ad
x
पर्व

तल्सिङ र मोहीको मिथक : ‘योमरी पुन्ही’

‘योमरी’ खानासँगै नेवारको जीवन्त संस्कृति पनि

person explore access_timeपुस ४, २०७८ chat_bubble_outline0

हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४ गते १८ औँ ज्यापू दिवस मनाइँदैछ ।


यस दिन चामलको पिठोबाट बनेको विशेष रोटी योमरी बनाएर खाने चलन छ । योमरी पुन्हीलाई नेवारहरूको महत्त्वपूर्ण चाडको रूपमा लिइन्छ  । योमरी पुन्हीदेखि दिन धमाधम लामो र रात छोटो हुने जनविश्वास छ । 



योमरी पुन्ही कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ भन्न सकिने ठ्याक्कै प्रमाण छैन । लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा. त्रिरत्न मानन्धर यो संस्कृति मध्यकालदेखि रहँदै आएको विश्वास व्यक्त गर्छन् । उता ज्यापू संस्कृति विकास कोषका संरक्षक तीर्थराम डंगोलले यो संस्कृति लिच्छविकालदेखि नै सुरु भएको बताउँछन् ।  

....

साधारण चामलको पिठोको पनि योमरी बनाइने गरिए पनि यसलाई विशेष गरी तिल, नरिवल, चाकु र खुवा हालेर बनाइन्छ । अण्डाकार तथा थोरै लाम्चो रूपमा रहने योमरी म:म: झैँ बफाएर बनाइन्छ । योमरीमा पछिल्लो समयमा खुवा र गुँदपाक मिसाएर खाने चलन पनि बढेको छ । चाकु नराखी बनाइएको चेप्टो आकारको तथा चाकु राखेर बनाइएको योमरी चुच्चो आकारको हुन्छ । 

प्राडा. त्रिरत्न मानन्धर

योमरी पुन्हीको कथा

नेवार समुदायमा योमरी पुन्हीको कथा भूमि व्यवस्थासँग जोडिएको बताउँछन् प्राडा. त्रिरत्न मानन्धर । मोही अर्थात् ज्यापूले तल्सिङ अर्थात् जग्गा धनीलाई ल्याइदिएको नयाँ धानबाट योमरी बनाइन्छ । एउटा चाकु राखेर र अर्को नराखीकन नयाँ धानको योमरी बनाएर पूजा गरिन्छ ।

पहिलो पटक बनाउँदा गणेश, ख्याक, कुबेरलगायत देवीदेवताको एक मूर्तिजस्तो आकारमा योमरी बनाइन्छ । यस्तै घरमूलीका लागि पनि विशेष प्रकारको योमरी बनाई धान्य पूर्णिमा भनेर पूजा गरिन्छ । मङ्सिर मसान्ततिर पर्ने यसलाई नयाँ धान भित्र्याउने दिनको रूपमा हेरिन्छ । तल्सिङ जुनसुकै थरका हुन सक्ने भए पनि मोही विशेष गरी खेतीकिसानी गर्ने ज्यापू नै हुन्छन् । यसरी एउटा तल्सिङ र मोहीको समन्वयको प्रतीकको रूपमा योमरी पुन्ही मनाइन्छ । 

योमरी पुन्हीको दिन बिहान योमरी बनाई पूजा गरेपछि बेलुका टोलका बच्चाहरुलाई समयबजी बाँडेजसरी बाँड्ने चलन छ । योमरी बाँड्दा केटाकेटीले गीत पनि गाउँछन् । 

योमरी च्वामु उखे दुनी हामु

ब्यू म ल्यासी नब्यू स बुरी बुरी

छिमी न चिकु, जिमी न चिकु

पियाच्वने थाकु, याकन बिउ

अर्थात् योमरी चुच्चो चुच्चो छ, योभित्र खानेकुरा छ । दिनेहरू तरुनी नदिने चाहिँ बुढी । तिमीलाई पनि जाडो छ, मलाई पनि जाडो छ, पर्खिन गाह्रो छ, छिटो देऊ । 

जन्मदिनदेखि देवालीमा योमरी

नेवार समुदायको बालबालिकाको जन्मदिनमा पनि योमरीको निकै महत्त्व छ । बच्चाहरूको दोस्रो र चौथो जन्मदिनमा योमरीको माला लगाएर मनाउने गरिन्छ । 

त्यस्तै, नेवारहरूको वर्षमा एक वा दुईपल्ट गरिने देवाली पूजामा पनि कुलदेवतालाई योमरी चढाइन्छ । यस्तै, मच्छिन्द्रनाथको पूजामा पनि योमरी चढाइन्छ । मच्छिन्द्रनाथको रथयात्रामा माथिबाट भक्तजनहरूमाझ योमरी र नरिवल फ्याँकिन्छ, त्यो योमरी समातेर खान सके निकै शुभ मानिन्छ । देवताहरूको काममा यसलाई शुभ रोटीको रूपमा लिइन्छ । 

व्यावसायिक रूपमा योमरी

नेवार संस्कृति जोडिएको योमरी अब व्यावसायिक रूपमा खाजाको रूपमा पनि पाइन थालेको छ । बनाएर यदि कसैले बेच्छ भने त्यो राम्रै कुरा हो  । पहिले योमरी चाकु राखेर बनाइन्थ्यो तर अहिले खुवा राखेर बनाउने चलन बढेको छ । मानन्धर भन्छन्, ‘खुवासम्म राखेर बनाउनु त ठिकै हो । तर मैले के सुनेको छु भने योमरीमा मासु राखेर पनि बनाइन्छ रे । त्यस्तो चाहिँ हुनु भएन । यसलाई त आफ्नो संस्कृतिबाट विमुख भएको मान्नुपर्छ ।’ 

ज्यापू दिवस मनाइन थालेपछि योमरीको चिनारी बढेको छ । गैरनेवारदेखि विदेशीहरूले समेत योमरी स्वाद मानी मानी खान थालेका छन् । तैपनि आम बच्चाहरुझैँ अचेलका नेवार बच्चाहरू पनि जङ्कफुडतिर आकर्षित भइरहेको बेला योमरी खाने चलन हराउँदै जाने खतरा देख्छन् मानन्धर । 

मरी भनेको मनपर्ने रोटी हो । अझै मरी भनेर विशेष गरी गुलियो रोटीलाई जनाउँछ । चाकु हालेर गुलियो बनाइएको योमरी पृथक भएकाले पनि धेरैले मन पराउँछन् । 

ज्यापूको मात्रै होइन 

नयाँ धान ज्यापूहरूले फलाउने भएकोले यसलाई ज्यापू दिवस भनेर मनाउनुपर्छ भन्ने उनीहरूको मान्यता छ । यसरी विगत डेढ दशकदेखि योमरी पुन्ही अर्थात् धान्य पूर्णिमालाई ज्यापू दिवसको रूपमा मनाउन थालिएकोमा मानन्धरको भने विमति छ । उनको तर्क छ, धान्य पूर्णिमामा जग्गा धनी र मोही दुवैले योमरी बनाएर आफ्नो घर घरमा पूजा गर्छन् । योमरी पुन्ही ज्यापूहरूको मात्रै कसरी भयो ? सम्पूर्ण नेवार समुदायको पर्वलाई ज्यापूमा मात्रै सीमित गर्न खोज्नु राम्रो होइन । 

किन ज्यापू दिवस ?

ज्यापू संस्कृति विकास कोषका संरक्षक तीर्थराम डंगोलका अनुसार ज्यापूहरुलाई जागरूक गराउने मुख्य उद्देश्यले ज्यापू दिवस मनाइन्छ । अहिले पनि जसको जग्गा धेरै हुन्छ, उही धनी मानिन्छ । अर्काको जग्गा जोतेर खानुपर्ने सुरुवातमा दासजस्तै थियो ज्यापू ।

तीर्थराम डंगोल

डंगोलका अनुसार महिलाप्रधान ज्यापू समुदायमा छोरीको आदेश बिना छोराले दागबत्ती दिन पाइँदैन । छोरीले ७ दिनमा सार्वजनिक रूपमा श्राद्ध नगरेसम्म १२ दिनको श्राद्ध छोराले गर्न पाउँदैन । योमरी भनेको नारीप्रधान समाज पनि हो । ‘धेरै वर्ष पहिले एक किसानकी छोरी गर्भवती हुँदा मीठो खान मन लाग्यो भनिछिन् । त्यसपछि उनका लागि मीठो रोटी अर्थात् योमरी बनाइयो । यसरी योमरी बनाउने चलन भित्रियो,’ डंगोल मिथक सुनाउँछन् ।

खेत मासिएर काठमाडौँ कंक्रिटको सहरको रूपमा परिणत हुँदै गयो । त्यसपछि किसान ज्यापूहरूको पेसा खोसिँदै गयो । अनपढ ज्यापूहरूको व्यवसाय नै खोसिएपछि उनीहरूलाई जागरूक बनाउन, चेतना जगाउन ज्यापू दिवस मनाउन थालिएको बताउँछन् डंगोल । ज्यापू दिवसमा साहित्यदेखि खेलकुदलगायत विभिन्न विधामा सफल ज्यापू समुदायका व्यक्तिहरूलाई सम्मान गरिने तथा प्रत्येक वर्ष पालैपालो एउटा एउटा टोलले जिम्मा लिएर र्‍याली निकालिन्छ । 

काठमाडौँमा किसान भनेको शुद्ध ज्यापूहरू मात्रै हुन् । ज्यापूहरूले उब्जाएको अन्नबाट योमरी बनाउने भएकोले सो दिनलाई ज्यापू दिवसको रूपमा मनाउनुपर्छ भन्ने अवधारणा आएको डंगोलको भनाइ छ । उनी भन्छन्, ‘योमरीको पूजा मात्रै होइन, हामी भात खाँदा पनि देवतालाई नचढाई खाँदैनौं । चिया खाँदा पनि एउटा औंलाले चढाएपछि मात्रै खाने चलन छ ।’ 

ज्यापू दिवसबाट योमरी संस्कृति पुनर्स्थापित भएको छ । यसको एकदमै राम्रो प्रचार भएको तथा होटल होटलमा योमरी परिकारको प्रवद्र्धन भएकोमा निकै खुशी छन् डंगोल । योमरी र ज्यापू एक अर्काको पर्याय रहेकोमा ज्यापू दिवस इतिहास सम्झिने दिन पनि रहेको उनको भनाइ छ ।  

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।