ad
x
सम्झनामा रमेश विकल

विकलले निर्माण गरेकै समृद्ध धारा हो अहिलेको प्रगतिवादी नेपाली साहित्य : प्राडा रमेश भट्टराई

person explore access_timeपुस २, २०७८ chat_bubble_outline0

रमेश विकल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा सुपरिचित छन् । उनी १९८५ कात्तिक २९ गते चन्द्रशेखर र छायादेवी चालिसेका सुपुत्रका रूपमा जन्मेका थिए । काठमाडौँ, जोरपाटीस्थित आरुबारीमा जन्मिएका विकलको न्वारानको नाम इन्दुशेखर हो भने नागरिकताको नाम चाहिँ रामेश्वर शर्मा चालिसे हो । चित्रकला सिर्जनामा उनले रवि चालिसे पनि लेख्ने गरेको पाइन्छ । तर नेपाली साहित्यमा भने उनी रमेश विकलका नामले सुप्रसिद्ध छन् ।


बीए, बीएडसम्मको औपचारिक शिक्षा प्राप्त गरेका विकलको साहित्यिक यात्रा खोज्दै जाँदा विसं २००५ मा ‘सन्देश’ नामको हस्तलिखित पत्रिकामा कविता प्रकाशन भएको कुरा उल्लेख भए पनि उनको सार्वजनिक साहित्यिक यात्रा भने ‘शारदा’ (२००६) पत्रिकाको चैत अङ्कमा ‘गरिब’ कथा प्रकाशित भएपछि सुरु भएको देखिन्छ । कथा, उपन्यास, नाटक, यात्रा, आत्मसंस्मरण, व्यङ्ग्य र बालसाहित्य गरी उनका करिब ५५ वटा पुस्तक प्रकाशित छन् । सातवटा कथा सङ्ग्रह, चारवटा उपन्यास, चारवटा नाटक एकाङ्की, तीनवटा यात्रासाहित्य, दुईवटा आत्मसंस्मरण, एउटा व्यङ्ग्य, २७ वटा बालसाहित्य र सातवटा अनुवादका कृति प्रकाशित छन् ।



नयाँ सडकको गीत (२०१९), बिरानो देशमा, एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा (२०२५), आज फेरि तन्ना फेरिन्छ (२०२४), शव, सालिक र सहस्र बुद्ध, उर्मिला भाउजू (२०३५) उनका कथा सङ्ग्रह हुन् । उपन्यासहरूमा सुनौली (२०३१), अविरल बग्दछ इन्द्रावती (२०३९), सागर उर्लन्छ सगरमाथा छुन (२०५२), यात्रा साहित्यमा सात सूर्य एक फन्को, निलगिरिको छायाँमा आदि छन् । यसैगरी नाटकहरूमा सरदार भक्ति थापा (२०३९), मिल्किएको मणि हुन् भने बालसाहित्यमा अगेनाको डिलमा, विक्रम र नौलो ग्रह, सात थुँगालगायत पुस्तक प्रकाशित छन् । उनले अङ्ग्रेजी लेखक ज्याक लन्डनको कृति ‘द सी उल्फ’को नेपालीमा अनुवाद पनि गरेका थिए । निधन हुनुअघि उनले अङ्ग्रेजी लेखक म्यारी सेलीद्वारा लेखिएको ‘फ्रेन्केस्टेन’ उपन्यासको पनि नेपालीमा अनुवाद गरेका थिए ।



नेपाली साहित्यको विकासमा योगदान पुर्याएबापत उनलाई विभिन्न संस्थाहरूले अभिनन्दन गरेका थिए । उनको जीवनको पहिलो पुरस्कार भने मदन पुरस्कार नै थियो । उक्त पुरस्कार ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहका लागि २०१८ सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनले यो पुरस्कार पुस्तक प्रकाशनपूर्व पाण्डुलिपिबाट नै पाएका थिए ।



उनले मदन पुरस्कार २०१८, महेन्द्र प्रज्ञा पुरस्कार २०३८, साझा पुरस्कार २०५०, नेवासास पुरस्कार २०५०, नूरगङ्गा बालसाहित्य पुरस्कार २०५७, कृष्णमणि साहित्य पुरस्कार २०५९, गोकुल जोशी पुरस्कार २०६०, युद्धप्रसाद मिश्र पुरस्कार २०६२, देवकुमारी थापा साहित्य पुरस्कार लगायत थुप्रै पुरस्कार प्राप्त गरेका छन् ।



२०१८ सालमा प्रचार विभागका नायब सुब्बाबाट सरकारी सेवा सुरु गरेका उनले जनक शिक्षा सामग्री केन्द्रमा पनि जागिर खाए । त्यसपछि प्राथमिक शिक्षा परियोजनामा सम्पादक हुँदै पछि त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा उपप्राध्यापक भएर सेवा गरे । उनी २०५१ सालमा प्रज्ञा प्रतिष्ठान परिषद्का सदस्य पनि भएका थिए ।



नेपाली समाजका वर्गीय विभेद, शोषण र दमनलाई साहित्यमा प्रतिविम्बन गराउन निरन्तर लागिपर्ने विकलको श्वासप्रश्वाससम्बन्धी रोगको उपचारका क्रममा २०६५ पुस २ गते ८१ वर्षको उमेरमा जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा देहान्त भएको थियो । यही सन्दर्भमा नेपाली साहित्यमा रमेश विकलले दिएको योगदानका बारेमा प्रगतिवादी लेखक तथा साहित्यकार प्राध्यापक डाक्टर रमेश भट्टराईसँग गरेको कुराकानी :



–रमेश विकल तपाईंका नजरमा कस्ता साहित्यकार हुन् ?



रमेश विकल नेपाली साहित्यमा प्रगतिवादी, प्रगतिशील दुवै कोणलाई व्यक्त गर्ने साहित्यकार हुनुहुन्छ । उहाँका रचनाका आधारमा, व्यक्तित्वका आधारमा, उहाँको सिर्जन प्रक्रिया र सिर्जनका आधारमा हेर्दा रमेश विकललाई निर्विवाद रूपमा प्रगतिशील साहित्यकार भन्न सकिन्छ ।

–नेपाली साहित्यका क्षेत्रमा उनको योगदान चाहिँ कस्तो देख्नुभएको छ ?

रमेश विकल विविध विधामा कलम चलाउने साहित्यकार हुनुहुन्छ । उहाँको मूल क्षेत्र गद्य हो । त्यसमध्ये पनि कथा सङ्ग्रहहरू छन् । जस्तो नयाँ सडकको गीतदेखि एउटा बूढो भ्याइलिन आशाबरीको धुनमासम्म आइपुग्दा छ, सातवटा कथा सङ्ग्रह प्रकाशित छन् । ती कथा सङ्ग्रह र ४ वटा उपन्यास, एउटा बाल उपन्याससहित, दुईवटा संस्मरण छन् । उहाँले बालसाहित्यमा कलम चलाउनुभएको छ ।

व्यक्तिगत रूपमा एकदमै सरल स्वभावको हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालयमा सँगै प्राध्यापन गराउँदा मैले देखेको छु । केही सरसामान किन्नुपर्यो भने पनि महँगो नकिन्ने, सस्तो सस्तो खालको किन्नुपर्छ भन्नुहुन्थ्यो । खाँदा पनि ठूल्ठूला होटलहरूमा र मीठोमसिनोभन्दा पनि सामान्य पेट भर्ने चना चिउरा खानेखालको हुनुहुन्थ्यो ।

हामीकहाँ बालसाहित्य अत्यन्त उपेक्षित रूपमा रहेको छ । तर उहाँले बालसाहित्यको लेखन र प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । बालसाहित्यमार्फत हाम्रा बालबालिकाहरूको प्रगतिशील विचार निर्माण र नयाँ ज्ञान निर्माणमा उच्च योगदान दिनुभएको छ । विधागत रूपमा हेर्दा विविध विधाका सर्जक हुनुहुन्छ । उहाँले नाटक पनि लेख्नुभएको छ । विचारधारात्मक हिसाबले प्रगतिवादी नै हुनुहुन्छ । प्रगतिवादमा उहाँको आस्था थियो । त्यही आस्थाकै बीचबाट उहाँ बित्नु पनि भयो ।

–बालसाहित्यका प्रवर्तक हुन् भन्न खोज्नुभएको हो ?

बालसाहित्य त उहाँभन्दा पहिले पनि लेखिएका थिए । तर बालसाहित्यको अभिवृद्धि गर्ने र प्रगतिशील दृष्टिकोण दिने काम उहाँबाट भएको छ । बालासाहित्यमा बालमनोविज्ञान, बालकहरूलाई अन्धविश्वासबाट मुक्ति र नयाँ चेतना र विचार दिने काम उहाँबाट भएको हो । किनभने बालसाहित्यमा पनि विचारधाराको कुरा खुब गरिन्छ । तर हामीकहाँ विचारधारमा सचेत भएर कसैले पनि लेख्दैन । तर उहाँले विचारधारात्मक रूपमा बालबालिकाको सचेततालाई बुझेर लेख्नुभएको छ र त्यो प्रगतिशीलतालाई पनि बुझ्नुभएको छ ।

यस हिसाबले उहाँ बालसहित्यको नयाँ धारा निर्माण गर्ने एक सचेत साहित्यकार हुनुहुन्छ ।

पछिल्लो चरणमा उहाँ राजनीतिक रूपमा उदासीन हुनुहुन्थ्यो । के अर्थमा भने लोकतन्त्र आयो, गणतन्त्र आयो, त्यसले केके न गर्छ भन्ने आशा भए पनि केही गरेन भन्नेखालको निराशा उहाँमा थियो । यसलाई हामी अर्गानिक इन्टलेक्चुअल भन्छौँ, जसले समस्यालाई राख्छ ।

–उहाँको निकट रहेर काम पनि गर्नुभयो, व्यक्तिगत स्वभाव चाहिँ कस्तो खालको थियो ?

व्यक्तिगत रूपमा एकदमै सरल स्वभावको हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालयमा सँगै प्राध्यापन गराउँदा मैले देखेको छु । केही सरसामान किन्नुपर्यो भने पनि महँगो नकिन्ने, सस्तो सस्तो खालको किन्नुपर्छ भन्नुहुन्थ्यो । खाँदा पनि ठूल्ठूला होटलहरूमा र मीठोमसिनोभन्दा पनि सामान्य पेट भर्ने चना चिउरा खानेखालको हुनुहुन्थ्यो । सबैसँग बोल्ने, सजिलै घुलमिल हुने स्वभावको हुनुहुन्थ्यो । हामी सबैलाई तिमी भन्नुहुन्थ्यो, हामी उहाँलाई दाइ भन्थ्यौँ । समग्रमा हार्दिक मान्छे हुनुहुन्थ्यो ।

–कहिलेकाहीँ गुनासो पोख्ने, रिसाउने पनि गर्नुहुन्न थियो र ?

उहाँले एउटा कुरामा गुनासो गर्नुभएको मलाई याद छ । एक पटक एकेडेमीमा काम गर्ने र यता ‘टीयू’ सरकारी सेवाबाट पेन्सन पकाउने दुईथरीको कुरा आउँदा एकतिरको मात्र सुविधा दिने भए । उहाँले एक दिन मलाई बोलाएर यो व्यवस्था चाहिँ एकदमै भएन, लेखकले कम्तीमा एउटा सानो पेन्सन पायो भनेर मान्छेहरूले रिस गरे । यसको विरोध गरौँ । तिमीहरू पनि बोल भनेर हामीलाई भन्नुभएको थियो । त्यो भनेको आजीवन सदस्य भएबापत दिने भत्ता र सरकारी सेवाबाट पाउने पेन्सनका बारेमा हो । पेन्सन र भत्तामध्ये एउटा मात्र दिने भन्ने विषयमा उहाँले गुनासो गर्नुभएको थियो । अरू त्यति धेरै गुनासो गर्नु पनि हुन्न थियो । यही समयदेखि दुवैतिरबाट पाउने व्यवस्था भयो, उहाँले आजीवन त्यो सुविधा पाउनुभयो ।

पछिल्लो चरणमा उहाँ राजनीतिक रूपमा उदासीन हुनुहुन्थ्यो । के अर्थमा भने लोकतन्त्र आयो, गणतन्त्र आयो, त्यसले केके न गर्छ भन्ने आशा भए पनि केही गरेन भन्नेखालको निराशा उहाँमा थियो । यसलाई हामी अर्गानिक इन्टलेक्चुअल भन्छौँ, जसले समस्यालाई राख्छ ।

प्रगतिवादी साहित्यमा खासगरी कम्युनिस्ट पार्टीको कुरा आउँछ । कम्युनिस्ट पार्टीले सङ्गठन गर्नुपर्छ । सङ्गठन गरेर वर्गीय मुक्तिको कुरा गर्छ । उहाँले त्यस्तो सङ्गठन गर्नुभएको छैन । त्यस्तो सङ्गठन उहाँको अविरल बग्दछ इन्द्रावतीमा पनि आएको छैन र अरू कथाहरूमा पनि आएका छैनन् । तर अविरल बग्दछ इन्द्रावती उपन्यास होस् वा अरू कथा सङ्ग्रह, ती कथा सङ्ग्रहमा अथवा अरू उपन्यासमा समाजमा विकृति विसङ्गति छन्, त्यसको विरोध गर्नुपर्छ र त्यसको अन्त्य पनि हुनुपर्छ भन्नुभएको छ ।

–विकललाई प्रगतिवादी साहित्यकार भनिन्छ, सामान्य साक्षरले बुझ्ने भाषामा भनिदिनुस् न यो कस्तो प्रकारको हुन्छ ?

अलिकति यसको पृष्ठभूमिको बारेमा चर्चा गरौँ । नेपालमा प्रगतिशील र प्रगतिवाद दुवै कुरालाई बोक्नेहरू लेफ्टहरू अर्थात् बामपन्थीहरू नै भए । वास्तवमा रमेश विकलको लेखनमा त्यो प्रगतिवाद भनेर हामी जेलाई भन्छौँ, वर्ग सङ्घर्ष, वर्ग द्वन्द्व र त्यसका प्रप्तिहरू जुन छन्, ती विषय सोझै आएका छैनन् । त्यसकारण उहाँको लेखन धारालाई हेर्दा उहाँ आलोचनात्मक यथार्थवादी हुनुहुन्छ । बाल्जाक, टल्स्टाय, चेखबहरूले पश्चिममा जसरी लेखे त्यस्तैगरी विकलले पनि नेपाली समाजको विद्यमान प्रवृत्तिप्रति आलोचनात्मक हुनुहुन्थ्यो । तर त्यो आलोचनालाई उहाँले क्रान्तिकारी रूपान्तरण भनेर हामी जेलाई भन्छौँ, वर्ग सङ्घर्ष भन्छौँ, अथवा क्रान्तिकारी भन्छौँ, माक्र्सवाद भन्छौँ त्यो माक्र्सवादी हिसाबले सीधै उहाँले लेख्नुभएको छैन । तर नेपाली समाजका विकृति विसङ्गतिप्रति आलोचक हुनुहुन्छ । ती विसङ्गतिको अन्त्य हुनुपर्छ भन्ने सोचमा उहाँ हुनुहुन्छ । उहाँका लेखनमा सीधै माक्र्सवाद त आउँदैन तर जे लेख्नुभएको छ, त्यो नेपाली समाजको प्रगतिशीलताको प्रतिनिधि लेखनका रूपमा देखापर्छ । यस हिसाबले उहाँको लेखनलाई हामी प्रगतिवाद भन्छौँ तर मुख्यतः उहाँ प्रगतिशील साहित्यकार हुनुहुन्थ्यो ।

प्रगतिवादी साहित्यमा खासगरी कम्युनिस्ट पार्टीको कुरा आउँछ । कम्युनिस्ट पार्टीले सङ्गठन गर्नुपर्छ । सङ्गठन गरेर वर्गीय मुक्तिको कुरा गर्छ । उहाँले त्यस्तो सङ्गठन गर्नुभएको छैन । त्यस्तो सङ्गठन उहाँको अविरल बग्दछ इन्द्रावतीमा पनि आएको छैन र अरू कथाहरूमा पनि आएका छैनन् । तर अविरल बग्दछ इन्द्रावती उपन्यास होस् वा अरू कथा सङ्ग्रह, ती कथा सङ्ग्रहमा अथवा अरू उपन्यासमा समाजमा विकृति विसङ्गति छन्, त्यसको विरोध गर्नुपर्छ र त्यसको अन्त्य पनि हुनुपर्छ भन्नुभएको छ । तर त्यसको समाधान के हो त भन्ने माक्र्सवादी बाटो उहाँले त्यहाँ बनाउनुभएको छैन । त्यसो भएको हुनाले कतिपयले उहाँलाई प्रगतिवादी होइन पनि भन्छन् । तर हामीकहाँ प्रगतिवाद र प्रगतिशील विचार छ्यासमिस भएको हुनाले छुट्याउन केही अफ्ठ्यारो भए पनि मूलतः उहाँ प्रगतिशील साहित्यकार नै हो । त्यसमा विवाद छैन ।

उहाँले आर्थिक विषमता, सामाजिक विकृति र विसङ्गतिविरुद्ध, समाज सुधार, समाज परिवर्तनका लागि लेख्नुभएको छ । तर त्यो परिवर्तनको माक्र्सवादी समाजवादी अथवा जनवादी आधार छ, त्यो आधारका बारेमा त्यति धेरै चर्चा गर्नुभएको छैन ।

–प्रगतिवादी लेखनका क्रममा कुनै कृति या सिर्जनाका आधारमा तात्कालीन निरङ्कुश शासकले उनलाई कारबाही गरे कि गरेनन् ?

प्रगतिशील साहित्य सिर्जनाकै आधारमा कारबाही भएको चाहिँ भेटिँदैन । उहाँ २००५ सालमै श्यामप्रसाद शर्माको सम्पर्कमा आउनुभयो, अनि कम्युनिस्ट पनि हुनुभयो । त्यही प्रभावले २००६ सालमा गरिब कथा लेख्नुभयो ।

रमेश विकलको जीवनी उहाँले आफैँ सुनाउँदा पनि बच्चामा म एकदम बदमास थिएँ, भागेर कलकत्ता पनि गएँ भन्नुहुन्थ्यो । पछि नेपाल फर्किएपछि बुबाले झपार्नुभयो, पिट्नु पनि भयो भन्नुहुन्थ्यो । त्यसपछि उहाँमा नयाँ चेतना आयो र श्यामप्रसाद शर्मासँग भेट भएको हो । आनन्ददेव भट्टको सिफारिसमा २०११ तिर होला पार्टी सदस्यता पनि लिनुभयो । पार्टीमा पनि सङ्गठित हुनुभयो । केही समयपछि पार्टीको प्रत्यक्ष संलग्नताबाट मुक्त भएर एउटा स्वतन्त्र अथवा प्रगतिवादी, प्रगतिशील लेखकका रूपमा अगाडि बढ्नुभयो ।

–तर बामपन्थी राजनीतिमा लागेर उनी पटक पटक थुनामा परेका थिए भनिन्छ, कहिले कहिले हो, केही सम्झना छ ?

–हो, उहाँ थुनामा पर्नुभएको छ । इन्द्रचोकमा जुलुस निकाल्दाखेरी १० दिन थुनामा परेको कुरा उहाँ आफैले भन्नुहुन्थ्यो, कम्युनिस्टहरूले जुलुस निकालेको बेला । तर ०१७ सालपछि सायद पार्टीको सदस्यता लिनुभएन ।

–प्रचार विभाग, जनक शिक्षा, प्रथमिक शिक्षा परियोजना, त्रिभुवन विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उनले जीवनको आधा समय विताएका थिए, त्यस्ता प्रगतिवादी साहित्यकार भएर सत्ताको नजिक चाहिँ कसरी पुग्न सफल भए ?

यी ठाउँ भनेका प्राज्ञिक थालाहरू हुन् । जनक शिक्षा पनि प्राज्ञिक थलो, विश्वविद्यालय पनि प्राज्ञिक थालो हो, प्रज्ञा प्रतिष्ठान त उहाँ परिवर्तनपछि नै जानु भएको हो ।

मुख्य कुरा के हो भने जीविकोपार्जनको एउटा आधारका रूपमा उहाँले जागिरलाई समात्नुभएको हो । त्यही आधारमा उहाँ जनक शिक्षा पुग्नुभयो । जीविकोपार्जनका रूपमा उहाँले जागिरलाई समात्नुभयो । त्यही आधारमा उहाँ त्रिभुवन विश्वविद्यालय पुग्नुभयो । तर कसैसँग सम्झौता गरेर होइन, आफ्नो योग्यता र क्षमताका आधारमा, जीवनवृत्तिका आधारमा ती ठाउँमा पुग्नुभएको हो । तर त्यहाँ गएर उहाँले सम्झौता गर्ने, सम्झौता गरेर सत्ताको गायन गर्ने, स्तुति गर्ने काम कहिल्यै गर्नुभएन । त्यो हिसाबमा उहाँ एउटा सच्चा प्रगतिवादी हुनुहुन्छ भन्ने देखिन्छ ।

–प्रगतिवादी साहित्यकार त धेरै छन् नि, तपाईं आफैँ पनि हुनुभयो, पारिजात, सञ्जय थापा, ऋषिराज बराल, घनश्याम ढकाल, विश्वभक्त दुलाल आहुति, शरद पौडेल, नारायण ढकाल लगायत धेरै छन् तर तपाईंहरू भन्दा उनी केके आधारमा फरक छन् ?

अवश्य रमेश विकलमा भिन्नता छ । रमेश विकल जुन समयमा लेखनमा आउनुभयो, त्योबेला अहिलेको जस्तो राजनीतिक उभार थिएन र माक्र्सिस्टहरूले अथवा कम्युनिस्टहरूले यो ढङ्गको उचाइ पनि प्राप्त गरिसकेका थिएनन्, त्यो समयमा लेख्न बस्नुभयो र नेपाली समाजलाई, नेपाली साहित्य र पाठकलाई जे दिनुभयो त्यो चाहिँ फरक छ ।

एकातिर उहाँले त्यो बेलाको विचार निर्माणका निम्ति, प्रगतिवाद, प्रगतिशील विचार निर्माणका निम्ति रचना पनि बनाउनुभयो ।

रमेश विकलले निर्माण गरेकै समृद्ध धारा हो अहिलेको प्रगतिवादी नेपाली साहित्य । विकलले प्रगतिवादी नेपाली साहित्यको जग बसाउनुभयो । तर समयले के गर्यो भने उहाँ जुन समय, आधार र विषयमा लेख्दै हुनुहुन्थ्यो त्यो समाज अहिले बदलिएको छ । समाज जब बदलिन्छ, त्यतिबेला लेखन पनि बदलिन्छ, विषय र शैली पनि बदलिन्छ । हो त्यो विषय र शैली बदलिएको छ तर हामी सबै उहाँका धाराका अनुयायी हौँ ।

दोस्रो कुरा, शैलीका हिसाबले पनि आफूलाई असाध्यै समृद्ध बनाउनुभयो, खार्नुभयो । तेस्रो कुरा, नेपाली समाजका सूक्ष्म विषयलाई टिप्न सफल हुनुभयो । जुन कुरा पछिल्ला लेखकहरूमा थुप्रै ठाउँमा चिप्लिएको अवस्था छ, चाहे ऋषिराज बराल, नारायण ढकालको कुरा गरौँ । चिप्लिएको भनेको लेखनमा, लेखन शैलीका हिसाबले, उपन्यास तथा कथा कौशलका हिसाबले, भाषाको हिसाबले जुन अवस्था हो, त्यसले हो ।

अर्को कुरा, नेपाली समाजलाई सूक्ष्म तहसम्म बुझ्ने चेतना बोध उहाँसँग थियो । चाहे त्यो लाहुरी भैँसी पढौँ या मेरी सानी भतिजी अथवा एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा वा अरू कुनै आख्यान, जे पढे पनि उहाँले विषयलाई टिप्ने जुन तरिका र शैली थियो त्यसलाई अरू लेखकले टिप्न सकेनन् ।

अर्को, ऋषिराज बराल लगायतले सीधै प्रगतिवाद र माक्र्सवादलाई उपन्यासको कथाको विषय बनाएका छन् । पारिजातका पछिल्ला कृतिहरूमा पनि त्यो देखिएको छ ।

तर पारिजात र रमेश विकल चाहिँ धेरै अर्थमा मिल्नु पनि हुन्छ । शैलीगत सौष्ठवताको सिर्जनाका हिसाबले त्यो पारिजातमा पनि छ, रमेश विकलमा पनि छ । तर फरक के हो भने रमेश विकलले नेपाली समाजलाई गहिरोसँग बुझ्नुभयो र चित्रण गर्नुभयो । तर परिवर्तनको सञ्चेतनाका निम्ति कम्युनिस्ट पार्टीको प्रभाव आफ्नो साहित्यमा देखाउनुभएन । त्योभन्दा म यही नेपाली समाजको चित्रण गर्छु भनेर लग्नुभयो । विचारधारालाई सोझै प्रस्तुत गर्नुभन्दा कलात्मक रूपमा प्रस्तुत गर्नुभयो ।

–वर्तमान समयमा रमेश विकललाई पछ्याउने खालका साहित्यकार छन् कि छैनन् ?

रमेश विकलले निर्माण गरेकै समृद्धि धारा हो अहिलेको प्रगतिवादी नेपाली साहित्य । विकलले प्रगतिवादी नेपाली साहित्यको जग बसाउनुभयो । तर समयले के गर्यो भने उहाँ जुन समय, आधार र विषयमा लेख्दै हुनुहुन्थ्यो त्यो समाज अहिले बदलिएको छ । समाज जब बदलिन्छ, त्यतिबेला लेखन पनि बदलिन्छ, विषय र शैली पनि बदलिन्छ । हो त्यो विषय र शैली बदलिएको छ तर हामी सबै उहाँका धाराका अनुयायी हौँ ।

–नेपाली साहित्यका अनुरागीहरूले रमेश विकललाई सम्झँदा कसरी सम्झने ?

रमेश विकल नेपाली साहित्यका उच्च वैचारिक लेखकीय र कलात्मक सौन्दर्य चेतना भएको सर्जक हुनुहुन्थ्यो । नेपाली भाषालाई गद्यको निर्मितिमा लैजाने र प्रगतिवादी सिर्जनाका हिसाबले हामीले उच्च मूल्याङ्कन गर्नुपर्छ । उहाँलाई आलोचना गर्ने केही लेखनमा छन् । सुनौली जस्ता उपन्यासले प्रगतिवादी मूल्य राख्दैनन्, त्यतिबेला पनि तिनको विरोध र आलोचना भएको थियो । त्यही आधारमा कतिपयले विकललाई प्रगतिवादी भन्नै हुँदैन भन्नेहरू पनि छन् । तर मलाई त्यस्तो लाग्दैन । एउटा कम्युनिस्ट आइडियोलोजीबाट आउनुभयो, कम्युनिस्टप्रति उहाँले कहिले पनि विरोध गर्नुभएन । बरु प्रतिक्रियावादी सत्ताकै विरोध गर्नुभयो ।

त्यसैले प्रगतिवादी साहित्यको आधार निर्माताका रूपमा, प्रगतिशील साहित्यको विकासकर्ताका रूपमा हामीले रमेश विकललाई सम्झनुपर्छ । दोस्रो कुरा, उहाँका कतिपय श्रद्धेय व्यक्तित्वहरू छन्, ती व्यक्तित्वहरूबाट पनि हामीले सिक्नुपर्छ । उहाँको सरलपनबाट पनि हामीले सिक्नुपर्छ । मान्छेले गल्ती गर्छ, कमजोरी गर्छ, त्यस्ता कमीकमजोरी स्वीकार गर्नसक्ने, आत्मआलोचना गर्नसक्ने स्वभावबट पनि हामीले केही सिक्नुपर्छ । आफैले आफैँसँग क्षमामाग्ने प्रवृत्ति थियो उहाँमा, अहिलेको युगमा हामीमा नकरात्मक प्रवृत्ति बढेको छ, यो समयमा हामीले उहाँबाट सिक्नुपर्ने बेला आएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।