शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तरलता संकट : खर्बौं लगानी आखिर कहाँ गयो ?

घरखर्च, विवाह र व्रतबन्धमै सात खर्ब ३० अर्ब स्वाहा !
शुक्रबार, ०२ पुस २०७८, १८ : २२
शुक्रबार, ०२ पुस २०७८

बैंक तथा वित्तीय क्षेत्र यतिखेर चरम तरलता संकटमा छन् । तरलता (लगानीयोग्य रकम) अभाव हुँदा बैंकहरूले चाहेको क्षेत्रमा लगानी गर्न पाइरहेका छैनन् भने अत्यावश्यक क्षेत्रमा समेत कर्जा कटौती गरिरहेका छन् । यतिसम्म कि, यतिबेला निक्षेपकर्ता (डिपोजिटर) ले बैंक खाताबाट आफ्नै रकम झिक्नसमेत असहज स्थिति छ ।

ठूलो रकम एकैपटक झिक्न खोज्दा डिपोजिटरहरूलाई बैंकहरूले यो वा त्यो बहानामा रोक्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ । तर, कर्जा माग गर्नेहरूको संख्या भने बढेको बढ्यै छ । गत महिनाको मसान्त अर्थात मंसिर २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले मुस्किलले ४७ खर्ब ९७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गर्न सकेका छन् ।

९० प्रतिशत अर्थात् ४२ खर्ब २८ अर्ब ३५ करोड रुपैयाँ निक्षेप वाणिज्य बैंकहरूले नै संकलन गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा ३० अर्ब रुपैयाँले नै कमी हो । गत कात्तिक मसान्तसम्म बैंकहरूले अधिकतम ४८ खर्ब ३४ अर्ब रुपैयाँ संकलन गरेका थिए । तर, पछिल्ला दिनमा यो दर क्रमशः घटिरहेको छ ।

मंसिर २९ गते ४७ खर्ब ९७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट अर्थात् गत पुस १ गते नै पाँच अर्ब बढी रुपैयाँभन्दा बढी निक्षेप गुमाउँदै बैंकहरूले ४७ खर्ब ९२ अर्ब रुपैयाँ संकलन गर्न सकेका छन् । यो दर अझ घट्ने पक्कापक्की छ ।

किन बढ्दैछ कर्जा माग ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनामा निक्षेप संकलन तुलनामा कर्जा माग चार गुणाले बढेको छ । गत कात्तिक मसान्तसम्म बैंकहरूले कुल ४८ खर्ब चार अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । पछिल्लो महिना अर्थात् मंसिर मसान्तसम्म निक्षेप घटेर ४७ खर्ब ९७ अर्ब रुपैयाँमात्र संकलन गर्न सकेका छन् ।

समीक्षा अवधिमा बैंकहरूले ४१ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह बढाउँदै कुल ४५ खर्ब ९७ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेका छन् ।

मंसिर मसान्तसम्म कर्जा÷निक्षेप स्थिति (१० हजारमा)

स्रोत : राष्ट्र बैंक

उल्लेखित तथ्याङ्क केलाउँदा बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी प्रतिमहिना बढ्दो ग्राफमा छ । तर निक्षेप संकलन अस्थिर छ । यसकारण पनि बजारमा तरलता व्यवस्थापन चुनौतिपूर्ण बनिरहेको छ । अझ, पछिल्लो समय निक्षेप ह्वात्तै घट्दा बैंकहरूलाई तरलता व्यवस्थापनमा निकै सकस परेको छ ।

कहाँ जाँदैछ पैसा ?

यता बैंकहरूको डिपोजिट दर घट्दै गर्दा उता कर्जा लगानी भने दिनानुदिन बढ्दैछ । मंसिर मसान्तसम्ममा बैंकहरूले ४५ खर्ब ९७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेका छन् । तर, पर्याप्त तरलता अभावमा बैंकहरूले चाहेर पनि मागअनुसार कर्जा प्रवाह गर्न सकिरहेका छैनन् ।

कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी (१० लाखमा)

    

स्रोत : राष्ट्र बैंक

राष्ट्र बैंकको प्रतिवेदनअनुसार कात्तिक मसान्तसम्म २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी र ६७ माइक्रोफाइनान्स गरी कुल १२८ वित्त कम्पनीहरूले विभिन्न सेक्टर (क्षेत्र) गरी कुल १६ शीर्षकमा ४५ खर्ब ४५ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये कृषि तथा वनपैदावार क्षेत्रमा तीन खर्ब ६ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी लगानी गएको छ ।

यस्तो लगानी अघिल्लो महिनासम्म तीन खर्ब एक अर्ब ६३ करोड रुपैयाँ गएको थियो । यस महिना सो क्षेत्रमा बैंकहरूले १.५६ प्रतिशतले लगानी वृद्धि गरेको देखिन्छ ।

यस्तै, माछापालनतर्फ अघिल्लो महिनाको तुलनामा तीन प्रतिशतले लगानी वृद्धि गर्दै बैंकहरूले कात्तिक मसान्तसम्ममा कुल ११ अर्ब २७ करोड रुपैयाँ लगानी गरेका छन् । खानी तथा खानीजन्य क्षेत्रमा २.५६ प्रतिशत लगानी घटाउँदै समीक्षा अवधिमा बैंकहरूले आठ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेका छन् ।

समीक्षा अवधिमा कृषि, वन तथा पेयपदार्थ उत्पाद क्षेत्रमा बैंकहरूको लगानी अधिकतम सात खर्ब ३६ अर्ब ६२ करोड कर्जा गएको देखिन्छ । कन्ट्रक्सन (निर्माण क्षेत्रमा) अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले नै कर्जा प्रवाहमा कमी आई दुई खर्ब ३४ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको देखिन्छ ।

विद्युत उत्पादन, ग्यास तथा पानीको क्षेत्रमा दुई खर्ब २० अर्ब, धातुजन्य वस्तु, विद्युतीय सामग्री, उपकरण तथा एसेम्बलिङ प्लान्टका क्षेत्रमा बैंकहरूले कात्तिक मसान्तसम्म कुल ७३ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेका छन् ।

यातायात, सञ्चार तथा प्रविधिको क्षेत्रमा एक खर्ब १ अर्ब ७१ करोड रुपैयाँ लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरूले होलसेल तथा रिटेलर व्यवसायको क्षेत्रमा अधिकतम नौ खर्ब १६ अर्ब ५१ करोड कर्जा प्रवाह गरेका छन् ।

फाइनान्स, बीमा र घरजग्गा कारोबारमा भने यस पटक बैंकहरूले लगानी घटाएका छन् । अघिल्लो महिना यो क्षेत्रमा बैंकहरूले तीन खर्ब ६५ अर्ब २३ करोडभन्दा बढी लगानी गरेकामा कात्तिक मसान्तसम्म ०.९८ प्रतिशतले लगानी कटौती गर्दै तीन खर्ब ६१ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् ।

होटल तथा रेस्टुरेन्ट सेक्टरमा एक खर्ब ९० अर्ब, अन्य सेवा क्षेत्रमा एक खर्ब ८८ अर्ब, स्थानीय तह, स्थानीय सरकारमा १ अर्ब ४१ करोड र अन्य क्षेत्रमा बैंकहरूले चार खर्ब ६३ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

घर खर्चमै सात खर्ब ३० अर्ब स्वाहा

राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म सर्वसाधारण ऋणीहरूले घरखर्चमै सात खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी कर्जा स्वाहा पारेका छन् ।

कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार कन्जम्प्सन (खपत) कर्जा तर्फमात्र कुल सात खर्ब ३० अर्ब ६६ करोड रुपैयाँ प्रवाह भएको छ ।

यस्तो कर्जा केका लागि र किन लगिएको हो भन्ने कुरा स्वयम् कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई नै थाहा छैन ।

सामान्य घरखर्च, विवाह, ब्रतवन्ध तथा चाडवाड मनाउनकै लागि यस्तो कर्जाको उपभोग हुने गरेको र तथ्याङ्कमा नदेखिने राष्ट्र बैंकका सहप्रवक्ता नारायण पौडेल बताउँछन् । यस्तो कर्जा बैंकले कन्जम्प्सन लोन र ओभरड्राफ्टबाट प्रवाह गर्ने गरेको उनले जानकारी दिए ।

आयात कर्जा पनि वृद्धि

राष्ट्र बैंकले दिएको तथ्याङ्कअनुसार पछिल्लो समय मालसामान आयात बढेसँगै सो क्षेत्रमा जाने कर्जासमेत वृद्धि भएको छ । अघिल्लो महिना अर्थात् गत असोज मसान्तसम्म ‘ट्रस्ट रिसिप्ट’ तथा ‘इन्र्पोट लोन’मा बैंकहरूले दुई खर्ब १५ अर्ब २५ करोड रुपैयाँ लगानी गरेका थिए । पछिल्लो महिना कात्तिकमा ३.५७ प्रतिशतले लगानी बढाउँदै दुई खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेका छन् ।

यसले मुलुकमा तरलता अभाव बढाउन थप भूमिका खेलेको संकेत गर्छ । तर, पछिल्लो समय राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो (मार्जिन ल्यान्डिङ) मा ४÷१२ को सीमा तोकिदिएपछि सो शीर्षकमा जाने कर्जामा भने कमी आएको छ ।

असोज मसान्तसम्म बैंकहरूले मार्जिन ल्यान्डिङ शीर्षकमा एक खर्ब तीन अर्ब ९१ करोड लगानी गरेका थिए । पछिल्लो महिना १.८९ प्रतिशतले कमी आई सो शीर्षकको लगानी एक खर्ब एक अर्ब ९५ करोड रुपैयाँमा झरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप