शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वदलीय बैठकबारे एमालेको प्रतिक्रिया : सरकारमा कुनै गम्भीरता र जिम्मेवारीपन छैन

सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक
आइतबार, ०४ पुस २०७८, १० : २५
आइतबार, ०४ पुस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

प्रधानमन्त्री देउवाले संसदको अवरोध खुलाउने र एमसीसी अघि बढाउने लगायतका विषयमा छलफल गर्न आइतबार अपरान्ह चार बजे सर्वदलीय बैठक बोलाएका छन् । तर, नेकपा एमालेले भने सर्वदलीय बैठकका नाममा औपचारिकतामात्रै पुरा गरेकाले उक्त बैठकमा सहभागी हुनुको कुनै अर्थ नभएकाले सहभागी नहुने जनाएको छ ।

नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका उपाध्यक्ष सुवास नेम्वाङले औपचारिकतामात्रै पुरा गर्नेगरी बोलाएको बैठकमा सहभागी हुनुको कुनै अर्थ नभएको बताए । ‘यो खाली औपचारिकतामात्रै पूरा गरियो । कुनै गम्भीरता र जिम्मेवारीपन छैन’, उपाध्यक्ष नेम्वाङले रातोपाटीसँग भने, ‘हामीले स्थितिका बारेमा सिरियस्ली प्रश्न उठाएका छौ, रहर होइन बाध्यता नै भनेर सदन अवरुद्ध गरिरहेका छौँ।’

उनले सरकारले आफ्नो पार्टीसँग कुनै गम्भीर भएर कुनैपनि छलफल नगरेको समेत बताए । ‘यस्तो अवस्थामा हामीसँग  गम्भीरतापूर्वक कसैले कुरा गरेको छैन । यस्तो अवस्थामा फलानो दिन यति बजे सर्वदलीय बैठक छ, आउनुस् भन्ने कुरा औपचारिकता मात्रै भयो’, नेम्वाङको भनाइ छ । नेता नेम्वाङले प्रमुख प्रतिपक्षसँग गर्ने व्यवहार सरकारको सही नभएको पनि बताए । ‘हामी त प्रमुख प्रतिपक्ष हौँ, यसैपनि प्रमुख प्रतिपक्षसँग जिम्मेवारीपूर्वक छलफल हुनुपर्यो नि !’, नेम्वाङले भने । 

नेकपा एमालेले गत भदौ २३ गते यता लगातार संसद बैठक अवरोध गर्दै आएको छ । यसैबीच ४ बजेको सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक समेत बोलाइएको छ । दिउँसो २ बजे गठबन्धनको बैठक बोलाएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप