर्घटनामा परि १४७ जना सामान्य घाइते भएका छन् । सवारी दुर्घटना बढ्नुमा तीव्र गति, सडक साँघुरो हुनु, चालकको लापरबाही, सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्नु, ट्राफिक नियम पालना नगर्नु, घुमाउरो सडक जस्ता कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमखु क्षेत्रीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनिकरण गर्नका लागि चेकजाँचमा कडा साथै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप