शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा उधौली पर्वको रौनक

आइतबार, ०४ पुस २०७८, १२ : ५३
आइतबार, ०४ पुस २०७८

 किराँत समुदायले मनाउने विशेष पर्व उधौली आजबाट सुरु भएको छ । प्रकृतिपूजक किराँत समुदायले मंसिर पूर्णिमामा उधौली पर्व मनाउने गर्दछन् । उभौली भने हरेक वर्ष वैशाख शुल्क पूर्णिमामा मनाइन्छ ।

उधौलीका अवसरमा प्रदेश १ का किराँत समुदायको बाहुल्यता रहेको ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, धनकुटा, सुनसरी र मोरङमा धुमधामका साथ साकेला नाच सुरु भएको छ ।

परम्परागत भेषभुषा लगाएर किराँत दाजुभाइ तथा दिदीबहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक साकेला नृत्य प्रस्तुत गर्ने चलन छ । यस अवसरमा परम्परागत बाजागाजा एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ ।

साकेला नाच्दा साकेला थानमा सिपालु मासुमी (विशेषगरी महिला) सक्रिय हुन्छन् । तर, भूमेथानभन्दा अन्यत्र भने प्रायः महिला–पुरुष संयुक्त रुपमा नाच्ने गर्दछन् । यो नाच सहरबजारतिर पनि निकै लोकप्रिय बन्दै गएको देखिन्छ । यसलाई सहरतिर चण्डी नाच पनि भन्ने गरिन्छ ।

किराँत राई यायोक्खाका केन्द्रीय सचिव अर्जुन जम्नेली राईका अनुसार विगतका वर्षमा साकेला नाच १५ दिनसम्म चल्थ्यो । कोरोना महामारीपछि यसलाई छोट्याएर पाँच दिनसम्म साकेला थानको पूजासँगै साकेला नाच्ने कार्यक्रम राखिएको उनले बताए ।

किराँत राई यायोक्खा केन्द्रीय समितिको निर्देशनमा मातहतका जिल्ला कार्य समिति तथा गाउँ इकाई समितिमार्फत साकेला थानमा पूजा गरी साकेला नाच्न सुरु गरिएको सचिव राईले बताए ।

विभिन्न प्रकारका साकेला सिली गाउँदै हातमा चौरीको चम्मर, झयाम्टा र काँधमा ढोल बोकेर  साकेला नाचिन्छ ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमि) लाई धन्यवाद दिन पर्व मनाउने गरिएको जनविश्वास छ । भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् ।

उधौली पर्वको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश प्रमुख र सभामुखले शुभकामना सन्देश दिँदै यस दिनले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषाभाषीमा आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप