शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

आर्मीलाई सातदोबाटोले बराबरीमा रोक्यो, मच्छिन्द्र र संकटाले पनि अङ्क बाँडे

शुक्रबार, ०२ पुस २०७८, १९ : १२
शुक्रबार, ०२ पुस २०७८

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएका दुई खेल बराबरीमा सकिएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले १–१ तथा मच्छिन्द्र क्लब र संकटा क्लबको खेल गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन ।

अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेल्दै आर्मी तालिकाको दोस्रो स्थानमा पुगेको छ । एएफसी कपमा छनोट खेल्न जित्ने पर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीलाई बराबरीले धक्का लागेको छ । सातौँ चरणको खेल सम्मको लिगबाट  क्लब लाइसेन्स प्राप्त गरेको टोलीले एएफसी खेल्न पाउने प्रावधान रहेको अवस्थामा आर्मीलाई बराबरी नतिजाले धक्का लागेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भने विभागीय टोलीको क्लब आर्मीले सुरुआत अग्रता निकालेको थियो । १० औँ मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यस्तै आर्मीविरुद्ध प्रशंसनीय खेल प्रदर्शन गरेको सातदोबाटोले आर्मीको अग्रतालाई धेरै समय टिक्न दिएन । ६ मिनेट पछि नै सातदोेबाटोका अजयी मार्टिन्सले १६ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा अवस्थामा ल्याएका थिए । त्यसपछि अग्रता आर्मीले पहिलो हाफमा निकै संघर्ष गरे पनि सफल हुन सकेन । यस्तै सातदोबाटोले पनि केही राम्रा अवसर सदुपयोग गर्न चुक्यो ।

एक एक गोलको बराबरीमा सकिएको पहिलो हाफपछि आर्मीले दोस्रो हाफमा पनि आक्रामक खेल देखायो । तर आर्मीका प्रयास विफल भए । आर्मीका सन्तोष तामाङले ५५औँ मिनेटमा गरेको प्रहार माथिल्लो बारबाट बाहिरिएको थियो । ७५औँ मिनेटमा पनि सन्तोषको भली सटले पोस्टको दिशा लिन सकेन । सातदोबाटोका सेट पिसका अवसर पनि सदुपयोग हुन सकेनन् । बाँकी समयमा दुवै टोलीले गोलका लागि प्रयास गरिरहे पनि सफल हुन सकेनन् र खेल बराबरीमा सकियो ।

बराबरीसँगै ५ खेलबाट ९ अङ्क जोड्दै आर्मी तेस्रो स्थानमा यथावत् रहेको छ । बराबरीपछि सातदोबाटो ८ अङ्कसहित पाँचौँ स्थानमा छ । अघिल्लो खेलमा एनआरटीसँग पराजित भएको सातदोबाटो बलियो आर्मीसँग अङ्क खोस्दै नवप्रवेशी पनि बलियो टोलीको रुपमा प्रमाणित गरेको छ । यस अघि सातदोबाटोले उपाधिदावेदार थ्री स्टारलाई हराउन सफल भएको थियो ।

दिनको दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्रले छिमेकी क्लब संकटासँग रोकिन पुगेको छ । बराबरीपछि मछिन्द्रलाई एक कम खेलेको मनाङसँग ३ अङ्कको अग्रता बनाउने अवसर गुमेको छ । बराबरीसँगै शीर्ष स्थानको मछिन्द्रले तालिकामा ११ अङ्क जोडेको छ । र दोस्रो स्थानको मनाङसँग एक अङ्कको अग्रता लिएको छ । संकटा ९ अङ्क जोड्दै शीर्ष चारमा उक्लिएको छ ।

लिगमा भोली तीन खेल हुँदैछन् । काठमाडौंमा दुई खेल हुनेछन् भने पोखरामा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई आतिथ्यता गर्दै छ । दशरथ रंगशालामा च्यासल युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेल थ्री स्टार र न्यूरोड टिम (एनआरटी)बीच हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप