मदन भण्डारी, वीपीको नाम बेचेर कहिलेसम्म गर्ने राजनीतिक खेती ?
मलाई मेरा देशका युवा पुस्ता देख्दा ‘कठै’ भन्न मन लाग्छ । आजको युवा पुस्ता भोलि नेता, मन्त्री, महामन्त्री, मेयर उपमेयर, सचिव, उपसचिव बन्ने सपना बोकेकाहरू केवल झोले कार्यकर्ता मात्रै भएको दुःख लाग्छ । राजनीतिक पार्टीको असल नेता बन्न सक्षम, क्रियाशील र इमान्दारपन गुण भएको व्यक्ति हुनुपर्छ । तर हाम्रो देशमा शताब्दी पुराना सिद्धान्त र मृत्यु भएका नेताको नाम बेचेर राजनीति गर्ने परम्परा अझै सकिएको छैन, बरु बढ्दै छ । यसमा हामीजस्ता युवावर्गको पनि निकम्मापन देखिन्छ ।
राज्य केवल सस्तो लोकप्रिय कार्यक्रम कागजमा ल्याउने र जनता भुलाउने काममै सीमित छ । उदाहरणकै लागि हेर्ने हो भने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका र गरेका काम हेरौं न । ओलीले गरेको विशेष चर्चा कमाएको धरहरा पूर्ण निर्माण, काठमाडौँवासीलाई मेलम्चीको पानी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आदि हुन् । आज तिनै कार्यक्रमलाई फर्किएर हेर्ने हो भने उपलब्धि शून्य छ । प्रधानमन्त्री स्वरोजकार कार्यक्रममा ठूलो रकम खर्च भयो तर रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, पोखरी सफा गर्ने लगायतका काममा खर्च गरियो । त्यो काम पनि नेताकै आसेपासे सम्मले मात्र भेट्टाए ।
त्यसैगरी हतार हतार गरेर धरहरा उद्घाटन गरियो । धरहरामा सुनको गजुर पनि राखियो । तर अझै पनि त्यो धरहरा पूर्ण रूपमा निर्माण भइसकेको छैन । मेलम्चीको पानी काठमाडौँ ल्याउनाले धेरैको देवता बने ओली । तर अहिले त्यो धारा र काठमाडौँवासीलाई आश्वासन वेवारिसे अवस्थामा छ ।
विकासका नाममा समृद्धिका नारा, लोकतन्त्र, गणतन्त्र, नगरपालिका, गाउँपालिका, मेयर, उपमेयर, शिक्षा प्रमुख, स्वास्थ्य मन्त्री जो जो आए पनि देशको हालत उही छ । उदाहरण दिनैपरे फर्सीजस्तै, बाहिरबाट हेर्दा चट्ट परेको तर भित्र फ्यात्त गनाउने गरी कुहिएको ।
राज्यले युवाहरुलाई आश्वासनपछि शून्य बनाउँदै विदेश धपाएको हामी सबैको आँखाले देखेको छैन र ? आफ्नो जिम्मेवारीबाट टाउको हल्का पार्ने काम सरकारले गरेको युवावर्गलाई महसुस हुँदैन र ? ग्रामीण क्षेत्रमा कृषिजन्य कार्य गर्ने दक्ष जनशक्तिको अभाव छ । वैदेशिक रोजगारीमा आश्रित परिवारको सङ्ख्या पनि निकै छ । तर निरीह जनताको आवाज सुन्ने न निकाय छ, न सरोकारवालाको कान । अनि राजनीतिको अड्डा चलिरहेको छ, शताब्दी पुराना नेताको नाउँ बिक्री गरेर ।
पुराना राजनेताहरूको नाम र उहाँहरूको कामका अध्याय घोकेर भाषण गर्दै नेताहरू दिन कटाइरहेका छन् । जिल्लाका नेता केन्द्रका नेताको आसेपासे बनेको सर्टिफिकेट लिन तँछाड मछाड गरिरहेका छन् । राजनीतिज्ञ बन्न सक्षमताको सर्टिफिकेट ल्याउने ध्याउन्न कसैको छैन । झुट बोलेर लुकाएको बैमनस्यता होइन, इमान्दारिताको सर्टिफिकेट कसैले देखाउन सकिरहेका छैनन् । विपक्षीले आफ्नो पाटीका नेताका बारेमा केही बोल्यो भने पनि कुटाकुटसम्म चल्छ । तर नेता सुध्रिनु पर्यो भनेर तिनका आसेपासे कोही चुइक्क बोल्दैनन् ।
जनताको चुलो राम्ररी बल्न नसकिरहँदा राज्यका मुख्य अधिकारीहरु सत्ताको व्यापक दुरुपयोग गर्दै देश–विदेशमा भ्रमण गर्ने, बेतालका सभासेमिनारमा राज्यको ढुकुटी रित्याउने काममा सक्रिय छन् । अनि युवा नेता यिनै गद्दार नेताको बयानमा व्यस्त छन् । अनि कसरी हुन्छ समृद्ध देश, सुखी नेपाली ?
शताब्दी पुराना नेताका नाम बेचेर अझै कति दिन जनतालाई झुक्याउनु हुन्छ ? अनि कति दिनसम्म टिकाउनु हुन्छ राजनीतिको खेती ? कति दिनसम्म बेरोजगार युवाहरूको सस्तो फाइदा उठाउनु हुन्छ ? बन्द गरौँ, मदन भण्डारीको नाम बेचेर कम्युनिस्ट बन्ने भाषणहरू । अनि बन्द गरौँ, वीपी कोइरालाको नाम, फोटो तथा कामको भाषण गर्दै कुर्सी तानातान गर्ने काँग्रेसको तीतो प्रवृत्ति । युवाहरू अब त जुरुक्क उठौँ, हामीलाई गुमराहमा पार्नेहरुको मुकुण्डो उघारौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बामदेवलाई तेस्रो मर्यादा, चौथोमा बेदुराम
-
एक खेलअगावै पाकिस्तानले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृङ्खला
-
हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
यु–१९ एसिया कप : नेपाल आज बङ्गलादेशसँग भिड्दै
-
बबरमहल क्षेत्रमा तार भूमिगत र फुटपाथ मर्मतको काम धमाधम (तस्बिरहरू)