बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

एमालेकै पथमा अघि बढ्दै लोसपा !

बिहीबार, ०१ पुस २०७८, १६ : २२
बिहीबार, ०१ पुस २०७८

 मुलुक राजनीतिक रुपमा ध्रुवीकृत भएसँगै संघीय संसदमा गतिरोध देखा परेको छ । संघीय संसदको प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदमा लगातार अवरोध गर्दै आएको छ । राजनीतिक ध्रुवीकरण बढेकै समयमा प्रदेश २ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

संघीय संसदसहित अन्य ६ प्रदेशमा नेकपा एमाले प्रतिपक्षमा छ भने प्रदेश २ मा लोसपा नेपाल प्रमुख प्रतिपक्षमा छ । संघीय संसदका अतिरिक्त एमाले प्रतिपक्षमा रहेका कुनै पनि प्रदेशमा संसदीय कारवाही राम्रोसँग अघि बढ्न सकेको छैन । एमालेका सांसदहरुले विभिन्न मागमा संसदलाई अवरोध गर्दै आएका छन् ।

प्रदेश २ मा प्रमुख प्रतिपक्ष लोसपा नेपालले एमालेकै शैलीमा प्रदेशसभा अवरुद्ध गरेको छ । बुधबार लोसपा नेपालले प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध तुल्यायो । लोसपा नेपालले प्रदेश २ का सरकार अध्यादेशबाट चलाउन खोजेको भन्दै सोको विरोधमा बैठक अवरुद्ध गरेको हो ।

राजनीतिक ध्रुवीकरणका बीच एमाले र लोसपा नेपाल एउटै ध्रुवमा देखिएका छन् । लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले मधेसका केही माग सम्बोधन गरेको र केही माग सम्बोधन गर्ने प्रक्रिया थालेको भन्दै ओलीको प्रशंसा गर्दै आएको छ ।

हरेक औपचारिक कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुरले एमालेका अध्यक्ष ओलीको प्रशंसा गर्दै आएको देखिन्छ । दुवै दलबीच औपचारिक गठनबन्धन नभए पनि अनौपचारिक साँठगाँठ रहेको देखिन्छ ।

बुधबार प्रदेश २ मा लोसपा नेपालले प्रदेशसभा बैठक अवरुद्ध गर्दा एमालेका सांसदले समर्थन जनाएका थिए । प्रदेशसभामा बोल्दै एमालेका नेताले लोसपाका कार्यकारिणी सदस्य एवं प्रदेशसभा लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले राखेको भनाइको समर्थन जनाएका थिए ।

तर लोसपा संसदीय दलका नेता सोनल भन्छन्, ‘एमालेसँग हाम्रो कुनै गठबन्धन वा साँठगाँठ छैन, हामीले उठाएको कुरालाई एमालेले समर्थन गरेको छ भने त्यो राम्रो कुरा हो । त्यसलाई स्वागत गर्छु तर न प्रदेशमा, न संघमा हाम्रो कुनै गठबन्धन छ ।’

संघीयताको मूल्य मान्यतालाई वाइपास गरी सरकार सञ्चालन गरेको कारण आफूहरुले प्रदेशसभामा कुरा उठाएको उनले बताए । सदनलाई छलेर अध्यादेशमार्फत सरकार चलाउन खोजेको विरोधमा आफूहरुले आवाज उठाएको उनको भनाइ छ ।

सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । साइकल खरिद प्रकृयामा अनियमिततामा मुछिएका कारण मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

तर मुख्यमन्त्री लालबाबु राउत भने लोसपा नेपालले अध्यादेशको विरोधमा केहीबेर नाराबाजी गरे पनि आफ्नो राजीनामालाई उसले मुख्य माग नबनाएको दाबी गर्दछन् । अब प्रदेशसभा बैठक सुचारु हुने उनले बताए । उनले लोसपा नेपालको मागका बारेमा सरकारले सबै कुरा प्रष्ट पारिसकेको भन्दै अब लोसपाले कुनै अवरोध नगर्ने र पुस ८ गते सदन चल्ने दाबी गरे ।

तर सोनल भने सरकारसँग कुनै सहमति वा छलफल नभएको बताउँछन् । ‘पुस ८ गतेका लागि अर्को बैठक आह्वान गरिएको छ, त्यो बेला हामी अवस्था हेरेर कदम चाल्छौं,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप