शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दोलखामा योमरी पुन्हीः देउसी, भैलो र चङ्गा

आइतबार, ०४ पुस २०७८, १६ : ५८
आइतबार, ०४ पुस २०७८

यस वर्ष योमरी पुन्ही पुस ४ गते परेको छ । आम रुपमा नेपालीहरु तिहारमा देउसी, भैलो  खेल्छन् । अनि दसैंको छेकोमा चङ्गा उडाउँछन् । तर दोलखाका नेवारहरुले भने प्रायः मङ्सिरमा पर्ने योमरी पुन्हीका अवसरमा देउसी, भैलो खेल्छन् र चङ्गा उडाउँछन् ।

योमरी पुन्हीलाई दोलखाली नेवार भाषामा ‘देउचामारी पुनिश’ पनि भनिन्छ । पुन्ही र पुनिस दुबैको अर्थ पूर्णे हो भने योमरीको अर्थ मनपर्ने रोटी तथा देउचामारीको अर्थ देउता रोटी हो । चामलको पिठोलाई विभिन्न देवदेवीको मूर्ति बनाएर पूजा गरिने भएकोले दोलखामा देउचामारी भनेको हुनुपर्छ । 

काठमाडौंतिर केटाकेटीले ‘बिउम ल्यासी, मबिउम बुढी’ अर्थात् दिने जति तरुनी, नदिनेहरु बुढी भन्ने गीत गाउँदै पूर्णेको दिन योमरी माँग्छन् । दोलखामा भने देउसीभैलो ठिला पुनिश अर्थात् धन्यपूर्णेको दिनदेखि २/३ दिन देउसी भैलो खेल्ने परम्परा छ । तिहारमा देउसी, भैलोमा माँगेझै यसबेला गीत भट्ट्याइन्छ । मूल गीत ‘हे पूर्णे चाड, धन्य पूर्णे भैलो’ भट्ट्याउँदै देउसीभैलो खेल्दै माँगिन्छ । दोलखा भाषामा बेग्लै गीत भएजस्तो लाग्दैन ।

स्कूले भैलो
हामी स्कुल पढ्दा प्रत्येक बर्ष योमरी पुन्हीका अवसरमा स्कुलबाट नै देउसीभैलो खेल्न जान्थ्यौं । स्कुलले उठेको रकम श्रीपन्चमीको बनभोज जानलाई राख्थ्यो । उसबेला धानबाली नै प्रमुख आयस्रोत भएको र भर्खरै भकारीमा धान भरी राख्ने भएकोले देउसीभैलोमा माँग्नेहरुलाई धेरैजसोले धान नै दिने चलन थियो । साथै देउचामारी, फलफूल, सेलरोटी र नगद पनि दिन्थे । 

२०२२ सालमा म १० कक्षा पढ्दा स्कूलले योमरी पुन्हीमा देउसीभैलो खेल्ने अनुमति दिएन । त्यस वर्ष म र ९ कक्षाको मिल्ने साथी कनकलाल श्रेष्ठसंग मिलेर एक समूह बनाई देउसीभैलो खेल्यौं । पछि हेडसर गजेन्द्र धौभडेलले थाहा पाएर स्कुलकै आयोजना हो भनेर संकलित सबै नगदी, जिन्सी लिएर हामीलाई हिस्स बुढी खिस्स दाँत बनाइ दिनु भएको थियो । 

योमरी पुन्ही अगावै भर्खरै धान बाली भित्र्याएकोले अधिकांश किसान परिवारको मुहार उज्यालो हुन्छ । नयाँ धानको पिठो पिसेर देउचामारी बनाउनुको अलावा लक्ष्मी, गणेश, कुबेर आदि देवीदेवताहरु बनाइन्छ । केटाकेटीहरुको रमाइलोको लागि बोका, भेंडा, घोडा, हात्तीलगायत जनावर पनि बनाइन्छ । यी जनावरलाई घाँटीमा धागोले बाँधेर तान्दै खेलाउँछन् । देउचामारी पूर्णेको अघिल्लो रात नै तयार गरिन्छ । पूर्णेको दिन त बिहानै महादेव भएर जोगीले डमरु बजाउँदै देउचामारी माग्न आउँछन् । पूर्णेको राती देवतालाई देउचामारीसङ्गै धानको भकारी र धान थन्काउने कुठीमा राखेर पूजा गरिन्छ । 

तल्सिङसंग जानेलाई भाग
मोहीहरुसंग खेतमा धान बाँड्न जाँदा दुई पाथी धान तल्सिङसंग साथी भएर जानेलाई दिने चलन छ, जसलाई खालाभाग भनिन्छ । यो खालाभागको चामलको पिठो पिसेर आफूलाई मनपर्ने चिज बनाउन पाइने भएकोले धान बाँड्न जाने भनेपछि खुशी भएर केटाकेटीहरु साथी जान्छन् । म पनि असाध्यै खुशी भएर आमाको लागि टाढाको जिलुसम्म पनि र मुक्ति फूपूसंग राम्पाको उत्तरी छेउसम्म पनि साथी जान्थे ।    

उसबेला दोलखा सहरका अधिकांश किसान कृषिमा आश्रित थिए । कृषि उपज खाद्यान्नको स्रोत मात्र नभएर नुन, खुर्सानी, तेल, मसला आदि किन्न र आफ्नो तथा बालबच्चाको लागि कपड़ा किन्ने र चाडपर्व मनाउने आधार पनि थियो । त्यसैले कुनै साल असिना परेर धानबाली सखाप भयो भने किसान परिवारको रुवाबासी नै हुन्थ्यो । किसानहरुको अन्धविश्वासको फाइदा उठाउँदै चोथाङ तिरका लामाहरु असिना रोकेको भनेर बाली उठाउन आउँथे । बेला नकुबेला चङ्गा उडायो भने असिना पर्छ भन्ने अन्धविश्वास थियो । 

त्यसैले, योमरी पुन्हीपछि अरु बेला चङ्गा उडाउन निषेध थियो । एक साल हामीले दसैंमा नाटक देखाएसंगै चङ्गा पनि उडाएका थियौं । सोही रात असिना परेकाले निकै गाली खानु परेको थियो । यसरी दोलखामा ठिलापुनिस अर्थात् धन्य पूर्णिमापछि मात्र चङ्गा उडाउने गरिन्छ । ठिलापुनिससम्म प्रायः सबैको खेतको धान काटी भित्र्याइ सकिएको हुन्छ । त्यसैले चङ्गा उडाउने याम दोलखामा अरु ठाउँभन्दा फरक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप