शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकन अभिनेत्रीको गोली हानी हत्या

शुक्रबार, ०२ पुस २०७८, १० : ०२
शुक्रबार, ०२ पुस २०७८

मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुक धारीले गोली चलाउँदा उनको मृत्यु भएको हो । त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए । 

प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनु अघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए । मेक्सिकोमा दैनिक रूपमा १० जना महिलाको हत्या हुने त्यहाँको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

मेनडोजा सन् २००५ मा रिलिज भएको फिल्म ‘ला मेरा रेना डेल सुर’को प्रदर्शन पछि चर्चामा आएकी थिइन् । पाँचवटा साङ्गीतिक एल्बम सार्वजनिक गरेकी उनले दर्जनौँ ओपेरामा प्रस्तुति दिइसकेकी छन् ।

सन् २०१० मा अज्ञात समूहले उनी र उनका पतिसहित ६ महिने छोरालाई अपहरण गरेका थिए । त्यसपछि उनले मोरिलोस स्टेट अटर्नी जनरल कार्यालयमा आफूलाई ज्यानको धम्की आइरहेको भन्दै निरन्तर अपिल गरिरहेकी थिइन् । उनको हत्यामा कसको संलग्नता थियो भन्ने अझै खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप