शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

काँग्रेसको उपसभापतिमा निर्वाचित खड्का र गुरुङको यस्तो छ राजनीतिक इतिहास

बिहीबार, ०१ पुस २०७८, १० : ४४
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भएका छन् । आइतबार भएको मतदानको बुधबार राति आएको परिणाममा पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै खड्का र गुरुङ उपसभापति बन्न सफल भएका हुन् ।

खड्काले सबैभन्दा धेरै २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले मात्र दुई मतान्तरले विजयकुमार गच्छदारलाई पराजित गरेका छन् । गुरुङ १९०८ मत ल्याएर उपसभापति विजयी हुँदा गच्छदारले १९०६ मत पाएका थिए ।

 यस्तै, अन्य उम्मेदवारमा चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए । योसँगै काँग्रेसको पहिलो निर्वाचित उपसभापति बन्ने अवसर खड्का र गुरुङलाई मिलेको छ ।

यसअघि काँग्रेसमा एक जना उपसभापति (मनोनित) को व्यवस्था थियो । तर ०७४ सालमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमा समाहित भएपछि उनी पनि उपसभापति बने । त्यतिबेला उनलाई राजनीतिक निर्णयका आधारमा उपसभापति बनाइएको थियो ।

०७५ मंसिर–पुसको महासमिति बैठकबाट काँग्रेसले विधान परिमार्जन गरी दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था गरेको थियो । सोही अनुसार १४ औं महाधिवेशनमा ७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । शेरबहादुर देउवा प्यानल र शेखर कोइराला प्यानलबीच मुख्य प्रतिस्पर्धा भयो ।

काँग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता र वौद्धिक नेता महेश आचार्य चुनावी मैदानमा बलियो गुटको साथ नहुँदा पराजित भए । देउवा प्यानलबाट खड्का र शेखर समूहबाट गुरुङले बाजी मारेका छन् । खड्का महामन्त्रीबाट एक खुड्किलो चढ्दै उपसभापतिमा पुगेका हुन् भने गुरुङले केन्द्रीय सदस्यबाट सिधै फड्को मारेका हुन् ।

कर्णाली प्रदेशबाट काँग्रेसको यो तहमा पुग्ने खड्का पहिलो व्यक्ति हुन् । संस्थापन पक्षमा देउवाको उत्तराधिकारीका रुपमा हेरिएका खड्कालाई उपसभापतिको जितपछि थप सहज भएको छ । अर्कोतिर नेविसंघका अध्यक्षसमेत भइसकेका गुरुङ युवामाझ लोकप्रिय नेता मानिन्छन् । काँग्रेसमा आशलाग्दो राजनीतिज्ञको छवि बनाएका गुरुङका लागि उपसभापति जित्नु राजनीतिक रुपमा ठूलो फड्को हो ।

संस्थापन इतर पक्षमा उनलाई अन्तिमसम्म पनि जनजातितर्फको सहमहामन्त्री उम्मेदवारका रुपमा हेरिएको थियो । तर शेखर प्यानलबाट उनी उपसभापतिको उम्मेदवार भएर मैदानमा निस्किए । अन्ततः देउवा प्यानलका गच्छदारलाई पराजित गरी उनले उपसभापतिमा स्थान बनाए ।

जनजाति समुदायबाट गोपालमान श्रेष्ठपछि काँग्रेस उपसभापति हुने सौभाग्य गुरुङले पाएका छन् । काँग्रेसको भावी नेतृत्वका रुपमा हेरिएका युवा नेताका रुपमा उनी १४ औं महाधिवेशनबाट उदाएका छन् ।

को हुन् पूर्ण बहादुर खड्का ?

०१० सालमा सुर्खेतमा जन्मिएका खड्काले २०३१ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । खड्का २०३४ सालमा सुर्खेत काँग्रेसको सभापति भएका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । पञ्चायतकालको प्रतिबन्धित अवस्थामा उनी निरन्तर राजनीतिमा सक्रिय रहे । उनी नेपाल विद्यार्थी संघमा केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म भए ।

२०३६ सालमा खड्का सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर निर्वाचित भए । जिल्ला अदालत सुर्खेतले मेयर भएको ६ महिनामै उनलाई अपदस्थ गरिदिएको थियो । विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट चार पटक सांसदमा विजयी बने भने एकपटक पराजित भए ।

२०४८, २०५१, २०५६ मा उनी प्रत्यक्षतर्फबाट चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समानुपातिक सांसद बने । २०७० सालमा भएको चुनाव जितेका खड्का २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए । खड्कासँग गृह, युवा तथा खेलकुद(दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ ।

खड्काले १० औं महाधिवेशनमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए । त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जनामात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो । सो महाधिवेशनमा सुशील कोइराला विजयी हुँदा खड्का पराजित भए । ०५९ मा काँग्रेस विभाजन भएपछि बनेको काँग्रेस प्रजातान्त्रिकमा उनी केन्द्रीय सदस्य बने ।

काँग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । ०६४ मा काँग्रेस र काँग्रेस प्रजातान्त्रिकबीच एकीकरणपछि भएको १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य जितेर उनी सहमहामन्त्रीमा मनोनित भएका थिए ।

१३ औं महाधिवेशनमा उनी महामन्त्रीमा मनोनित भएका थिए । १४ औं महाधिवेशनमा उनी काँग्रेसको निर्वाचित पहिलो उपसभापति बन्न सफल भएका छन् ।

को हुन् धनराज गुरुङ ?

२०२२ सालमा स्याङ्जामा जन्मिएका धनराज गुरुङ २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका थिए । ०३८ मा नेविसंघ धवथुम मावि स्याङ्जाको स्कुल इकाइ सभापति भएका उनी ०४० मा नेविसंघ स्याङ्जाको जिल्ला सचिव भए । उनी ०४३ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु उपसभापितमा पराजित भए ।

०४४ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापतिमा पनि पराजित भएका उनी ०४८ मा काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । लगत्तै उनी नेविसंघको केन्द्रीय राजनीतिमा प्रवेश गरे । ०४८ मा उनी नेविसंघको केन्द्रीय उपसभापति भए भने ०५३ मा केन्द्रीय सभापति बने । नेविसंघपछि गुरुङलाई तरुण दलमा पनि राजनीति गर्ने अवसर मिल्यो । ०५४ सालमा उनी तरुण दलको महासचिव भए ।

गुरुङ २०५४ सालमा तरुण दलका महासचिव र त्यसपछि काँग्रेस स्याङ्जा जिल्ला कार्यसमिति सदस्य भएका थिए । उनी नेपाली काँग्रेस स्याङ्जा जिल्ला उपसभापति समेत भए । ०७० मा उनी समानुपातिक सांसद भएका थिए । १२ औं महाधिवेशनमा काँग्रेसको केन्द्रीय सदस्य बनेका उनी १३ औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य बनेका थिए ।

१४ औं महाधिवेशनमा उनी काँग्रेसको पहिलो निर्वाचित उपसभापति भएका छन् । यसअघि काँग्रेसको कुनै पदाधिकारीसमेत नरहेका उनी एकैपटक उपसभापतिमा विजयी भएका छन् । राजनीतिक संघर्षका क्रममा विभिन्न समयमा हिरासतमा पुगेका उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप