सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिटू’ का दुई बाछिटा !

शुक्रबार, ०२ पुस २०७८, १४ : २३
शुक्रबार, ०२ पुस २०७८

महिलाका भोगाइका कथाले म के नै गर्न सक्छु र भन्ने लघुताभाषलाई कुनै न कुनै रूपमा प्रभावकारी आकार दिँदै आएको छ । यो पंक्तिकार स्वयं पनि तिनै आधा आकाशको एउटा प्रतिनिधि पात्र हो । मेरो भोगाइ पनि समान छ, मलाई सुनाइएका भोगाइ पनि फरक छैनन् । दुई घटनाको चर्चा म यहाँ गर्न चाहन्छु ।

सानैदेखि निडर र हक्की स्वभावकी मलाई म जे गर्छु फरक काम गर्छु, अरूभन्दा अलि भिन्न गर्छु भन्ने थियो । समाज परिवर्तन गर्न १३ वर्षको उमेरदेखि सक्रिय रहँदै आएकी मैले राजनीति र समाज सेवालाई आफ्नो बाटो बनाएकी छु । तर, यो बाटोमा मैले भोग्न नपरोस् भनेको हिंसा भोगेकी छु ।

सबैलाई एक समान व्यवहार गर्ने बानीले गर्दा होला मेरो धेरैसँग संगत छ । यो संगत कुनै एक उमेर समूहमा सीमित छैन । ममाथि मेरो अभिभावकको उमेरका एक व्यक्तिले गलत नियत राखेको अनुभव गरें, जसलाई मैले डटेरै सामना गरें ।

भनिन्छ, हरेक ठाउँमा गलत नियत भएका व्यक्तिहरू भेटिन्छन् । यो आकाट्य सत्य नै रहेछ । झट्ट हेर्दा ठिकठाकै देखिने महिलाहरूलाई त झन कति हो कति गाह्रो छ, यो समाजमा बचेर हिँड्न ।

मध्यरातमा मलाई एक नेताको मेसेज आयो ‘तपाईको सक्रियता कायम रहोस्, मलाई मनपर्यो ।’ उनी मलाई मनपर्ने नेताहरू मध्ये एक थिए, जसका कुरा सुन्दै म हुर्केकी थिएँ ।

मख्ख पर्दै, रिप्लाइ गरें– धन्यवाद, हजुरको साथ र सहयोगले मलाई थप उर्जा प्रदान गरेको छ । कुनै दिन समय मिलाएर अवश्य पनि हजुरलाई भेट्न आउनेछु ।

मेरो यो सामान्य वार्तालापपछि मलाई आएको मेसेज देखेर म झसङ्ग भएँ । सँगै अङ्कमाल गरेर बसौंला जस्ता केही शब्दहरू प्रयोग गर्नुभयो । सबै कुरा लेख्न मेरो कलमले अहिले सकेन । कुनै दिन सामथ्र्य भयो भने फेरि लेखौंला ।

पछि मैले ती नेतालाई भेटेरै भनें, यस्तो व्यवहार मलाई ठीक लाग्दैन । मसँग मात्रै हैन, यो कसैबाट पनि कोही माथि प्रयास नहोस् । झनै तपाई त समाजमा मानिएको एक उदाहरणीय व्यक्तिमा पर्नुहुन्छ ।

उनले मसित माफी मागेर अबदेखि यस्ता कुरा तपाई सँग मात्रै हैन, म कसैसँग गर्दिनँ भन्ने वाचा गरे । त्यसपछि म खासै यस्ता विषयमा डराउन जानिनँ । उहाँसँग ‘खुलेरै’ बोलेँ ।

अर्को घटना

एउटा अन्तरवार्तामा देहव्यापार गर्ने महिलाहरूले यति पैसा लिने गरेका छन् भनेर बताएकी थिएँ । सो अन्तरवार्ता दिएको केही समयपछि बाटोमा एक नाम चलेका व्यापारिक पृष्ठभूमिका व्यक्तिसँग भेट भयो । सुरूमा उनले, ‘नानी के छ खबर ? कता हिँड्नुभाको ? घरमा छोड्दिऔं ?’ भने ।

मैले ‘हजुरको बाटो पर्छ भने छोड्दा फरक पर्दैन भनें । र, उनको गाडीमा बसें । मलाई जानुपर्ने मैतिदेवी थियो, तर उनले अर्कैतिर मोडे ।

‘म त्यता जाने हैन, अर्कै बाटो आयौं जस्तो लाग्यो, भनें । तर, उनले ‘गफ नभएको धेरै भयो, गफ गरौं’ भनेर यतातिर मोडेको जवाफ दिए । र, उनले गफ सुरु गरे, ‘अस्ति तिमीले दिएको अन्तरवार्ता निकै राम्रो थियो, धेरै थाहा रहेछ देहव्यापारका बारेमा ।’

मैले मेरो कामको तारिफ ठानेर सामान्यरूपमा लिँदै भनें, ‘म यी सबै विषयमा अध्ययन गर्छु र केहीसँग कुराहरू पनि बुझेकी छु’

ती व्यक्तिले भने, ‘ठीक हो, बुझनुपर्छ, उसो त ड्रिङ्स पनि गरिन्छ होला है ?’

यतिबेलासम्म पनि उनले केका लागि यी कुरा गर्दैछन् भनेर मैले सोचिनँ । त्यसपछि उनले जे भने, त्यो सुनेपछि मलाई उनको मनसाय बुझ्न बेर लागेन ।

उनले मलाई पिउने अफर गर्दै राति सँगै बसौंला, घर नजानू, कसैलाई थाहा हुँदैन भन्न भ्याए ।

उनको यो कुराले मलाई डर लाग्यो । मैले गाडी यहीँ रोक्दिनु, म हिँडेर जान्छु भनें । तर, गाडी रोकिएन । उल्टै उनले, ‘एउटा नयाँ ठाउँमा लग्छु, पख न भने ।

मैले रोक्नु, नत्र म चिच्याउँछु भनेपछि उनले बल्ल गाडी रोके । मेरो कुरापछि उनी हच्किए होलान् ठानेको थिएँ । तर, होइन रहेछ । गाडीको ढोका खोलेर म हत्तपत्त निस्किँदै उर्दा उनले अझ यसो भने, ‘नानी त्यस्तो कुरा चैं गर्दै हिँड्नुहुन्छ, अनि किन बस्नुहुन्न ?’

उनको कुराले मेरो कन्पारो तात्यो, मैले ‘तपाईं नबोल्नुस्, आज उपरान्त यस्तो मसँग मात्र हैन अरू कसैसँग पनि गरेको सुनें भने जहाँको त्यहीँ सिध्याइदिन्छु’ भनेर थर्काएँ ।

त्यसपछि उनी बोलेनन् । तर, घर आएपछि त्यो मान्छेले मलाई गरेका म्यासेज र कति दिनसम्म दिएका दुःखको त म व्याख्या नै गर्न सक्दिनँ ।

म पनि चुप बसिनँ । ती व्यक्तिलाई अब आइन्दा गल्ती अब दोहोर्याउँदिनँ भन्ने बनाएँ । म दह्री रहेँछु र मैले सामना गरेर त्यसबाट बाहिर निस्किन सकें । तर, अहिले मलाई माफी मात्र मगाएर उनलाई छाडेकोमा थकथकी लागिरहेको छ ।

हरेक महिलाले यसरी मैलेजस्तै गर्न सक्छन् भन्ने छैन । यस्ता अरू घटनाको फेहरिस्त नै मसँग छन् । यी घटनाहरूबाट मैले केही कुराहरू सिकें, जुन म तपाईहरूसँग बाँड्न चाहन्छु ।

प्रथमतः कसैले गलत मनसाय राखेर केही कुरा गर्छ वा भन्छ भने हामीले नो, नाइँ, हुँदैन भन्नुपर्छ नत्र जीवनभरि हिंसामा परिरहिन्छ । दोस्रो, कुनै पनि घटना भएपछि नआत्तिकन शान्त मनले सोच्नुपर्छ, त्यसले हामीलाई अन्य उपाय देखाउँछ । तेस्रो, आफ्नो एकदमै नजिकको र सही सल्लाह दिन सक्ने परिपक्व व्यक्तिलाई घटनाको प्रकार बुझाउन सक्नुपर्छ । मुख्य रूपमा यस्ता घटनाका बारेमा बोल्नुपर्छ, अरू हिम्मत त्यसपछि आफैं आउन थाल्छ । आफूभित्रको शक्ति थाहा हुन थाल्छ ।

यसो भनिरहँदा मलाई केही वर्षअघि विश्वलाई झक्झकाएको मिटु अभियानको याद आउँछ । त्यसअघिसम्म कसले सोचेको थियो कि आफ्नै नाम, पहिचान र आर्थिक हैसियत भएका हलिउड अभिनेत्रीहरू समेत हिंसाका शिकार थिए भनेर । जब, उनीहरूले बोले, तब संसार स्तब्ध भयो, वर्षौं दबिएका कयौं आवाजहरू मुखरित भए ।

हो, ती आवाजहरूलाई दबाउने अनेक प्रपञ्च भए । पीडितलाई नबोल्न र मुद्दा फिर्ता लिन मोलभाउसमेत लगाइए । तर, उनीहरू त्यसका विरूद्ध डटे । फलस्वरूप हार्वे वाइन्स्टिन जस्ता व्यक्ति आज जेलमा छन् । सोको ‘वाइन्स्टिन प्रभाव’ अझै जारी छ ।

यो अभियानमा केही व्यक्तिले उन्मुक्ति पनि पाए । तर, उनीहरूको नाम धुमिल भएको छ । समाजका अगाडि उनीहरू कंलकित भएका छन् । आफ्नो व्यक्तित्वको प्रभावलाई गलत प्रयोग गरिँदा त्यो कुन हदमा दुषित हुन्छ भन्ने पनि संसारले देख्यो । यसले मजस्ता युवती तथा नारीलाई एउटा साहास भने अवश्य दिएको छ ।

मलाई थाहा छ, महिलामाथिका हिंसाको सिलसिला यस्ता एकाध घटनाले निमिट्यान्न हुनेछैन । तर, हिंसा गर्ने सोच राख्नेहरूलाई सोचमग्न भने बनाएको छ । मलाई लाग्छ, त्यस्तो गर्नुअघि उनीहरूले एकपटक परिणामका बारेमा सोच्नेछन् ।

मिटू अभियानको केही बाछिट्टा नेपालमा नगन्य प¥यो । पीडकमाथि यसले सानो प्रभाव पारेको होला, तर दैनिकरूपमा कुनै न कुनै प्रकारका हिंसामा पर्नेहरूलाई भने ठूलै प्रभाव पारेको छ । उनीहरूमा कम्तिमा बोल्नुपर्छ भन्ने परेको छ ।

यसलाई अझ बुलन्द पार्नुपर्छ भन्ने मलाई लाग्छ । यसका लागि पुरूषहरू हामीले सोचेजसरी नआउन सक्छन् । राज्य र यसका नीति निर्माता कर्मकाण्डीजस्तो मात्र हुन सक्छन् । उनीहरू जे भए पनि हामी महिलाहरू भने उनीहरूभन्दा दुईकदम अगाडि बढ्ने हो भने यसलाई निकै कम गर्न सकिन्छ । यसका लागि हामी महिलाहरु एक ठाउँमा आउनुपर्छ । ऊ नै म हो र मजस्तै ऊ पनि हो भनेर अघि बढ्नुपर्छ ।

पुरूषहरुले पनि महिला भनेकी मेरी आमा, छोरीबुहारी, दिदीबहिनी, पत्नीका रुपमा आफूसँग जोडिएकी छिन् भन्ने बुझेर उनीहरूको सम्मानका लागि बोल्नुपर्छ र व्यवहार गर्नुपर्छ । यस्तो हुँदा हामीले कल्पना गरेको समतामूलक समाज हामीबाट पर छैन ।

महिला तथा बालिका विरूद्ध हुने लैङ्गिक हिंसा अन्त्यका लागि आह्वान गरिएको विश्वव्यापी १६ अभियान केही दिन अगाडि सकिएको छ । नारामा महिलामाथि हुने हिंसाको तुरून्त अन्त्य होस् भन्ने माग गरिए पनि यो सुन्दर संसारको यात्राका लागि अझै राम्रो यात्रा बाँकी नै छ । हिंसामा परेका जोकोही महिलाको पक्षमा उभिऔं ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप