सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

गणेशमानको अरण्य रोदन

बिहीबार, ०१ पुस २०७८, १२ : ५३
बिहीबार, ०१ पुस २०७८

 

छोरो प्रकाश,
शुभाशीष ।

यतिबेला मलाई तिम्रो वात्सल्यका दिनहरू मेरो दिमागमा तरोताज भएर आएका छन् । मेरा नजरहरू तिमीतिरै सोझिएका छन् । तिमी सानो छँदा आफ्नी आमा मंगलाको फरियामा बेरिएका थियौ । तर अहिले यो उमेरमा आएर आरजुको फरियामा पुनः बेरिएको देखेर मलाई दुःख लागेको छ, मलाई यसमा ठूलो खेद छ । 

छोरो, मैले सदासर्वदा त्याग, निष्ठा, नैतिकता, आदर्श, अनुशासन र मूल्यको राजनीति गरेँ । मैले राणाहरूसँग पनि संझौता गरिन, न राजासँग गरेँ, न पञ्चहरूसँग नै । मेरो सानोतिनो योगदानले यी दुवै शासन ध्वस्त भए । र, प्रजातन्त्र र मानव अधिकारको वहाली भयो । त्यसबेला म जब्बर थिएँ, लगातार लडिरहेँ । लड्नु र अन्यायविरुद्ध लड्नु मेरो धर्म थियो । मैले कहिल्यै पनि ज्यानको पर्वाह गरिन । त्यसैले त मलाई जनमानसले लौहपुरुष र २०४६ को आन्दोलनको अपार सफलतापछि जनसागरले मलाई सर्वोच्च कमाण्डरको उपाधि दियो । इतिहास साक्षी छ, मैले गरेको एउटा मात्र संझौता भनेको २०४६ को जनआन्दोलनपछि राजासँग गरेको संझौता हो । 

तर आज म निर्वाचनका सन्दर्भमा तिम्रो संझौतापरस्त नीति देखेर तीनछक्क परेको छु । तिमीले शेरबहादुरको सामु घुँडा टेक्नु थियो त पहिले नै टेक्नुपर्दथ्यो । मेरो नामको आडमा, मेरो निष्ठाको आडमा मेरो विरासतलाई बोकेर तिमीले जुन कर्तुत गर्यौ, त्यो क्षम्य छैन । अक्षम्य अपराध हो । मैले तिम्रो हर्कत देखेँ । दुनियाले तिमीलाई सरापेको पनि देखेँ, थुकेको देखेँ । मेरो मन कुटुकुटु खाइरहेछ, किनकी तिमीलाई मानिसहरूले, मतदाताहरूले सराप्दा मलाई पनि कुनै न कुनै प्रकारले दुखिरहन्छ । मेरो मन छियाछिया भइरहेछ ।

कुनै जमाना थियो, मेरो लौरी उम्मेदवार भए पनि विजयी हुन्छ भन्ने भनाइ काठमाडौंमा लोकप्रिय थियो । भलै त्यो हुन्थ्यो हुन्थेन परको कुरा तर पनि यसले मेरो गरिमा र उचाइँको बोध मलाई भइरहन्छ । कालक्रममा मेरो लठ्ठीको मूल्य घट्दै गयो, यसको परिणति तिमी र मंगलाले चुनावमा पराजित हुनुपर्यो । यो सब तिम्रै ढिपी र वहुलठ्ठीपनले गर्दा हो । राजा ज्ञानेन्द्रलाई छोरा पारस बिग्रेकोमा कति पश्चाताप र ग्लानि भएको होला, मलाई पनि त्यस्तै भएको थियो । के गर्नु मनको वह मैले कसैलाई पनि भनिन । तिमी सुध्रिन्छौ कि भन्ने आशा पनि थियो तर तिमी त झन् झन् रसातलतिर भासिएछौ । बुद्धिमा बिर्को लाग्दै गएछ । 

वास्तवमा मलाई अहिले लागिरहेछ, तिमीले मलाई चिनेका रहेनछौ । चाक्सीबारी नजिकै इतिहासकार प्राडा राजेश गौतमको निवास छ, त्यहाँ गएर मेरो बारेमा सोध । उनले तिम्रो घैँटोमा घाम लाग्ने गरी बताइदिनेछन् । मेरो विरासत भनेको निष्ठा हो, संघर्ष हो । तर तिमीले अन्ततः विष्ठा खाएर देउवालाई के लोभमा समर्थन गर्यौ ? विष्ठा त केवल सुँगुरले मात्र खान्छ । राजाले अनुरोध गरेको प्रधानमन्त्री पद मैले स्वीकार गरिन । किनकी त्यो पद मेरा लागि गौण थियो । तर तिमी कुन पदको लोभले, कुन मोहले त्यस्तो चुत्थो र अलोकप्रिय कार्य गर्न उत्प्रेरित भयौ ? म आश्चर्यचकित भएको छु ।  

छोरा, राजनीतिमा निष्ठा र नैतिकता ज्यादै प्रचलित शब्द हुन् । स्वामी विवेकानन्द भन्छन्, ‘यदि नेता चरित्रवान् छैनन् भने अनुयायीहरूले ऊप्रति श्रद्धा राख्नु संभव छैन ।’ अब तिमीप्रति पनि काठमाडौंका भेँडाहरूको समर्थन र श्रद्धा रहन्छ भन्ने कुरामा मलाई रत्तिभर विश्वास छैन । एक जमानामा राजा ज्ञानेन्द्रसामु माधव कुमार नेपालले दाम राखेर गरेको स्वस्तिभन्दा तिमीले शेरबहादुरको पाउमा राखेको नैतिकताको स्खलन उच्च छ । त्यसैले छोरा, एकपटक आफूले राजनीतिमा ठूलो बेइमानी गरेको र शेरबहादुरलाई समर्थन गरेको हुँ भनेर जनतासँग याचना गरेको खण्डमा तिम्रो राजनीति पुनः लिकमा फर्केला, नत्र तिमी अब मेरो राजनीतिक विरासतलाई बोक्न योग्य छैनौ । तिमी धुन्धुकारीका रूपमा विकसित भएछौ । मलाई खेद र पश्चाताप दुवै छ । अस्तु ।
तिम्रो बाबु
गणेशमान सिंह 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज खनाल
कृष्णराज खनाल
लेखकबाट थप