बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सहमहामन्त्रीमा देउवा समूहबाट ६ र कोइराला पक्षका २ जना निर्वाचित

काँग्रेसमा क्लस्टर अनुसार सहमहामन्त्री : पदाधिकारीमा सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व
शुक्रबार, ०२ पुस २०७८, २० : ५४
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट ८ जना सहमहामन्त्री निर्वाचित भएका छन् । शुक्रबार आएको मत परिणामबाट संविधानमा व्यवस्था गरिएको ८ वटा क्लस्टर अनुसार काँग्रेसमा सहमहामन्त्री विजयी भएका छन् । योसँगै खस आर्य, दलित, आदिवासी जनजाति, महिला, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्र गरी सबै वर्ग र समूदायका मान्छे काँग्रेसको पदाधिकारी तहमा पुग्न सफल भएका छन् । 

काँग्रेसको नयाँ विधान अनुसार ८ जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । यसअघि एक जना सहमहामन्त्री मनोनित गर्ने व्यवस्था थियो । १४ औं महाधिवेशनमा ८ वटा क्लस्टरबाट सहमहामन्त्रीका लागि १९ जना चुनावी मैदानमा उत्रिएका थिए । विशेष गरी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको प्यानलबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

जसमा देउवा प्यानलका ६ जना उम्मेदवार सहमहामन्त्रीका निर्वाचित भएका छन् भने कोइराला प्यानलबाट २ जनाले सहमहामन्त्रीमा बाजी मारेका छन् । देउवा समूहबाट महिला, मधेसी, थारु, खस आर्य, मुस्लिम र आदिवासी जनजातितर्फका सहमहामन्त्री निर्वाचित भएका छन् । यस्तै कोइराला समूहबाट दलित र पिछडिएका क्षेत्रतर्फका सहमहामन्त्रीका उम्मेदवार विजयी भएका छन् ।

यस्तै काँग्रेस सहमहामन्त्रीमा भूगोल अनुसार ६ वटा प्रदेशको प्रतिनिधित्व पनि भएको छ । काँग्रेसले प्रदेश एक, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट एक एक जना सहमहामन्त्री पाएको छ । यस्तै प्रदेश दुईबाट ३ जना सहमहामन्त्री विजयी हुँदा  कर्णाली प्रदेशको भने प्रतिनिधित्व हुन सकेन । 

प्रदेश एकबाट आदिवासी जनजातितर्फ पाँचथरका भीष्मराज आङ्देम्बे, बागमतीबाट महिलातर्फ मकवानपुरकी महालक्ष्मी उपाध्याय 'डिना', गण्डकीबाट दलिततर्फ कास्कीका जीवन परियार, लुम्बिनीबाट खस-आर्यतर्फ बर्दियाका किशोरसिंह राठौर र सुदूपश्चिमबाट पिछडिएका क्षेत्रतर्फ बाजुराका बद्री पाण्डे सहमहामन्त्री बनेका छन् ।

यस्तै प्रदेश २ बाट मधेसीतर्फ धनुषाका महेन्द्र यादव, मुस्लिमतर्फ बाराका फरमुल्लाह मन्सुर, थारुतर्फ बाराका उमाकान्त चौधरी सहमहामन्त्रीका निर्वाचित भएका छन् ।  हुम्लाका जीवनबहादुर शाही सहमहामन्त्रीमा पराजित भएपछि कर्णाली प्रदेशको प्रतिनिधित्व शून्य रहेको हो ।​

८ क्लस्टरबाट को को विजयी भए सहमहामन्त्रीमा ?

महिलातर्फको सहमहामन्त्री

काँग्रेसमा  महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । देउवा पक्षकी उपाध्याय २ हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा  विजयी  भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कोइराला प्यानलकी कमला पन्तले दुई हजार १०५ मत ल्याइन् । 

आदिवासी-जनजातितर्फको सहमहामन्त्री 

काँग्रेसको जनजाति क्लस्टर अन्तर्गत सहमहामन्त्रीमा देउवा पक्षका भीष्मराज आङ्देम्बे निर्वाचित भएका थिए । उनी दुई हजार ७११ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कोइराला प्यानलका विकास लामाले  एक हजार ९१३ मत प्राप्त गरेका थिए ।​

मधेसीतर्फको सहमहामन्त्री

काँग्रेसको मधेसी सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार उनले २ हजार २६ मत प्राप्त गरे । उनका निकटतम प्रत्यासी रामकृष्ण यादवले १ हजार ८२० मत पाए भने अर्का प्रत्यासी रञ्जित कर्णले ४ सय ७२ मत प्राप्त गरे । रामकृष्ण कोइराला समूहका उम्मेदवार हुन् ।

थारु तर्फको सहमहामन्त्री

काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा देउवा पक्षका उमाकान्त चौधरी निर्वाचित भएका छन् । शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । ​उमाकान्तले २५५६ मत ल्याएका छन् भने तेजुलालले १८७७ मत पाएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट उमाकान्त देउवा समूहबाट उम्मेदवार बनेर विजयी भएका हुन् । उनी वर्तमान खानेपानी मन्त्री हुन् ।​

खस-आर्यतर्फको सहमहामन्त्री

काँग्रेसको खस आर्यतर्फको सहमहामन्त्रीमा देउवा पक्षका किशोरसिह राठौर निर्वाचित भएका छन् । राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन् । राठौर  २५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५९ मत ल्याएका छन् ।

मुस्लिमतर्फको सहमहामन्त्री

काँग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । देउवा समूहका मन्सुरले कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २७७६ मत ल्याएका छन् भने वकिलले १८७१ मत पाए।​

दलिततर्फको सहमहामन्त्री

काँग्रेसको दलित तर्फको सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार विजयी भएका छन् । उनले दुई हजार २१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी देउवा समूहका मानबहादुर विश्वकर्माले दुई हजार १७५ पाएका थिए । यस्तै गंगा सुनारले २२९ मत प्राप्त गरिन् ।

पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्री

नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् । सभापति देउवा समूहका जीवनबहादुर शाहीलाई पराजित गरि पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् । शाहीले २१३३ मत पाएका छन् भने अर्का उम्मेदवार चेतराज बरालले ९९ मत पाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप