शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्टेज क्विनः भूमिका

‘घर लान्छु भन्दै स्टेजमै तान्न आउँछन्’
शुक्रबार, ०२ पुस २०७८, १० : ३२
शुक्रबार, ०२ पुस २०७८

‘चोली मैलै भो,

मैले तिम्लाई नभन्या मात्रै हो

मन पर्यो पैलै हो...’

पछिल्लो समय प्रायःको मुखमै झुन्डिन सफल गीत हो यो । विवाह, पार्टी, पिकनिक र दोहोरी साँझमा समेत यो गीत सर्वाधिक बज्न थालेको छ । गायिका भूमिका गिरीको स्वर रहेको यो गीत सामाजिक सञ्जाल टिकटकमा त भाइरल नै भएको छ ।

यो गीत करिब एक वर्षअगाडि सार्वजनिक भएको हो । तर अहिले आएर गीत भाइरल भएको छ । ‘गीत अहिले भाइरल हुनुमा साना भाइबहिनीको हात छ’ गिरी भन्छिन्, ‘उहाँहरुले गीत लाइभ दोहोरी बनाएर युट्युबमा ल्याएपछि अहिले चर्चामा आएको हो ।’

डिसेम्बर २०२० अर्थात् एक वर्षअगाडि सार्वजनिक यो गीतको  अहिलेको चर्चा तेस्रो हो । पहिलो पटक यो गीत सार्वजनिक हुँदा भएको थियो । ‘कोरोनाको निषेधाज्ञापछि जब स्कुल खुल्यो । त्यसपछि फेरि यो गीत चर्चामा आयो,’ गायिका गिरीले थपिन्, ‘६ दिन स्कुल महिनामा आउँछौ, गफाडीले हजारै गफ लाउँछौ’ भन्ने गीतमा शब्द छ । यो शब्दमा स्कुले केटाकेटीले टिकटक बनाए । त्यसपछि फेरि चर्चामा आयो ।’ गीतमा स्कुले जीवनका प्रेमकथा रहेको र भिडियोले पनि स्कुले परिवेश समेटेको कारण कारण विद्यार्थीको रोजाइमा परेको उनको बुझाइ छ ।

पश्चिमेली शैलीमा तयार यो गीतलाई गायिका भने ठेट लोकदोहोरी भाका भन्छिन् । प्रकाश दुतराजको शब्द तथा संगीत रहेको गीतमा भूमिकालाई प्रकाशले नै स्वरमा साथ दिएका छन् । गायन सहकार्य मात्र होइन, गीतको भिडियोमा पनि यी दुवैको अभिनय देख्न सकिन्छ । लगानीसमेत आफ्नै रहेकाले गीत उनले आफ्नो पर्सनल युट्युब च्यानल भूमिका गिरीबाट सार्वजनिक गरेकी छिन् ।

सिक्वेलको तयारी

गायिकाले करिब दस लाख भ्युज पाउने अनुमान गरेकोमा मंसिर मसान्तसम्म ३७ लाख बढी भ्युज पाएको छ । ‘गीतले मैले सोचेभन्दा तेब्बर भ्युज पाइसकेको छ’ उनले दङ्ग हुँदै भनिन्, ‘त्यो भन्दा पनि यो गीत रेडियो, टिभी, पार्टी, विवाह, उत्सव, दोहोरी साँझ सबैतिर गुन्जिन्छ । त्यो ठूलो कुरो हो ।’ सामाजिक सञ्जालदेखि अग्रज र मिडियाबाट समेत गीतको सकारात्मक प्रतिक्रिया आएकोले यो सदाबहार गीत बन्ने उनले विश्वास गरेकी छन् । त्यसैले पनि उनी अहिले ‘चोली मैलो भो २’ को सोचमा छिन् । यसमा स्कुलबाट एक तह अघि बढेर कलेजको प्रेम समेट्ने विषयमा उनको सहकर्मी प्रकाशसँग छलफल भइरहेको छ ।

थपियो चुनौती

‘तारासँगै जुन, बिर्स्याै कि मायाले मैले लाएको गुन’, ‘हङकङको चुरोट गोरखपुरको सलाई’, ‘नरिसाउ न कान्छु, एकै छिनलाई जान्छु’, ‘सररर आउ माया मिनिबस चढेर’ लगायत भूमिकाका थुप्रै गीत हिट छन् । उनलाई गायनमा स्थापित गर्ने गीत भने ‘तिउन मिठो बनायौ चुकैले, त्यो दिलभित्र अर्कैलाई राखेर मलाई ठिक्क बनायौ मुखैले’ बोलको हो ।

‘तिउन मिठो...’ दोस्रो लोकदोरी गीत बजारमा आएपछि भने उनले पछाडि फर्किएर हेर्नु परेन । उनको रेकर्ड भएर आएको पहिलो गीत भने ‘लौका चाख्ने मौका देउ’ रोइला गीतको रुपमा सन् २०१४ सार्वजनिक भएको थियो । अहिलेसम्म २० भन्दा बढी बाहिरको  गीतमा स्वर दिएकी उनको आफ्नै प्रस्तुतिका गीत करिब ३५ छन् ।

अहिलेसम्मका गीतबाट कहिलै प्रेसर महसुस नगरेकी भूमिकाले ‘चोली मैलो भो’ बाट भने चुनौती थपिएको महसुस गरेकी छन् । ‘यो गीतले सबैको नजरमा म राम्रो गायिका भनेर परेकी छु,’ उनले भनिन् ‘सबैको विश्वास कायम राख्ने र अझै राम्रो गीत दिनुपर्ने प्रेसर बढेको छ ।’ अब संख्याभन्दा ‘क्वालिटी’लाई जोड दिने ध्याउन्नमा छिन् ।

स्टेज क्विनः भूमिका

भूमिका लाइभ लोकदोहोरीकी चर्चित गायिका पनि हुन् । स्टेज कार्यक्रममा उनी दोहोरीको अलावा आफ्नो हाउभाउबाट पनि दर्शक आकर्षित गर्न माहिर मानिन्छिन् । त्यसैले पछिल्लो समय उनी लोकदोहोरी गायिकामध्ये ‘स्टेज क्विन’को नामले परिचित छिन् ।

सानैदेखि गाउँघरका, क्लबमा, स्कुलका कार्यक्रममा गाउँदै गायनमा प्रवेश गरेकी उनले व्यावसायिक गायन यात्रा भने २०६६ बाट दोहोरी साँझदेखि सुरु गरेकी हुन् । दोहोरी साँझमा सुरुमा राष्ट्रिय गीत, त्यसपछि ‘सालै जो’, ‘कौडा’ हुँदै लाइभ दोहोरी सुरु गरिन् ।

उनको अनुभवले भन्छ, प्रायः गायक गायिकाको स्कुलझैँ दोहोरी साँझ भएको छ । ‘नेपालका अधिकांश लोकदोहोरी कलाकार दोहोरी साँझबाट नै जन्मिएका छन्,’ उनले भनिन् ‘सुर, ताल र अन्य ज्ञान स्कुलबाट सिक्न मिल्छ होला । त्योबाहेकको सबै ज्ञान दोहोरी साँझबाटै मिल्छ ।’ दोहोरीमा नजिकबाट संगीत सिक्न मौका मिल्ने उनले सुनाइन् ।

लाइभ लोकदोहोरी सुरु गरेपछि भने गिरीले देश विदेशका कार्यक्रमले फुर्सदमा बस्नु परेको छैन । ‘लाइभ दोहोरी’ मा उनले चर्चित गायकहरु पशुपति शर्मा, राजन ठकुरी, राजु परियारलगायत धेरै अग्रज तथा समकक्षीसँग स्वदेश तथा विदेशमा स्टेज सेयर गरेकी छिन् । ‘अग्रजहरुसँग लाइभ दोहोरीमा सुरुमा डर तथा नर्भस पनि भइन्छ’ उनले भनिन्, ‘गाउँदै जाँदा कम्फर्टेबल हुन र सिक्न धेरै मिल्ने भएकोले सधै अग्रजसँग काम गर्ने इच्छा हुन्छ ।’

उनले अहिलेसम्म आफ्नो गीत आफैले लेखेकी छैनन् । ‘लाइभ लोकदोहोरी पनि त्यति सजिलो त  होइन,’ उनले भनिन्, ‘लाइभमा अवस्थाअनुसार कुरा भन्न मिल्छ । कसैले दिएको जवाफ फर्काउने हो । त्यसैले केही सजिलो लाग्छ । तर रेकर्ड गर्ने हिसाबले गीत लेख्न अझै आँट छैन ।’

दुईअर्थी शब्द चाहिन्छ

पछिल्लो समय बजारमा भित्रिने लोकदोहोरी एल्बम तथा मेला महोत्सवमा हुने स्टेज लाइभ लोकदोहोरीमा दुईअर्थी शब्दको प्रयोग भरमार हुन थालेको छ । एल्बममा नभए पनि भूमिकाले लाइभ लोकदोहोरीमा कार्यक्रममा प्रशस्तै दुईअर्थी शब्द प्रयोग गर्ने गरेको देख्न सकिन्छ । लाइभ लोकदोहोरीमा त्यस्ता शब्दको प्रयोग जायज ठान्छिन् उनी ।

‘मेला महोत्सवमा सबै रमाउन आएका हुन्छन्,’ उनले भनिन्, ‘दर्शक यस्ता शब्दमा बढी रमाउँछन्, नाच्छन् । त्यसैले प्राथमिकता पर्ने गरेको छ ।’ गीत सुरु गर्दा दुईअर्थीबाट सुरु नहुने तर बीचमा आइपर्ने सिचुएसनले त्यस्ता शब्दको प्रयोग अनिवार्य बनाउने उनी सुनाउँछिन् । ‘दर्शकको सेन्टिमेन्ट बुझेर दुईअर्थी शब्दको प्रयोग गर्नुपर्ने हुन्छ । कार्यक्रममा स्रोताहरु यस्ता गीतमा निकै इन्जोय गर्छन् । पछि घरमा गएर कुरा काट्छन् पनि होला,’ उनले थपिन्, ‘स्टेजमा दर्शकको ताली र हुटिङको जोशमा गीत गाइन्छ । फर्किएर हेर्दा त्यस्तो पनि गीत गाइएछ भने जस्तो पनि लाग्छ ।’

लाइभ दोहोरीका पनि तितामिठा अनुभव प्रसस्तै छन् उनीसँग । लाइभ दोहोरीमा दुईअर्थी शब्दको प्रयोग गर्दा कतिपय दर्शकले उनलाई छाडा केटीका रुपमा पनि हेर्दा रहेछन् । कतिले मसँग गैहाल्छे भन्ने सोचेर स्टेजमा तान्छन् । स्टेजका यी क्रियाकलाप नर्मल रुपमा लिएकी छिन् उनले । व्यक्तिगत जीवनमा पनि उनलाई धेरैले त्यस्तै सोचेर ‘जजमेन्ट’ समेत गर्दछन् । यो कुरोमा उनको चित्त दुखाइ छ ।

‘स्टेजमा जे भए पनि बाहिर भने मेरो व्यक्तित्व अलग छ । माछा, मासु, मदिरा र धूमपान नगर्ने म घरमा जेठी छोरी भएकोले व्यावहारिक पनि छु,’ उनले दुःखेसो गरिन्, ‘तर स्टेजमा दर्शक नचाउने हिसाबले खुल्ला हुँदा नराम्रो चरित्रको ठान्दा दुःख लाग्छ ।’ 

दुःख के रहेछ ?

भूमिकाले गायनबाट नाम, दाम र देशविदेशको यात्रालगायत धेरै थोक पाएकी छन् । यो हिसावले उनी खुसी हुनुपर्ने हो । तर उनी दुःखी छिन् । कारण हो, लोकदोहोरी गायकलाई समाजले हेर्ने नराम्रो दृष्टिकोण । लोकदोहोरी गायिका नेपालका राष्ट्रिय गायिका हुन् । त्यो सबैले बुझ्नुपर्ने उनको जिकिर छ ।

‘हामीले हाम्रो संस्कृतिको प्रतिनिधित्व गरिरहेका हुन्छौं । तर दोहोरी गाउने भनेर हेप्ने गरिन्छ,’ उनले भनिन् ‘नबुझ्नले मात्र होइन, बुझ्नेले पनि हेला गर्दा बढी दुःख लाग्छ ।’

लोकदोहोरीकै कारणले अहिलेसम्म करिब दुइ दर्जन विदेश यात्रा गरिसकेकी छिन् । अहिलेसम्म अविवाहित उनी गीतसंगीतका माध्यमले लाखौंको मनमा बास गर्न सफल छिन् । आफ्नो मनमा बास गर्ने राजकुमार भने उनले अहिलेसम्म फेला पार्न सकेकी छैनिन् । ‘स्टेजमै लान्छु भन्ने, तान्ने, फेसबुके विवाह, प्रेमको प्रस्ताव राख्ने धेरै छन्’ उनले भनिन् ‘तर मनमा बस्ने कोही पाएकी छैन । त्यो पाएका दिन लगन जुर्छ ।’

सर्वाेत्कृष्ट नवगायिकादेखि उत्कृष्ट गायिकासम्म उनले गायनबाट थुप्रै अवार्ड र पुरस्कार हात पारेकी छन् । पुरस्कार, सम्मानले आफूलाई झनै परिपक्व बनाएको उनी बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप