शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बालकथा : अङ्गुर अमिलोको आशय

आइतबार, ०४ पुस २०७८, १० : ३०
आइतबार, ०४ पुस २०७८

नेपालीमा एउटा उखान छ– ‘खान नपाएपछि वा नसकेपछि अङ्गुर अमिलो छ ।’ धेरै पहिलेदेखि चल्दै आइएको यो उखान अहिले पनि उत्तिकै प्रचलित छ । यसलाई भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । नसुनेको भए पनि बाबा–आमा वा दाजु–दिदीलाई भनेर सुन्न सक्छौ तर अर्थ के हो, किन चले–चलाइएको हो र त्यसको आशय के हो भन्ने कुरा भने सबैलाई थाहा नहुन सक्छ । त्यसैले यहाँ यसै सम्बन्धी एउटा कथा प्रस्तुत गरिएको छ, जसलाई पढेपछि तिमीहरू आफैँ प्रष्ट हुनेछौ ।   

कथा निकै पुरानो हो । कुनै जङ्गलको गुफामा एउटा स्याल बस्दै आएको थियो । जङ्गली जनावरहरूलाई आफूले खाने कुरा आफैँले जुटाउनुपर्छ । चाहे बाघ होस् चाहे स्याल कसैले पनि कठैबरा भन्दैनन्, खाने चीज ल्याएर दिँदैनन् । आफैँले जुटाएर खानुपर्छ । पाए खान्छन् नपाए भोकभोकै मर्छन् । यसमा त्यस स्यालले मात्र छुट पाउने कुरै भएन । ऊ हरेक दिन जङ्गलतिर घुम्थ्यो, खोलाको किनारहरू चार्थ्यो । जो मिलेको खाएर भोक मेटाउने गथ्र्यो । कुनै दिन भरपेट खान्थ्यो, कुनै दिन आधा पेटमै चित्त बुझाउँथ्यो । कुनै दिन त्यो पनि पाउँदैनथ्यो र भोकभोकै रात गुजार्ने गथ्र्यो ।

एकदिनको कुरा हो । शिकारका लागि दिनभर जङ्गल घुम्दाघुम्दा पनि एउटै फेला परेन । साँझपखतिर निरास भएर गुफातिर फर्कदै थियो जङ्गल छेउमा एउटा ठूलो फाँट देख्यो । फाँट सुनसान थियो, यताउता हे¥यो एउटै पनि कसैलाई देखेन । फाँट गाउँबाट निकै टाढा भएकाले किसानहरू अघि नै घरतिर लागिसकेका थिए । यसबाट स्यालको मरिसकेको आशा पनि जागेर आयो । यतैकतै पो दैवले कुनै आहार जुराइदिएका छन् कि भन्दै फाँट चार्न थाल्यो । घुम्दै जाँदा पर एउटा गराको कुनामा अङ्गुरको बोट फेलापर्‍यो, जसमा लटलम्म फल लागेको थियो, पाकेको थियो । 

अङ्गुरको झुप्पो देख्नेबित्तिकै उसको मुख रसायो । भोकले त यसै पनि पहिलेदेखि नै पछ्याएकै थियो । बोटतिर हे¥यो दुईचार झुप्पा तलसम्म झुण्डिएको पायो । उसलाई लाग्यो–

‘मेरै लागि भाग्यले यिनलाई तलतिर झुकाएका हुनुपर्छ, नत्र अरू माथि छन् भने यिनीहरू मात्र किन तल झुण्डिन आउँथे होलान् र ।’ 

यस्तैयस्तै सोच्दै उसले उफ्रेर केही झुप्पा तान्न खोज्यो, दुईचार झम्टा लगायो तर सकेन । कारण के थियो भने उसको उफ्राइको शक्तिभन्दा अङ्गुरको झुप्पा केही माथि थियो । सायद थप बल गरेको भए भेट्थ्यो पनि होला तर उसले त्यतिसम्म धैर्य गर्न सकेन । एकाधपटक प्रयास गर्‍यो । भेटिएन भन्दै बीचैमा हार मानी भाग्यलाई सराप्दै गुफातिर लाग्ने सुर ग¥यो ।

उसले अङ्गुर खान गरेको प्रयास एउटा बाँदरले सुरूदेखि नै हेर्दै आएको थियो । स्याल निरास भएर फर्कन लागेको देखेर उसले मन थाम्न सकेन र भन्यो–

‘स्याल भाइ ! त्यत्तिकै फर्कन लाग्यौ नि किन ? अङ्गुर खान खोजेको होइन ? भोकै छौ जस्तो छ । अरू बल गर न भेटिहाल्छौ नि ? दुई अङ्गुलजति मात्र त माथि छ ? कि सघाउन आऊ ? सहयोग चाहिन्छ भने भन है ।’

बाँदरको कुरा सुनेर स्यालले यताउता हे¥यो । केही पर बसेको बाँदर आफैँलाई हेरिरहेको रहेछ । उसलाई बाँदरको सामू आफ्नो कमजोरी देखाउन मन लागेन । उसको स्वभाव अलि बढी नै घमन्डी थियो । आफूभन्दा बाठो र जान्नेसुन्ने अर्को छैन भन्ने उसको मान्यता थियो । आफूजस्तो बाटोले नाथे बाँदरसित सहयोग लिनु भनेको उसको सामू शिर झुकाउनु हो भन्ने ठान्यो र बाहाना बनाउँदै भन्यो–

‘हो, बाँदर भाइ ! नखाइकनै जाने विचार गरेको छु ।’

‘किन र ? भरखरै खाने प्रयास गर्दै थियौ त ? एकाएक के भयो त्यस्तो ? रात लामो छ, भोकै नसुत । रात पर्नै लागेको छ, यतिबेला अर्को खाना के पाउँछौ र खान्छौ ?’

‘केही छैन भाइ ! खान त खोजेको हुँ । एक दुईपटक प्रयास गरेको पनि हुँ तर यो अङ्गुर अमिलो रहेछ । पाए खाउँला न पाए नखाउँला । यस्तो अमिलो अङ्गुर खानुभन्दा भोकै सुत्नु वेश ।’

यति भनेर स्याल यताउता हेर्दैनहेरी गुफातिर लाग्यो । बाँदर मुसुमुसु हाँस्दै अर्को हागाँतिर सर्‍यो । किनभने उसले अहिलेसम्म स्यालले अङ्गुर अमिलो भएर होइन टिप्न नसकेर नखाएको हो भन्ने बुझिसकेको थियो ।

कमजोरी लुकाउनु राम्रो होइन । न कसैको सहयोग लिनु नै शिर झुकाउनु हो । पहिलो कुरा त बुद्धिमानी त्यही हुन्छ जहाँ अन्तिम क्षणसम्म पनि प्रयास गरिन्छ । एकाधपटक असफल हुँदैमा परिश्रम गर्न छाडिँदैन । सय पटक असफल भएकाहरू पनि थप अर्कोपटकमा सफल भएका उदाहरण प्रशस्तै छन् । अर्को कुरा प्रयास गर्दा पनि सफल भइएन भने पनि केही छैन तर कमजोरी लुकाएर हिँड्नु भने हुँदैन । बरू कुनै अनुभवीको सहयोग लिनु राम्रो हुन्छ । नजानेको कुरा सोध्दा सानो भइन्न । सके सहयोग पाइन्छ न भए पनि तरिका पत्ता लगाउन सकिन्छ ।

यस कथाको आशय पनि यही हो कि स्यालले बाँदरसित आफ्नो कमजोरी नलुकाएर सहयोग मागेको भए पक्कै अङ्गुर खान सक्थ्यो । किनकि ऊ यसबारेमा अनुभवी थियो तर उसले त्यसो गरेन । उल्टै बाँदरलाई ढाँटेर कमजोरी लुकाउने काम ग¥यो, जसका कारण बाँदरलाई त केही भएन, उसले भने मुखमै आएको दाना पनि गुमाएर भोकभोकै रात बिताउनुपर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालसंसार डेस्क
बालसंसार डेस्क
लेखकबाट थप