आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

झापाली कमरेड दुर्गा प्रसाई : ससुराली कुट्न माओवादी, अस्पताल जोगाउन एमाले

शुक्रबार, ०२ पुस २०७८, १८ : ५२
शुक्रबार, ०२ पुस २०७८

झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई  अहिले नेपाली राजनीतिमा छाएका छन् । माओवादीलाई तथानाम गाली गर्दै एमालेमा प्रवेश गरेर केन्द्रीय सदस्यको शपथ खाएपछि प्रसाईको चर्चा सर्वत्र छाएको हो । अब देशैभर एमालेलाई जिताउने, ५ लाख मानिस एमालेमा प्रवेश गराउने र माओवादीलाई देशैभरि पत्तासाफ गरिदिने एमाले नेता प्रसाईले घोषणा गरेका छन् ।

एक मेडिकल व्यवसायीका रूपमा प्रसाईको चर्चा यसअघि नै हुँदै आएको थियो । विगतमा तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई भक्तपुरस्थित निजी बंगलामा निम्त्याएर मार्सी चामलको भारत खुवाएपछि प्रसाईको चर्चा एकाएक छाएको थियो ।

प्रसाई मेडिकल माफिया रहेको र उनको मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने  चिकित्सा क्षेत्रका सुधार अभियन्ता डा. गोविन्द केसीले आवाज उठाउँदै आएका थिए । तर, प्रसाईले डा. केसीलाई समेत तथानाम मुख छोडेर चर्चा कमाएका थिए । आफ्नो मेडिकल कलेजले सम्बन्धनका लागि सबै मापदण्ड पूरा गरेको प्रसाईंले दाबी गर्दै आएका छन् ।

प्रसाईले आफ्ना आमा–बुबाको नामको सुरु अक्षरलाई जोडेर खोलेको बीएण्डसी मेडिकल अस्पताललाई सम्बन्धन दिलाउन प्रचण्ड र ओलीको ‘चाकडी’ गरेको आरोप लाग्दै आएको थियो । उनले सुरुमा आफू माओवादीको कार्यकर्ता र पछि नेकपाको कार्यकर्ता रहेको बताउँदै प्रचण्ड र ओलीको किचेनसम्म पहुँच बनाएका थिए । तर, एमाले र माओवादी फुटेपछि केपी ओलीले प्रसाईलाई एमालेमा भित्र्याए । अनि अहिले केन्द्रीय सदस्य बनाए ।  

आखिर को हुन् त झापाली ‘कमरेड’ दुर्गा प्रसाई ? देशकै महँगो एवं सुविधा सम्पन्न निजी अस्पताल चलाउन सक्ने उनी पुर्ख्यौली रूपमै धनाढ्य व्यक्ति हुन् या नवधनाढ्य हुन् ? कहाँबाट, कसरी कमाए प्रसाईले त्यतिधेरै अकूत सम्पत्ति ? राजनीतिमा मुखर भएर आएका प्रसाईलाई यी प्रश्नहरूले भने लखेटिरहेका छन् ।

दुर्गा प्रसाईको विगत निकै रोचक र रहस्यमय छ । एकातर्फ उनको जीवनमा संघर्ष, मुद्दा मामिलाको पाटो जोडिएको छ भने अर्कोतर्फ दलाली, जग्गा कारोबार र टुप्पोबाट पलाएको नवधनाढ्य चरित्र पनि जोडिएको छ । एउटा व्यक्तिले राजनीति र सत्तालाई दुरुपयोग गरेर कसरी अकूत सम्पत्ति कमाउँछ र सम्पत्ति कमाइसकेपछि फेरि कसरी राजनीतिमा हस्तक्षेप गर्छ भन्ने दलाल पुँजीवादी चरित्रका शानदार ‘उदाहरण’ हुन् झापाली ‘कमरेड’ प्रसाई ।

को हुन् प्रसाई ?   

पूर्वी पहाडबाट झापा झरेका दुर्गा प्रसाईको परिवार आर्थिक रूपमा सामान्य वर्गको थियो । सुरुमा उनको परिवारको बसोबास हाल अर्जुनधारा नगरपालिकाको बसपार्क रहेको ठाउँ नजिकै थियो । सामान्य खेतीपाती गरेर जिविकोपार्जन चलेको थियो ।  

दुर्गा प्रसाईले ८ कक्षाभन्दा बढी पढेनन् । उनले कलिलै उमेरमा विवाह गरे । उनको विवाह आफूभन्दा धनी गिरी परिवारकी कन्यासँग भयो । झापामा चिया बगान चलाएर बसेका गिरी परिवारकी छोरीसँग वैवाहिक सम्बन्ध जोडेपछि दुर्गा प्रसाईको वर्ग धरातल माथि उक्लियो ।

तर, ससुरालीका कारण प्रसाईले सहजै अकूत सम्पत्ति हात पारेका चाहिँ होइनन् । यसका पछाडि लामो कथा छ ।

दुर्गा प्रसाईले जोसित बिहे गरेका थिए, उनीपट्टि आमाहरू धेरै थिए । त्यसबेला जमिन्दारको परिवारमा ‘ब्याइते पट्टि’ का र ‘ल्याइते पट्टि’ का सन्तान भन्ने चलन थियो । ससुराली खलकसँग प्रशस्त जग्गा जमिन भए पनि दुर्गा प्रसाईकी श्रीमती र सालाले मागे जति अंश नपाएर आफ्ना पिताबाट ठगिएको अवस्था थियो ।

हाल बिर्तामोड नगरपालिका–५ मा दुईवटा विशाल भवनमा बीएण्डसी अस्पताल चलिरहेको छ । यही ठाउँ हो, जहाँ ०६२/०६३ को जनआन्दोलन अघिसम्म एउटा सामान्य काठे घर थियो । त्यही टाँडे घरमा दुर्गा प्रसाईको बसोबास थियो । घरले चर्चेको २/४ बिघा जग्गामा धान खेती गरिन्थ्यो । तर, खेतको धनीपूर्जा दुर्गा प्रसाईका सालो वा श्रीमतीका नाममा थिएन, उनीहरूका झड्केलो परिवारकै नाममा थियो ।

एसएलसीभन्दा कमै पढेका भए पनि दुर्गा प्रसाई सानैदेखि हठी स्वभावका थिए । एक समय उनी ग्रिल फ्याक्ट्रीमा काम गर्थे । उनी यसोउसो गरेर पैसा कमाउन भन्दै युरोप छिरे । तर, विदेशमा धेरै समय नबसी फर्किए । विदेश गएर भैँसी फार्ममा काम गरेको अनुभव हासिल गरेर आएको भन्दै उनले अहिले बीएण्डसी अस्पताल रहेकै जग्गामा व्यवसायिकरुपमा भैँसी पाल्न सुरु थाले ।

त्यसबेला प्रसाईको भैँसी फारम देख्नेहरू भन्छन्, ‘सयवटा जति भैँसी व्यवस्थित रूपमा पालिएको थियो । फार्ममा जाँदा प्रसाई हाफपाइन्ट लगाएर काम गरिरहेका भेटिन्थे । ठूलो गिलासमा बाक्लो दूध खान दिन्थे । एकचोटि दृष्टि साप्ताहिकमा उनको भैँसी पालनबारे फिचर स्टोरीसमेत छापिएको थियो । उनले २ सयप्रति दृष्टि आफैँले किनेर राखेका थिए ।’

प्रसाईले भारतको हरियाणाबाट उन्नत जातका भैँसी किनेर ल्याउने गरेका थिए । उनी दूध पनि बेच्थे, भैँसी पनि बेच्थे । मेची नदी पार गरेर भारतसम्म गाडीमा दूध बेच्न लैजान्थे ।

बैंकबाट ऋण गरेर शुरु गरेको भैंसीपालन केही समय राम्रैसँग चले पनि प्रसाईले बैंकको किस्ता नियमित तिर्न सकेनन् । बैंकमा थप ऋण माग्न जाँदा नपाएपछि उनले एकचोटि शनिश्चरे रोडमा रहेको बैंकभित्रै २०/२५ वटा भैँसी लगेर हुलिदिएको स्थानीयले अहिलेसम्म बिर्सेका छैनन् ।

हरियाणाबाट भैंसीको पैसा माग्न आएका व्यक्ति हप्की खाएर रुँदै फर्केको स्थानीय बताउँछन् । त्यस्तै, पछि अस्पताल बनाउँदा १ करोड बढीको चेक चोरेको आरोप लगाएर चितवनका ठेकेदारलाई प्रहरी लगाएर थुनाएका थिए ।

अन्ततः प्रसाईको भैंसीपालन डुब्यो । उनी बैंकको ऋणमा डुबे । त्यसपछि उनी नेपाली काँग्रेसको समर्थन र आस्था छाडेर भूमिगत माओवादी पार्टीको खोजीमा लागे । माओवादीमा लाग्नुका पछाडि उनको एउटै उद्देश्य थियो, ससुरालीलाई भाटे कारबाही गराउने अनि जग्गा जमिन सालो र श्रीमतीका नाममा पास गर्न लगाउने । यसका लागि सुरुमा प्रसाईले अदालतमा अंश मुद्दा पनि हालेका थिए, तर वर्षौंसम्म मुद्दा लड्दा पनि अदालतले उनको पक्षमा ‘न्याय’ दिलाएको अवस्था थिएन ।

संकटकाल लाग्नुभन्दा अघि नै प्रसाईले माओवादी नेताहरूसँग सम्पर्क बढाए । बिर्तामोडको त्यो काठेघरमा माओवादीको आवत–जावत बढ्न थाल्यो । प्रसाईको उद्देश्य थियो, आफ्नो सालो र श्रीमतीलाई अंश नदिने ससुरालीमाथि माओवादी लगाएर भाटे कारबाही गर्नु अनि अंश हात पार्नु ।

यहीबेला प्रसाईले मुद्दा लडिरहेका प्रतिद्वन्द्वी अर्थात् उनका ससुराली कृष्ण गिरीका छोरामाथि माओवादीका छापामारले कुटपिट गरे । मरणासन्न हुने गरी कुटाइ खाएका उनी उपचारपछि ठीक भए । त्यसपछि प्रसाईको ससुराली परिवार त्रसित बन्यो । यसरी मुद्दा लडिराख्ने हो भने प्रसाईले माओवादी लगाएर मार्ने पो हो कि भन्ने त्रास बढेपछि उनीहरूले २/४ बिघा जग्गा प्रसाईका साला र भाइका नाममा पास गरिदिए ।

त्यसो त माओवादीको साथ लिएर ससुरालीबाट अंश दिलाउने क्रममा प्रसाईले निकै ठूलो रिस्क पनि मोलेका छन् । उनलाई संकटकालमा सेनाले पक्डेर चरम यातनासमेत दिएको थियो । तर, काँग्रेसमा रहेका आफन्तहरूको सोर्स प्रयोग गरेर उनी बाँच्न सफल भए । अन्यथा झापाका धेरै माओवादी कार्यकर्ताहरू मारिएको रेकर्ड छ ।

त्यसो त पनि अदालतले पनि अंश मुद्दामा प्रसाई परिवारकै पक्षमा फैसला गरेको तर उनले जग्गा नापेर लिने आँट नगरेका कारण माओवादीको साथ लिएर जग्गा आफ्नो बनाउन सफल भएको माओवादीका स्थानीय कार्यकर्ता बताउँछन् । यस क्रममा प्रसाईले माओवादीलाई ३० लाख मूल्य पर्ने केही जग्गा पार्टी कार्यालय खोल्नका लागि उपलब्ध गराउने आश्वासन पनि दिएका थिए, तर दिएनन् ।

माओवादीलाई प्रयोग गरेर बिर्तामोडको महँगो जग्गा आफ्नो नाममा ल्याएपछि प्रसाईको भाग्य चम्कियो । काठको घर भत्काएर उनले जग्गा प्लटिङ गरे । धुरको ५ लाखसम्म मूल्य लिएर केही बिघा जग्गा बेचेर करोडपति बने । काठमाडौँमा पनि जग्गाको कारोबार गरे । भक्तपुरमा आलिसान महल जोडे, जहाँ पछि ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाए ।

ससुरालीबाट लिएको जग्गामा प्रसाईले अस्पताल बनाए । सोही जग्गा बैङ्कमा राखेर करोडौँ ऋण लिए । अस्पतालमा पार्टनरहरू राखेर करोडौँ सङ्कलन गरे, पछि उनीहरूलाई पनि हटाए । कमर्स पढेको सालोलाई पहिले भारत र पछि चीन पठाएर डाक्टर बनाए । एक छोरा र छोरीलाई पनि डाक्टर पढाए । लामो झगडा र मुद्दा मामिला चलेको गिरी परिवारसँग पहिले नराम्रो भए पनि पछि राम्रो भयो । डाक्टर पढेका दुर्गाका छोरा र साला चाहिँ झापामा भलाद्मी व्यक्तिका रूपमा चिनिन्छन् । उनीहरूले चलाएको अस्पताल पनि जिल्लामा राम्रै मानिन्छ ।  

 तथापि प्रसाईले आर्जन गरेको सम्पत्तिको वास्तविक स्रोत भने रहस्यमय रहेको उनलाई सुरुदेखि चिन्नेहरू बताउँछन् । उनले एक–दुई वर्ष अघिसम्म आफ्नो सबै सम्पत्ति बैङ्कमा राखेर ऋण लिएको बताउने गरेका थिए । जति महँगो मेसिन किन्न पनि उनी सहजै पैसा निकाल्थे । पूर्वमा यति धेरै लगानी गरिएको अस्पतालमा उनको मात्र छ । धाइजनमा उनले मेडिकल कलेजको संरचना पनि निर्माण गरिसकेका छन् । त्यहाँ ४/५ बिघा जग्गा छ र भौतिक संरचनाहरू पनि बनिसकेका छन् । प्रसाईको लगानी मेडिकल कलेजमा मात्र छैन, मिडियामा समेत छ । विर्तामोडमा उनले विराट एमफएम सञ्चालन गर्दै आइरहेका छन् ।

 कार्यकर्तालाई हेप्ने, नेताको चाकडी गर्ने

 सेनाले यातना दिएपछि प्रसाईले माओवादीको कुरै नगरौं भन्न थालेका थिए । तर, ०६३ सालपछि माओवादी जब खुल्ला राजनीतिमा आयो, प्रसाईले संकटकालमा पाएको यातनालाई माओवादीका नेतासम्म पुग्ने भर्‍याङका रूपमा ‘क्यास’ गर्न रत्तिभर ढिलाइ गरेनन् । उनले माओवादीका ठूला नेताहरूलाई गाडीमा बोक्ने, आर्थिक सहायता दिने, जिल्लामा प्रयोग गर्न सकिनेहरूलाई आर्थिक, भौतिक सहयोग गर्ने इत्यादि कार्यहरू गर्न थाले ।  

 प्रसाईका लागि माओवादीलाई साथ लिनुपर्ने प्रयोजन सकिएको थिएन । भाटे कारबाहीमार्फत प्राप्त जग्गामा अस्पताल चलाउनु थियो । त्यसलाई सम्बन्धन दिलाउनु थियो । पहिलो संविधानसभापछि माओवादी सत्तामा पुगेको थियो । त्यसपछि पनि प्रचण्ड कुनै न कुनै रूपमा सत्ताको वरिपरि नै थिए । काँग्रेस पृष्ठभूमिबाट आएका प्रसाईलाई माओवादीको फेर समातेर मात्रै सत्ता स्वार्थ पूरा गर्न सकिने स्थिति थियो ।  यिनै कारणहरूले प्रसाई प्रचण्डसँग नजिक भए । बिस्तारै एमाले र माओवादीबीच एकता भएपछि उनलाई झनै खूदो पल्टियो । केपी र प्रचण्डलाई एकै ठाउँमा राखेर मार्सी चामलको भात खुवाउन सक्ने भए ।

यसै क्रममा झापाका केही माओवादी नेताहरूसँग प्रसाईको पानी बाराबारको स्थिति भयो । प्रसाईले प्रचण्डसँगै पहुँच बनाएपछि तलका नेतालाई गन्नै छाडे । सम्पत्तिको धाक खेदाउँदै उनीहरूलाई हेप्न थाले ।

माओवादीको सम्पर्कमा आएका प्रसाईसँग गाडी थियो, नेताहरूलाई बोकेर हिँड्थे तर, तलका कार्यकर्तालाई मान्छे नै गन्दैनथे । खुल्ला राजनीतिमा आएपछि धर्मशिला चापागाईले उनलाई ‘दलाल’ को संज्ञा दिँदै सदस्यता नै खारेज गरिदिइन् । तर, काठमाडौँमा आएर प्रसाईँले सदस्यता नवीकरण गराइछाडे । जनयुद्धकालदेखि नै जेलनेल भोगेकी नेतृ चापागाईले पेरिसडाँडास्थित पार्टी अफिसमै गएर मेडिकल माफियाको सदस्यता किन नवीकरण गरेको भन्दै नेताहरूको सातो लिइन् ।

 आखिर दुर्गा प्रसाईले माओवादीलाई प्रयोग गर्नेजति गरिसकेका थिए । जग्गा आफ्नो नाममा गराएर करोडौँ सम्पत्तिको मालिक बनिसकेकै थिए । अस्पताललाई सम्बन्धन दिलाउन सकिन्छ कि भनेर प्रचण्ड र ओलीलाई समाएका थिए । तर, जब नेकपा फुट्यो र प्रचण्ड–ओलीबीच सत्रुता बढ्यो, प्रसाईले अब आफ्नो लागि प्रचण्डको प्रयोजन सकिएको निष्कर्ष निकाले ।

 ओली सत्तामा लामो समय रहलान् भन्ने ठानेर प्रचण्डलाई सत्तोसराप गर्दै प्रसाईले ओलीलाई साथ दिए । केपी ओलीलाई पनि चुनावमा सहयोग पाइने र प्रसाईको काँधमा बन्दुक राखेर प्रचण्डलाई पड्काउन पाइने लागेपछि उनले प्रसाईलाई पार्टीमा प्रवेश मात्रै गराएनन्, नेकपा एमालेको केन्द्रीय सदस्य नै बनाइदिए ।

प्रसाईले अहिले ५ लाख मानिसलाई एमाले प्रवेश गराउँछु भनेका छन् । तर, एमाले कार्यकर्ताहरू नै उनको अभिव्यक्तिलाई हावादारी बताउँछन् । अस्पताल सञ्चालन गरेर बसेको व्यक्ति ‘प्रोफेसनल’ देखिनुपर्नेमा काँग्रेस र माओवादीलाई पत्तासाफ गर्छु भन्दै राजनीतिमा लागेर हिँड्न थालेपछि अब प्रसाईको अस्पताल नै जोखिममा पर्न सक्ने जिल्लावासीहरू बताउँछन् । अहिले नै उनको अस्पतालमा बैंकले काउन्टर राखेर दैनिक पैसा उठाउन थालिसकेको अवस्था छ । प्रसाईले लिएको ऋण कसरी फर्छ्यौट गर्ने भन्ने तनावमा छन् केही बैंकहरू ।  

 ओलीले उद्धार गरिदिने आशा

 आगामी चुनावमा एमालेले बहुमत ल्याउँछ र केपी ओली फेरि प्रधानमन्त्री बन्छन् भन्ने विश्लेषणका आधारमा प्रसाई एमालेमा लागेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । कथंकाल एमाले सरकारमा जाने स्थिति आएन र काँग्रेसले नै फेरि सरकार बनाउने स्थिति आयो भने प्रसाई आफ्नो अकूत सम्पत्ति र अस्पताललाई जोगाउनका लागि काँग्रेसमा लाग्न सक्ने स्थानीयको विश्लेषण छ । किनभने, ससुरालीलाई कुटेर जग्गा आफ्नो नाममा पार्नुअघिसम्म उनी नेपाली काँग्रेसमै थिए ।

ओलीको सरकारले निरन्तरता पाउँछ र सम्बन्धन पाइन्छ भन्ने ठानेर प्रचण्डसँग सम्बन्ध बिगारेका प्रसाई अहिले ओलीतिर लागिसकेको हुनाले अब फर्केर कतै जाने उनीसँग ठाउँ छैन । उनलाई चुनावपछि फेरि ओलीकै सत्ता आउँछ भन्ने दृढ विश्वास छ । विश्वासमात्रै होइन, उनी ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भनेझैँ माओवादी र काँग्रेसलाई देशैभरिबाट पत्तासाफ बनाइदिन्छु भन्दै हिँडेका छन् ।

 केपी शर्मा ओली पनि त्यागी एवं आलोचनात्मक चेत र कम्युनिस्ट चरित्र बोकेका कार्यकर्ताहरूलाई भन्दा यस्तै पैसा कमाउनेहरू, डन र व्यापारीलाई रुचाउँछन् । उनी भक्तजनहरूलाई रुचाउँछन् । दुर्गा प्रसाईलाई एमालेमा भित्र्याउँदा ओलीले निकै नै महत्त्वका साथ लिएको देखिन्छ ।

तर, नरेश खरेलजस्ता नेतालाई केन्द्रबाट आउट गरेर प्रसाईलाई केन्द्रीय सदस्य बनाएकोमा झापाका एमाले कार्यकर्ताहरू आक्रोशित देखिएका छन् । र, यही कारणले केही माधव नेपालको पार्टीमा जान सक्ने कतिपयको अनुमान छ ।

 विधानले अयोग्य

सांस्कृतिक चेतना स्तरको कुरा गर्दा प्रसाईको बोलीवचन र संस्कार मार्क्सवादी त परै जाओस्, सभ्य समाजमै नपच्ने खालको छ । पैसा भयो भने पत्रकार, अदालत र सबैथोक किन्न सकिने उनले बताउने गरेको संगातीहरू  सुनाउँछन् । यतिसम्म कि पैसा भयो भने अर्काको ‘ओच्छ्यान’समेत किन्न सकिने प्रसाईले बताउने गरेको झापालीहरू सुनाउँछन् ।

त्यसो त नेकपा एमालेको गोदावरी महाधिवेशनले पारित गरेको विधान अनुसार भर्खरै पार्टीमा प्रवेश गरेका प्रसाई एमालेको केन्द्रीय कमिटी सदस्य बन्न अयोग्य पात्र हुन् । एमाले विधानको धारा ६३ (३) मा स्पष्टसँग लेखिएको छ, ‘केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य वा प्रदेश कमिटीको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी वा जनसंगठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप