शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको व्यवस्था मिलाउन निर्देशन

शुक्रबार, ०२ पुस २०७८, १४ : १०
शुक्रबार, ०२ पुस २०७८

गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पार्नु भयो । गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरूमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाई थियो । गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरूले कोरोना सङ्कट, बाढी, पहिरोलगायतका प्राकृतिक विपद्मा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । उनले गैर सरकारी संस्थाहरूको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए ।

गृहमन्त्री खाँणले भने, ‘तपाईहरु गैरसरकारी संस्थामार्फत लाखौँ नेपाली दिदीबहिनीहरू, दाजुभाइहरू देश विकासको अभियानमा हुनुहुन्छ । त्यसकारणले तपाईंहरुको कठिनाइलाई ध्यान राखेर सरकारले हस्तक्षेपकारी भूमिका होइन, नियन्त्रणकारी भूमिका होइन । गैरसरकारी संस्थाका सन्दर्भमा वा अन्य उद्योगी, व्यवसायी संस्था र कम्पनीहरूका लागि पनि सरकारले सहयोगी भूमिका निर्वाह गर्नेछ । तपाईंहरुले काम गर्ने क्रममा सायद सुरक्षाको त्यति काम पर्दैन होला । आवश्यक पर्‍यो भने जिल्ला सुरक्षा निकायले तपाईंहरुलाई सुरक्षा प्रदान गर्नेछ । म यसै मञ्चबाट गृह मन्त्रालय मातहतका सुरक्षा निकायहरूलाई, प्रशासनलाई निर्देशन दिन चाहन्छु–गैर सरकारी संस्थाहरूलाई आवश्यक परेको सहयोग, विधिसम्मत सहयोग र सुरक्षा तत्काल उहाँहरूको माग अनुसार पूरा गर्नुहोस् । मुलुकको निर्माण हामी सबैले मिलेर गर्ने हो । मुलुक विकासका लागि नियन्त्रित शासन प्रणालीबाट सम्भव छैन भन्ने कुरामा सरकार विश्वस्त छ । जनताको सहभागितामा मात्रै मुलुकको विकास र समृद्धि हुने हो ।’

गृहमन्त्री खाँणले जनताको व्यापक सहभागिता मुलुकको विकास र समृद्धि हुने भएकाले सरकारले सोही अनुसार सहजीकरणको कामलाई अघि बढाउने बताउनु भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप