शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पार्टी ‘चेन्ज’ गरेपछि मेयरबाट विभेद

आइतबार, ०४ पुस २०७८, १६ : ५३
आइतबार, ०४ पुस २०७८

-रत्ना कडायत

म अहिले कैलालीको गोदावरी नगरपालिका उपप्रमुख छु । नेकपा एमाले विभाजन भएपछि म हाल एकीकृत समाजवादीमा आवद्ध छु भने नगरप्रमुख हरिसिंह साउद नेकपा एमालेमै हुनुहुन्छ । पहिले पार्र्टी एक हुँदा नगर प्रमुखले कुनै हस्तक्षेप गर्नु हुन्थेन । जब पार्टी फुट्यो, तब उहाँले पालिकाको सबै काम आफै एक्लै गर्न खोज्ने, हस्तक्षेप गर्न थाल्नु भयो ।

म जितेर आएको नगर उपप्रमुख हुँ । जनप्रतिनिधि हुनुअघि सामाजिक संघ संस्थामा काम गरेको अनुभव पनि छ मसँग । काम गर्ने क्षमता पनि राख्छु तर नगर प्रमुखको हस्तक्षेपले अहिले बिचैमा काममा ‘ब्रेक’ लागेको छ ।  जबकि हाम्रो अवधि अब धेरै बाँकी छैन । पालिकालाई अगाडि बढाउने सवालमा सबै दलसँगै हातेमालो गरेर विकास निर्माणको काम गर्न सकिन्थ्यो । तर मेयरज्यूकोे हस्तक्षेपले मेरो सोच अपुरो हुने भयो भन्ने लागेको छ ।

काम गर्न कठिन

पालिकालाई विधिसम्मत ढंगले चलाउनु पर्छ भन्ने कुरा सोचेकी थिएँ ।  तर गोदावरी नगरपालिकामा काम गर्न अहिले कठिन छ । विगतमा लामो समय  कर्मचारीहरुले स्थानीय निकाय चलाइरहेका थिए । देश संघीयतामा गइसकेपछि  विधि त हामीले बसालीदिने हो नि ! कर्मचारीले यो गरेन, त्यो गरेन भन्दा पनि जनप्रतिनिधिका रुपमा के गरियो भन्ने मुख्य विषय हो ।  मेरो अनुभवमा जनप्रतिनिधिहरु यदि तीब्र गतिमा काम गर्न सक्छन् भने  राष्ट्रसेवक कर्मचारीले पनि त्यही गतिमा काम गर्न सक्छन् । मेरो कार्यकालमा यो ठूलो सिकाई भएको छ ।

उपमेयरको हैसियतले म न्यायिक समिति, राजश्व परामर्श समिति, अपाङ्ग परिचयपत्र वितरण गर्ने समिति, उपभोक्ता हकहित संरक्षण र योजना अनुगमन समितिको संयोजकलगायत विभिन्न संघसंस्थासँग संयोजन गर्ने जिम्मेवारी मेरो हो । तर समग्र रुपमा सबै कुरा मैले गर्नुपर्छ भन्ने सोच अहिले नगरप्रमुखलाई छ । हरेक योजना र विकास निर्माणको काममा समेत यसले बाधा पुगिरहेको छ ।

मेयर र उपमेयरको बीचमा द्वन्द्व छ भन्ने हल्लाले राम्रो सन्देश जाँदैन । तर न्यायिक समितिको संयोजक रहेको म आफै पीडित हुनु परेको छ । चुनिएर आएकाले आफ्ना नगरका प्रत्येक नागरिकहरुलाई अधिकार दिनुपर्छ भन्ने चुनौती छ ममा ।

मेरो अधिकार क्षेत्रभित्र पर्ने कामहरुमा सक्ने काम गरेँ । राजस्व सुधारको बैठक बस्न लगाएर हरेक ठाउँबाट बढीभन्दा राजश्व उठाउने काम, आन्तरिक स्रोत बढोत्तरी गरेको छु । बजार महँगी लगायतको अनुगमन पालिकाले मात्रै गर्ने होइन, नगरवासी सबैको अधिकार हो निगरानी गर्ने । नराम्रो काम छ भने मलाई जानकारी आएमा रोकेकी पनि छु ।

विकास निर्माणका काम

हामीहरु जनप्रतिनिधि भई आइसकेपछि विकास निर्माणका धेरै काम भए । नगरको प्रत्येक वडामा कालोपत्रेदेखि आवश्यक स्थानमा कल्भर्ट निर्माण गर्यौं । गोदावरी नगर क्षेत्रमा ४ वटा झोलुङ्गे पुल निर्माण भइसकेको छ । नगरपालिका क्षेत्र भित्रका ४ वटा विद्यालयमा प्राविधिक शिक्षा सुरुवात गरेका छौं भने विपन्न, गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम रहेको छ ।

कृषि पकेट क्षेत्र कार्यक्रमहरु एक वडा, एक उत्पादन करेसाबारी संचालनमा छ । सिँचाइका लागि बोरिङ्ग वितरण, महिलालाई आत्मनिर्भर बनाउन मौरी उत्पादन, कुखुरापालन, बंगुरपालन, भैंसीपालनदेखि सिलाईकटाई लगाएतका तालिम छन् । त्यस्तै, खुटिया खोलामा गिट्टी कुटेर खाने तथा अन्य अपाङ्ग महिलालाई डल बनाउने कार्यक्रम, धुपबत्ती बनाउन चाहिने सामग्री वितरण गर्र्ने काम पनि नगरपालिकाले गर्दै आएको छ । ६ सयभन्दा बढी अपाङ्ग परिचयपत्र वितरण गरेका छौं । पूर्ण अशक्तलाई  घरघरमै अपाङ्ग परिचयपत्र आफैले वितरण गरेकी छु ।

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, सुत्केरी महिलाका लागि उपमेयर कोशेली कार्यक्रम, छाउपडीमुक्त गोदावरी नगरपालिका घोषणाका लागि सासु–बुहारी प्रोत्साहन कार्यक्रम पनि संचालन भएको छ । नगरपलिकाको न्यायिक शाखामार्फत हिंसापीडित महिलाका लागि सपोर्ट कार्यक्रम गरिएको छ । छिटोछरितो प्रभावकारी ढंगबाट, न्यायसम्पादन गर्न वडामा मेलमिलाप केन्द्र बिस्तार गर्दै ब्यवस्थित गरेका छौं । अहिले न्यायिक शाखामा आएर दर्ता हुने मुद्दा वडामै दर्ता हुने गरेका छन् ।

कम छैनन् महिला

महिलाहरुको क्षमता भए पनि त्यसलाई स्वीकारेर हाम्रो समाज अघि बढेको देखिँदैन । पितृ सत्तात्मक सोच हाबी रहेको हाम्रो समाजमा अहिले पनि महिलाहरु काम गर्न सक्छन् र ? भन्ने प्रश्न चिन्ह खडा हुन्छ । संविधानमा स्थानीय निकायमा महिला पुरुष मिलाएर प्रमुख पद व्यवस्थापन गर्ने व्यवस्था गरियो । तर सबैजसो दलले महिलालाई उपमेयर, उपाध्यक्षमा मात्र सीमित गराए । महिला मेयर अपवादको रुपमा मात्रै छन् । उपमेयरलाई अधिकार क्षेत्र पनि धेरै छैन । अबको चुनावमा उप भन्ने पदमा महिलालाई सीमित राखिनुहुन्न ।

(गोदावरी नगरपालिका, कैलालीकी उपमेयर रत्ना कडायतसँग कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप