बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन

बिहीबार, ०१ पुस २०७८, १० : १०
बिहीबार, ०१ पुस २०७८

सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन सुरु गरिएको जानकारी दिए । 

उनका अनुसार बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले अबदेखि क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुन क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्नुपर्नेछ । “नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य सङ्घको बैठकले गरेको निर्णय कार्यान्वयनमा लगिएको हो”, नेपालीले भने, “साँघुरो सडकमा दोहोरो सवारी आवतजावत गर्दा जाम र दुर्घटना हुने समस्या न्यूनीकरणका लागि एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।” 

बेनी बजारको यातायात व्यवस्थापनका लागि अतिक्रमण गरेर निर्माण भएको संरचना हटाइएको छ । नगरपालिकाको अनुरोधअनुसार व्यवसायी र घरधनीले सडकको क्षेत्राधिकारमा बनाइएको संरचना स्वतफूर्तरुपमा हटाएका छन् । होटल, फेन्सी, खाद्यान्न, फलफूल व्यवसायीलाई घरभन्दा बाहिर सडक च्यापेर राखिएका होडिङ बोर्ड, जस्तापाटाको छाप्रो हटाउन र पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न अनुरोध गर्दै नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ चिरञ्जीवी राना, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालसहितको टोलीले गत हप्ता घरदैलो गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप