शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पाटा नेपाल च्याप्टरद्वारा ‘पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता’ सम्पन्न

आइतबार, ०४ पुस २०७८, १४ : ५६
आइतबार, ०४ पुस २०७८

ग्लोबल कलेज इन्टरनेशनलको सहकार्यमा प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले राजधानीमा ‘एक्सप्लोरिङ द अथेन्टिक डेलिकेसिज अफ नेपाल’ शीर्षक अन्तर्गत ‘पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता’ सम्पन्न गरेको छ । १८ डिसेम्बर २०२१  का दिन काठमाण्डौको मध्य–बानेश्वर स्थित ग्लोबल कलेज इन्टरनेशनलमा उक्त प्रतियोगिता सम्पन्न गरेको हो । यो पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण अन्तर्गत आयोजित एक कार्यक्रम हो । 

वार्षिक रुपमा आयोजना गरिने युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा अगाडि बढाउने उद्देश्यले आयोजित कार्यक्रम हो । 

सो कार्यक्रम प्रतिभावान यूवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको पाटाले जनाएको छ । 

पाटा नेपाल च्याप्टरमा आबद्ध पाँच प्रमुख होटल व्यवस्थापन सदस्य शैक्षिक संस्थाहरु–  सिल्भर माउन्टेन, गेट, जीसीआई, आईएसटी र नाथमको प्रतिनिधित्व गर्दै भविष्यमा नेपाली सेफ बन्न चाहने उत्कृष्ट १० विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका थिए । उनीहरुले नेपालको विविध संस्कृति र क्षेत्रहरूबाट केही स्वादिष्ट एवम् मौलिक नेपाली व्यञ्जनहरूलाई  प्रोफेसनल पाक कला र नया रचनात्मक शैलीका साथ्  प्रश्तुतीकरण गरेका थिए ।   

प्रतियोगितामा सेफ गोविन्द नरसिंह केसी, सेफ जीतेन प्रधान, सेफ सुनसरी नेपाली र सेफ विक्रम गिरी लगायत विशिष्ट व्यक्तित्वहरुको निर्णायक मण्डलले विद्यार्थीहरुका पाक कला र दक्षता को मूल्यांकन गरेका थिए । निर्णायकहरूले  युवा विद्यार्थीहरूले प्रदर्शन गरेको जोश, तयारी, रचनात्मक शैली र नवीन विचारहरूबाट  प्रभावित भएको बताए ।  

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) मा अध्यनरत रुबी पुडासैनी र सुन्दर शेर्पाले विजेताको रुपमा पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिताको उपाधि हात पारे ।  त्यसैगरी, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट–नाथम  प्रतिनिधित्व गर्दै पासाङ्ग ल्हामु शेर्पा र सोना श्रेष्ठ प्रथम उपविजेता र सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट प्रतिनिधित्व गर्दै सन्देश कँडेल र पेमा तामाङको द्वितीय उपविजेता घोषित भए । दुई विजेता विद्यार्थीहरूलाई पाटा नेपाल च्याप्टरबाट सेफ सन्तोष शाहसँगको विशेष मेन्टरशिप कार्यक्रम र अन्य आकर्षक पुरस्कारहरू प्रदान गरिने पाटाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप