बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मेलम्ची खानेपानी आयोजनाको आयोजनास्थलसम्म खोलियो सडक

बुधबार, २९ मङ्सिर २०७८, १८ : ४३
बुधबार, २९ मङ्सिर २०७८

मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउनका लागि आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय पालिकासँगको समन्वयमा अस्थायीरूपमा मर्मत गरेको हो । 

अहिले तत्काल नै आवश्यक उपकरण र सवारीसधन लैजान अस्थायीरूपमा सडक निर्माण गरिएको समितिले जनाएको छ । अहिले निर्माण भएको सडक आगामी वर्ष नै बाढीले क्षतिग्रस्त गर्नसक्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार तत्काल अस्थायीरूपमा पानी चलाउन सडक निर्माण गरिएको हो  । अहिले निर्माण भएका सडक र पुल दुवै तत्कालका लागि र अस्थायी प्रकृतिको भएको उनले बताए । 

आयोजनाका लागि र स्थानीयवासीका लागि पनि सडक दीर्घकालीन रुपमा निर्माण गर्न आवश्यक छ । आयोजनास्थलभन्दा माथिल्लो क्षेत्रबाट पहिरोको जोखिम रहेकाले त्यसको अध्ययन भइरहेको छ । आयोजनामा सहयोग गरेको दातृ संस्था एशियाली विकास बैंकले खानेपानी मन्त्रालयसँगको समन्वयमा अध्ययन गरिरहेको छ । अध्ययनका प्रतिवेदन आएपछि त्यसकै आधारमा दीर्घकालीन रुपमा सडक र पुल निर्माणमा जानुपर्ने उनको भनाइ छ । 

अध्ययन प्रतिवेदन आएपछि त्यसैका आधारमा कति माथिबाट सडक र पुल निर्माण गर्न आवश्यक छ भनी टुङ्गो लाग्ने सूचना अधिकारी पन्तले बताए । दातृ निकायको अध्ययन टोलीले गरेको अध्ययनमा आगामी वर्ष पनि बाढी आउनसक्ने देखिएको छ । अध्ययनको अन्तिम प्रतिवेदनका आधारमा मात्रै स्थायी संरचनाका निर्माणको योजना बनाउन सकिने उनले बताए ।

सो सडक आयोजनास्थलमा पुग्नका लागि मात्रै नभएर स्थानीयबासीका लागि पनि आवश्यक छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीका कारण सडकमा क्षति पुगेको थियो । कतिपय ठाउँमा नदीले सडक नै कटान गरेकाले मर्मतमा लामो समय लागेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप