आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा अपवित्र गठजोड भयो, तर हामीले राजनीति जित्यौँ : शेखर कोइराला

'४० प्रतिशत मतले भावविभोर भएको छु'
शुक्रबार, ०२ पुस २०७८, १८ : ००
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसको सभापति पदमा पराजित नेता शेखर कोइरालाले  १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएको बताएका छन् । उनले आफूहरु त्यस्तो गठजोडसँग रहेको बताउँदै चुनावमा पराजित भएपनि राजनीति भने जितेको जिकिर गरेका छन् । 

‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नका लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ’, उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।  

आफू पार्टी सभापतिमा पराजित भएपनि लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको समेत कोइरालाले बताएका छन् । ‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले काँग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं’, विज्ञप्तिमा भनिएके छ । 

उनले आफूलाई प्राप्त मतले काँग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै भनेका छन्, ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु ।’

उनले  पार्टी भित्र रुपान्तरण र परिवर्तनको सहज नभएको पनि उल्लेख गरेका छन् । ‘वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौ पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णय विरुद्ध’, उनले भनेका छन्, ‘पार्टीको १४ औँ महाधिवेशनको प्रतिस्पर्धा पार्टी भित्र यथास्थितिवादी र परिवर्तनकारी बीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताहरूको भरोसा र विश्वास थियो ।’

उनले आफूलाई मत दिने सबै प्रतिनिधिलाई धन्यवाद दिँदै सभापतिमा निर्वाचित शेरबहादुर देउवा र अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।  उनले अब काँग्रेसलाई एक ढिक्का बनाएर चुनाव जानुपर्नेमा पनि उनले जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप